नेपालमा गर्भपतनले कानुनी मान्यता पाएको २२ वर्ष बिते पनि असुरक्षित गर्भपतन गर्ने महिलाको संख्या उल्लेखनीय रहेको पाइएको छ।
आइपास नेपाल र महिला, कानुन र विकास मञ्चले काठमाडौंमा सोमबार र मंगलबार आयोजना गरेको दुई दिने कार्यक्रममा वक्ताहरूले कानुनले अधिकार दिएता पनि समाजमा अहिले पनि त्यस्ता असुरक्षित गर्भपतन गराउने महिलाहरूको संख्या व्याप्त देखिएको बताएका हुन्।
अहिले पनि जम्मा ४२ प्रतिशत महिलाहरूलाई मात्र सुरक्षित गर्भपतनबारे जानकारी भएको आइपास नेपालका अमित तिमिल्सिनाले बताए।
‘५८ प्रतिशत महिलाहरूलाई यसबारे थाहा छैन,’ कार्यक्रममा बोल्दै उनले भने,‘सहरमा भन्दा ग्रामीण भेगका महिलाले असुरक्षित गर्भपतन गराउँदै आएका छन्।’
अशिक्षा, गरिबी, समाजको डर लगायतले गर्दा महिलाहरूले असुरक्षित गर्भपतन गराउँदै आएको उनको बुझाइ छ।
यस विषयमा सम्बन्धित निकायले मात्र नभई सञ्चार माध्यमले पनि झक्झकाउने काम गर्नुपर्ने उनको सुझाव छ।
यस्तै, कार्यक्रममा पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सुरक्षित गर्भपतनबारे जहाँ सहज पहुँच छ, त्यहाँका महिलाहरूले मात्र लाभ लिन पाएको बताइन्।
सचेतनाको कमीले पनि असुरक्षित गर्भपतन गराउने संख्या गाउँमा व्याप्त रहेको उनले बताइन्।
सुरक्षित गर्भपतनबारे खोजी रिपोर्टिङ गर्दै प्रभावित महिलाहरूलाई यसबारे बुझाउन मिडियाले भूमिका खेल्नुपर्ने उनले सुझाइन्।
यस्तै सुरक्षित मातृत्व ऐन बनेता पनि कार्यान्वयनमा भने फितलो देखिएको महिला विकास र कानुन मञ्चका कार्यकारी निर्देशक वरिष्ठ अधिवक्ता सविन श्रेष्ठले बताए।
आइपास नेपालकी डा. दीब श्रेष्ठले विगत १३ वर्षदेखि आइपासले महिलाको प्रजनन स्वास्थ्य र अधिकारबारे वकालत गर्दै आइरहेको बताइन्।