काम गर्ने बेलामा सुतेको र आफ्नै खाने कचौरामा पिसाब गरेकाले चीनको प्रहरीका लागि काम गर्ने कुकुरको वार्षिक बोनस काटिएपछि चिनियाँ सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ।
फुजाई नाम गरेको सो कुकुरको बोनस काटेकोमा इन्टरनेटमा धेरै विरोध भएपछि उसलाई चिनियाँ नयाँ वर्षको बोनस दिइएको भनेर हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।
फुजाईको (चिनियाँ भाषामा भाग्यमानी वा खुसी) जन्म २०२३ अगस्ट २८ मा भएको थियो।
उसको मालिकले दुई महिनाको हुँदा पार्कमा लग्दा एक प्रहरी कुकुरका प्रशिक्षकले उसको क्षमता देखेपछि प्रभावित भएका थिए। उनकै सल्लाहमा फुजाईलाई उत्तरी चीनको शान्डोङ प्रान्तको वेइफाङमा प्रहरी कुकुर प्रशिक्षण केन्द्रमा दान दिइएको थियो।
उसले चार महिनाको उमेरमा २०२४ जनवरीमा विस्फोटक पदार्थ पत्ता लगाउने कुकुरको वैकल्पिक समूहमा प्रहरीमा जागिर सुरू गरेको थियो।
आफ्नो मुस्कान, छोटो खुट्टा र विस्फोटक पदार्थ पत्ता लगाउने उल्लेखनीय क्षमताका कारण त्यसै वर्ष मार्च सम्ममा फुजाई इन्टरनेट स्टार भइसकेको थियो।
अक्टोबर २०२४ मा तालिम सकेर फुजाई वैकल्पिकबाट पूर्णकालीन प्रहरी कुकुर बनेको थियो।
फुजाई लगायत अरू प्रहरी कुकुरको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्ने एक खाताले उसले २०२४ मा एकदमै राम्रो काम गरेर वेइफाङका सारा प्रहरी कुकुरको इज्जत बढाएको जानकारी दिएको थियो। सो भिडिओमा एक जना मान्छेले त्यसका लागि फुजाईलाई खानेकुरासहित केही उपहार र खेलौनाहरू प्रदान गरिने बताएका थिए।
तर पछिल्ला दिनमा कामको बेलामा थाकेर सुत्ने र आफ्नै खाना खाने कचौरामा पिसाब गरेकाले उपहार जफत गर्नुपर्ने भएको ती मान्छेले जनाएका थिए। त्यसपछि एक महिला अधिकारीले जिस्किएर फुजाईको उपहार जफत गर्दै गरेको सो भिडियोमा देखाइएको थियो।
सो भिडिओ चीनमा धेरै लोकप्रिय भएको थियो र फुजाईको बोनस काटेको भनेर धेरैले त्यसको विरोध गरेका थिए।
कतिले फुजाईले हाकिमको खाना खाने कचौरामा पिसाब नगरेर आफ्नै कचौरामा गरेको औंल्याए भने धेरैले वर्षभरि घोटिएर काम गरे पनि बोनस नपाउनु धेरै दु:खदायी हुने बताएका थिए।
फुजाईको बोनस काटेकोबारे धेरै विरोध भएपछि प्रहरीको सोही खाताले अर्को भिडिओ पोस्ट गर्दै उसको उपहार खोसिए पनि उसले नयाँ वर्षका लागि आकर्षक उपहार पाएको भनेर सर्वसाधारणलाई आश्वस्त पारिएको थियो।