नेपाल पत्रकार महासंघ रूपन्देहीले पत्रकार महिलाहरूलाई १० हजार रूपैयाँ सुत्केरी भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। लुम्बिनीमा बुधबार सम्पन्न महासंघको दुईदिने कार्ययोजना बैठकले पत्रकार महिला सुत्केरी भएको अवस्थामा १० हजार रूपैयाँ सुत्केरी भत्ता स्वरूप उपलब्ध गराउने घोषणा गरेको हो।
महासंघले उपलब्ध गराउने उक्त रकममध्ये ५ हजार रूपैयाँ आमा तथा शिशुको पोषण र स्वास्थ्यमा खर्च गर्न पाइनेछ भने ५ हजार रूपैयाँ नवजात शिशुको नाममा बैंक खातामा जम्मा गरिदिने व्यवस्था गरिएको महासंघका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए।
नवजात शिशुको नाममा जम्मा गरिने रकम पुरूष पत्रकारका जन्मेका शिशुको नाममा समेत खाता खोली उपलब्ध गराइने उनले बताए।
माघ १५ र १६ गते दुई दिनसम्म आयोजित कार्ययोजना निर्माण बैठकले पत्रकारहरूको क्षमता विकास, आर्थिक सशक्तीकरण तथा सञ्चार गृहहरूलाई आर्थिक रूपमा बलियो बनाउन विभिन्न योजनाहरू अघि सारेको छ। महासंघले सन् २०२५ लाई आधार मानेर तत्कालीन र दीर्घकालीन योजनाहरू अघि सारेको जनाएको छ।
महासंघको कल्याणकारी कोषलाई वृद्धि गरेर ४० लाख रूपैयाँभन्दा बढी पुर्याउने, लेखनवृत्ति सञ्चालनका लागि ३० लाखभन्दा बढीको कोष स्थापना गर्ने, संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारसँग सहकार्य गरी क्षमता विकासका तालिम तथा कार्यक्रमहरू सञ्चालन गर्ने, सामाजिक संघ-संस्थाहरूसँग सम्बन्ध विस्तार गर्न खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूलाई थप व्यवस्थित बनाउने लगायतका एजेन्डाहरू पारित गरिएको महासंघका सचिव सिपी खनालले जानकारी दिए।
महासंघले ३ वर्षको अवधिमा कम्तीमा ३० लाख रूपैयाँको लेखनवृत्ति कोष स्थापना गरी पत्रकारको क्षमता विकासमा लाग्ने योजना प्रस्तुत गरिएको कोषाध्यक्ष नरेश केसीले बताए। बैठकमा श्रमजीवी पत्रकारहरूको विगत, वर्तमान र भविष्यबारे समीक्षा गरिएको थियो।