क्लासिकल हर्बल प्रोडक्ट्सले २७ प्रकारका आयुर्वेदिक औषधि बजारमा ल्याएको छ।
क्लासिकल हर्बल प्रोडक्ट्सले आज एक पत्रकार सम्मेलन गरेर त्रिफला चुर्ण, क्याप्सुल, अग्निगेन सिरप, आश्वगन्धा क्याप्सुल लगायतका उत्पादन बजारमा ल्याएको जानकारी गराएको हो।
पत्रकार सम्मेलनमा बोल्दै क्लासिकल हर्बलका कार्यकारी निर्देशक बिनोद अधिकारीले यसअघिका २३ र अहिलेका २७ गरी अब ५० प्रकारका औषधि उत्पादन हुने बताए।
संस्थाका अध्यक्ष बद्री कोइरालाले आफूहरूले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार औषधि उत्पादन गरेको बताए। उनले औषधिको गुणस्तरप्रति आफूहरू गम्भीर रहेको समेत बताए।
आयुर्वेद चिकित्सक डा. भिओम कोइरालाले आयुर्वेद औषधिले साइड इफेक्ट गर्दैन भनेर जथाभावी खान नहुने बताए।
'आयुर्वेद औषधि एउटै रोगमा पनि व्यक्ति अनुसार फरक हुनसक्छ। त्यसैले मान्छेको चाहनाअनुसार भन्दा पनि उसलाई लागेको रोग अनुसार उपचार गर्नुपर्छ,' उनले भने, 'हामीले ल्याबमा उत्पादित औषधि मात्र प्रयोग गर्छौं।त्यसैले चिकित्सकको सिफारिसबिना जथाभावी औषधि खान हुँदैन।'
संस्थाकी फर्मासिस्ट सपना भण्डारीले आयुर्वेद औषधिहरू जथाभावी उत्पादन नहुने भन्दै ल्याब परीक्षण गरेर मात्र बजारमा ल्याइने बताइन्।