अमेरिकी संसदले संसदीय कार्यालयका कर्मचारीलाई चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी डिपसिकको एप प्रयोग नगर्न चेतावनी दिएको छ।
संघीय संसदका प्रमुख प्रशासनिक अधिकारीले एक सूचना जारी गर्दै संसारभर हलचल मच्चाइरहेको उक्त चिनियाँ च्याटबटको समीक्षा गरिरहेकाले प्रयोग नगर्न निर्देशन दिएको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
खतरनाक तत्वले डिपसिकको दुरूपयोग गरेर उपकरण संक्रमित पार्न ‘मालवेयर’हरू पठाउन थालेको सो सूचनामा उल्लेख छ। त्यसैले संसदले जारी गरेका आधिकारिक फोन, ल्यापटप, ट्याबलेट लगायत सबै उपकरणमा डिपसिक बन्देज गर्ने सुरक्षा उपाय अवलम्बन गरिएको ती अधिकारीले जानकारी गराएका छन्।
संघीय संसदको प्रशासनिक कार्यालयले पहिले पनि एआई एप प्रयोगमा बन्देज लगाएको थियो। यसअघि २०२३ मा पनि अमेरिकी कम्पनी ओपनएआईको च्याट जिपिटीको शुल्क तिर्नु पर्ने संस्करण मात्रै प्रयोग गर्न निर्देशन दिएको थियो भनेर एक्सियसले जनाएको छ।
अमेरिकी कम्पनीहरूको तुलनामा धेरै कम खर्च गरेर झण्डै ओपनएआईको च्याटजिपिटीकै हाराहारी क्षमता देखाएर डिपसिकले विश्वभरी सनसनी मच्चाएको छ।
अमेरिकाले प्रतिबन्ध लगाएर चीनलाई उच्च गुणस्तरका चिप्स किन्न दिएको थिएन। तर अर्बौं डलर खर्च गरेका प्रतिद्वन्द्वीकै क्षमताको एआई मोडल चीनले ल्याइदिएपछि अमेरिकामा चिन्ता छाएको छ। डिपसिकको उदयलाई विश्लेषकहरूले तत्कालीन सोभियत संघले सन् १९५७ मा स्पुतनिक भू-उपग्रह अन्तरिक्षमा पठाएर अन्तरिक्ष-दौडमा अग्रता हासिल गरेको घटनासँग तुलना गरेका छन्।
डिपसिकको सफलताबाट अमेरिकाको राष्ट्रिय सुरक्षामा पर्न सक्ने प्रभावलाई अमेरिकी सरकारको राष्ट्रिय सुरक्षा परिषदले नियालिरहेको ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केरोलाइन लेभिटले बताएकी छन्।
डिपसिकले अमेरिकालाई सन्देश दिन राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहणको अवसर पारेर जनवरी २० मा सोचेर उत्तर दिने लार्ज ल्यांग्वेज मोडल (एलएलएम), आर-१ जारी गरेको थियो। निःशुल्क प्रयोग गर्न मिल्ने आर-१ अमेरिकी प्रतिद्वन्द्वीहरू ओपनएआई र मेटाका एआई जत्तिकै लोकप्रिय भएको छ। अमेरिका, चीन र कतिपय युरोपेली देशमा एप्पल एपस्टोरबाट सबभन्दा धेरै डाउनलोड गरिएको निःशुल्क एपको सूचीमा डिपसिकले ओपनएआईको च्याट जिपिटीलाई पनि जितेको छ।
तानाशाही कम्युनिस्ट व्यवस्थामा गोपनीयता र मानव अधिकारका कडा प्रावधान नभएकाले चिनियाँ कम्पनीहरू अनुहार चिन्ने एआई प्रविधि (फेसियल रिकग्निसन) मा अब्बल मानिन्छन्। तर डिपसिकले सोचेर उत्तर दिने सक्षम एलएलएम ल्याएपछि सबैलाई आश्चर्यमा पारेको हो।
डिपसिकको सफलताले अमेरिकी सेयर बजारमा पनि तहल्का मच्चिएको छ। एआई प्रविधिमा काम गर्ने ठूला अमेरिकी कम्पनीको सेयर मूल्य सोमबार एक दिनमै झन्डै १० खर्ब डलरले घटेको थियो। एआई प्रविधिका लागि उच्च गुणस्तरको चिप्स बनाउने अमेरिकी कम्पनी एनभिडियाको सेयर मूल्य एक दिनमै ५ खर्ब ८९ अर्ब डलर (लगभग १७ प्रतिशत) घटेको थियो। यो कुनै पनि कम्पनीका लागि एक दिनमा आएको अहिलेसम्मकै ठूलो गिरावट हो।
डिपसिकले ओपनएआईको डाटा अनधिकृत रूपमा पाएको र प्रयोग गरेको हो कि भनेर ओपनएआई र उसको सबभन्दा ठूलो लगानीकर्ता माइक्रोसफ्टले छानबिन थालेको छ।
गत वर्ष केही व्यक्तिले ओपनएआईको एप प्रोग्रामिङ इन्टरफेस प्रयोग गरेर ठूलो मात्रामा डेटा पठाएको माइक्रोसफ्टका सुरक्षा अनुसन्धानकर्ताले देखेका थिए। त्यसबारे ओपनएआईलाई खबर पनि गरिएको थियो। तिनै व्यक्ति डिपसिकसँग सम्बन्धित छन् कि भनेर ओपनएआई र माइक्रोसफ्टले छानबिन थालेका हुन्।
ओपनएआईका अधिकारीले आफ्नो डेटा डिपसिकले अनधिकृत प्रयोग गरेको प्रमाण नै भएको दाबी गरेका छन्। आफ्नो मोडलको डेटाको 'डिस्टिलेसन' गरेको आरोप ओपनएआईले लगाएको छ। एआई विज्ञहरूका अनुसार डिस्टिलेसन भनेको सक्षम मोडल प्रयोग गरेर साना मोडललाई प्रशिक्षण गर्नु हो। यसको अर्थ, डिपसिकले आफ्नो मोडललाई प्रशिक्षण गर्ने क्रममा उसले दिने उत्तर सही छ कि छैन भनेर जाँच्न ओपनएआईको मोडल प्रयोग गर्यो। यो क्रममा ओपनएआईको मोडलले जानेका सबै कुरा डिपसिकले पनि सिक्यो।
ओपनएआईले यस विषयमा छानबिनका लागि अमेरिकी सरकारसँग पनि सहकार्य गर्ने बताएको छ। अमेरिकी सरकारले पनि आफ्नो देशको बौद्धिक सम्पत्ति चोरी भएकाले गम्भीर छानबिन गर्ने बताएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)