पोखरा-१३ मियापाटनका हाजी अलि मोहम्मद र उनकी श्रीमती रमजानी खातुनले सौन्दर्य सामग्री बेच्न थालेको धेरै वर्ष भयो।
टुँडिखेलमा उनीहरूको सानो पसल छ। भाडाको पसलमा उनीहरू चुरा, पोते, सिँदुर, टीका, कपाल बाँध्ने डोरी लगायतका सौन्दर्य सामग्री बेच्छन्।
यो पसल पनि मोहम्मद विदेश गएर आएपछि खुलेको हो। त्यसअघि उनी डोकोमा सामान बोकेर गाउँ-गाउँ बेच्दै हिँड्थे।
देशभित्र होस् या विदेशमा, जहाँ गए पनि मोहम्मद मेहनतबाट पछि हटेनन्।
र, त्यही दुःखको कमाइ भविष्यका लागि साँच्नुपर्छ भनेर उनी पुगे सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा।
उनी आफ्नो बचत निम्ति कहिलेकाहीँ टोलछिमेकमै ढुकुटी खेल्थे। बैंक वा सहकारी संस्थासँग जोडिएका थिएनन्। सूर्यदर्शन सहकारीका सञ्चालक र कर्मचारीहरू भने पसलमै पुगेर फकाउन थाले।
उनीहरूले पैसा जम्मा गर्न सहकारी अफिस धाउन नपर्ने र आवश्यक पर्दा तुरून्तै पैसा झिक्न पाइने लगायत आश्वासन दिएको रमजानी बताउँछिन्।
'तपाईंहरूको पैसा एकदमै सुरक्षित हुन्छ भन्दै फकाए,' रमजानीले भनिन्, 'तपाईंहरू अफिस आउनै पर्दैन। पैसा लिन पनि हामी आउँछौं, पछि तपाईंलाई चाहिएको बेला हामी नै झिकेर ल्याइदिन्छौं भने।'
यही आश्वासनमा परेर ६५ वर्षीय मोहम्मदले आफ्नो दैनिक कमाइ मात्र होइन, जीवनभरको पुँजी ३० लाख रूपैयाँ पनि सहकारीमै जम्मा गरे।
केही समय त राम्रै चल्यो। सहकारीका मान्छे दिनहुँ पैसा लिन आउँथे, कहिलेकाहीँ फिर्ता लिन पनि कुनै समस्या भएन।
तर एक दिन जब उनीहरू अलि धेरै रकम झिक्न गए, सहकारीका कर्मचारीले 'भोलि आउनुस्' भनेर फर्काए। यो २०७९ माघ १ गतेको कुरा हो।
उनीहरू अर्को दिन फेरि सहकारी कार्यालय पुगे।
त्यस दिन कार्यालयमा ताला लागेको थियो। सञ्चालक र कर्मचारी कोही थिएनन्। स्थानीयसँग बुझ्दा पो थाहा लाग्यो — सहकारी डुबेछ, सञ्चालकहरू भागेछन्।
मोहम्मद र रमजानी दम्पती छाँगाबाट खसेझैं भए।
उनीहरू आँसु झार्दै घर फर्किए।
जिन्दगीभरको पुँजी डुबेको पिरले आहत मोहम्मद घरको दैलोभित्र पस्नासाथ भुइँमा ढले। उनलाई हृदयघात भयो।
बुढेसकालमा लाउँला, खाउँला, बिरामी पर्दा उपचार गरौंला भनेर राखेको पैसा हृदयघात भएर ढल्दा पनि फिर्ता पाएनन्। उपचार गर्न पैसा पुगेन।
ओछ्यानमा बोल्न नसक्ने अवस्थामा रहेका मोहम्मदको दुई वर्षपछि माघ १३ गते मृत्यु भयो।
मोहम्मदका भाइ पर्ने ६० वर्षीय ल्याकत मियाका अनुसार मोहम्मदसँग पुस्तैनी जायजेथा केही थिएन। बुबाले अर्की श्रीमती बिहे गरेपछि मोहम्मद र उनकी आमा समस्यामा परेका थिए। मोहम्मद सानैदेखि पसल गरेर गुजारा चलाउँथे। सन् २००८ तिर उनी रोजगारीका लागि साउदी अरब गए। तीन वर्ष बसेर फर्किएपछि रमजानी खातुनसँग विवाह गरे।
ल्याकत त्यस बेला कतारमा थिए। उनले मोहम्मदलाई पनि कतार बोलाए।
करिब चार वर्ष काम गरेपछि मोहम्मद आमा बिरामी भएको खबर सुनेर घर फर्किए। केही महिनामै आमाको निधन भयो। त्यसपछि उनी विदेश गएनन्। विदेशको कमाइबाट मियापाटनमा जग्गा किनेर घर बनाए। त्यसअघि उनको परिवार मोहरिया टोलमा भाडामा बस्थ्यो।
मियापाटनमा घर बनाउनुअघि नै उनले टुँडिखेलमा पसल खोलेका थिए। मोहम्मद ढलेदेखि पसल खुलेको छैन। पसल बन्द भएको दुई वर्षभन्दा बढी भइसकेको छ।
हृदयाघात भएर ढलेका मोहम्मद कहिलेकाहीँ होसमा आउँदा 'पैसा कहिले पाइएला?' भनेर चिन्ता गर्थे।
'भिनाजु होसमा आउँदा पनि पैसा आउला कि नआउला भनेर चिन्ता गर्नुहुन्थ्यो,' रमजानीकी बहिनी नसिरूनले भनिन्।
रमजानी पनि सहकारीमा पैसा डुबेको पिरले श्रीमान गुमाउनुपरेको बताउँछिन्।
'मेरो श्रीमानले पोते उनेर गाउँ-गाउँ डोकोमा बेचेर कमाएको पैसा हो,' उनले भनिन्, 'हामीलाई छिटो फिर्ता चाहियो, हामीलाई न्याय चाहियो।'
मोहम्मदका भाइ ल्याकतले पनि आर्थिक अभावका कारण दाजुलाई काठमाडौं उपचार गर्न लैजान नसकेको बताए। उनीहरूले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि मणिपाल शिक्षण अस्पतालसम्म लगे, तर पैसा नभएकाले उपचार पूरा गर्न सकेनन्।
रमजानीका अनुसार श्रीमानको उपचारमा धेरै खर्च भइसकेको थियो। आफन्त र इष्टमित्रसँग ऋण लिएर उपचार खर्च चलाएको उनको भनाइ छ।
सूर्यदर्शन सहकारीमै बचत गरेका वीरबहादुर थापाको पनि यसअघि हृदयघातकै कारण मृत्यु भएको थियो। उनी २३ लाख रूपैयाँ फिर्ता पाउन काठमाडौंदेखि विभिन्न ठाउँमा आन्दोलन गर्दै हिँड्दा बितेका थिए।
मोहम्मद भने न आन्दोलनमा सहभागी हुन सके, न अदालत धाउन। उनी सहकारी डुबेको खबर सुन्नेबित्तिकै ढले।
पोखरामै सूर्यदर्शन सहकारीका १८ हजार ७ सय जना पीडित बचतकर्ता छन्। अधिकांशको पीडा मोहम्मद र वीरबहादुरकै जस्तो छ।
सहकारी ठगीविरूद्ध कास्की जिल्ला सरकारी वकिलको कार्यालयले तीनवटा जाहेरी अदालतमा दर्ता गरिसकेको छ। ७ वटा कम्पनीसहित ६३ जनालाई विपक्षी बनाइएको छ। १ अर्ब ५१ करोड रूपैयाँ असुल गर्न माग गरिएको छ। तर मुख्य अभियुक्त जिबी राई अझै फरार छन्।
रमजानीले पोखरामा धेरै जना सहकारीबाट पीडित भए पनि आफ्नो अवस्था अझ गम्भीर रहेको बताइन्।
'अरू पनि पीडित हुनुहुन्छ, तर म एकदम समस्यामा छु। यो सबैले बुझिदिनुपर्छ,' उनले भनिन्।