दुई करोड रूपैयाँ बराबरको अनलाइन जुवा खेलाएको (सट्टेबाजी गराएको) अभियोगमा दुई जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ।
रामेछाप खाँडादेवी गाँउपालिका–९ घर भई हाल काठमाडौं बाफल बस्ने ४८ वर्षीय राजप्रकाश श्रेष्ठ तथा नुवाकोट विदुर नगरपालिका–१३ घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने २३ वर्षीय हरिचन्द्र भुजेललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
'बेटिङ एप्लिकेसन मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेम अन्तर्गत मान्ट्रा १०८ नामक वेबसाइट मार्फत जुवा (सट्टेबाजी) गर्ने/गराउने गरी रकम संकलन गर्ने, क्रिप्टो मुद्रा व्यापार गर्ने लगायतका कार्य भइरहेको भन्ने गोप्य सूचनाका आधारमा निजहरूलाई पक्राउ गरिएको हो,' उनले भने।
प्रारम्भिक अनुसन्धानबाट बैंक खाता तथा विभिन्न आइडी प्रयोग गरी हालसम्म दुई करोड ४१ हजार छ सय ३६ रूपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको प्रहरीले जनाएको छ। त्यस्तै उनीहरूबाट मोबाइल सेट चार थान, कम्प्युटर एक थान, सिमकार्ड ५९ थान, विभिन्न व्यक्तिका नाममा रहेका एटिएम कार्ड २७ थान, डायरी पाँच थान, चेकबुक सात थान तथा नगद ९० हजार बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ को दफा १२५ जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्राको प्रयोग गर्न नहुने बमोजिमको कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए।