पाठेघरको मुखको क्यान्सर विरूद्धको एच.पि.भी. खोप अभियानका लागि कलाकार मनीषा कोइराला सद्भावना दूत भएकी छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच कोइरालालाई सद्भावना दूत बनाइएको हो।
माघ २२ देखि फागुन ६ गतेसम्म देशैभरी खोप अभियान सञ्चालन हुनेछ। माघ २२ गते पर्ने विश्व क्यान्सर दिवसको अवसरमा यो अभियान सुरू हुन लागेको हो।
नेपालमा औसतमा हरेक दिन छ जना महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर हुन्छ र चार जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने तथ्यांक छ।
पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रूपमा नरहने अवस्थामा पुर्याउन सरकारले सन् २०३० सम्म तीनवटा स्वास्थ्य सेवाको गन्तव्य निर्धारण गरेको छ। जसअनुसार १० देखि १४ वर्षसम्म उमेरका कम्तिमा ९०% किशोरीहरूलाई एच.पि.भी. खोप दिने, ३० वर्षभन्दा माथिको उमेरका कम्तिमा १०% महिलाहरूको पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने, र पाठेघरको मुखको क्यान्सर निदान भएका कम्तिमा १०% महिलाहरूको उपचार गर्ने रहेको छ।
एच.पि.भी. खोप लगाएमा यो रोगबाट सुरक्षित हुन सकिन्छ र यो खोप प्रारम्भिक किशोर अवस्थामा लगाएमा प्रभावकारी हुन्छ। यस सन्दर्भमा, प्रारम्भिक किशोरावस्था भन्नाले १० देखि १४ वर्षको उमेरलाई बुझाउनेछ।
त्यसैले, यो वर्ष देशव्यापी रूपमा एच.पि.भी. खोप अभियान सञ्चालन गरिदैछ । यस अभियानमा कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई एच.पि.भी. खोप दिइन्छ।
यो खोप अभियानको लक्षित संख्या १६ लाख ८८ हजार ७६८ जना किशोरीहरू अनुमान गरिएको छ।
एच.पि.भी. खोप सेवालाई आगामी वर्ष देखि नियमित खोपको रुपमा प्रदान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमा विद्यालय जाने कक्षा ६ का छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरूलाई हरेक वर्ष एच.पि.भी. खोप दिइनेछ।
एच.पि.भी. खोपको लागि लक्षित गरेका अधिकांश किशोरीहरू विद्यालयमा अध्ययन गर्ने भएकोले यो खोप सेवा पनि मुख्यतः विद्यालय केन्द्रित हुनेछ। तर विद्यालयहरूमा खोप सेवा सञ्चालनपछि स्वास्थ्य संस्था र माहा खोप केन्द्रहरूबाट पनि यो खोप प्रदान गरिन्छ।
यो वर्ष सञ्जात्तन हुने एच.पि.भी. खोप अभियानमा १८ हजार ९०० विद्यालय र ८ हजार २०० खोप केन्द्रहरूवाट एच.पि.भी. खोप सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ, जसमा छोपदिने स्वास्थ्यकर्मीहरू करिव २७ हजार र स्वंसेवकहरू ५४ हजारभन्दा बढी परिचालन हुनेछन्।
यो खोप अभियानको लागि १७ लाख ७० हजार ०२० मात्रा एच.पि.भी. खोप प्राप्त भएको छ। यो खोप प्रदेश तहमा पुर्याई सकिएको छ र अभियान सञ्चालन अगाडि स्वास्थ्य संस्थामा पुग्ने गरी खोप वितरण गर्ने व्यवस्था मिलाइएको छ।
यो खोप अभियानको लागि गाभीबाट सहयोग र नेपाल सरकारको सहलगानी रहेको छ। यसरी नै हरेक वर्ष नियमित खोप कार्यक्रममा एच.पि.भी. खोप समावेश गरी दीगो रुपमा खोप दिने लक्ष नेपाल सरकारको छ।
एच.पि.भी. खोप सुरक्षित र प्रभावकारी छ। नेपालमा खरिद-आपूर्ति गरिने एच.पि.भी. खोप विश्व स्वास्थ्य संगठनले गुणस्तरयुक्त प्रमाणित खोप हो र नेपालमा खोप संचालन गर्नको लागि औषधी व्यवस्था विभागले समेत अनुमती प्रदान गरेको छ।