सिद्धबाबा सुरूङमार्गको ब्रेक थ्रु (अन्तिम छेड्ने काम) गरिएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ स्थित सिद्धबाबा मन्दिरदेखि बुटवल पावर हाउससम्म एक हजार १२६ मिटर लामो सुरूङमार्ग निर्माण भइरहेको छ।
सोही सुरूङको प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल उपस्थितिमा आज ब्रेक थ्रु गरिएको हो। भौतिक पूर्वाधारको क्षेत्रमा नौलो अभ्यास मानिएको सुरूङमार्गको ब्रेक थ्रुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र आयोजनाले उत्सवको रूपमा कार्यक्रम आयोजना गरेको हो।
सो अवसरमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश अहिले सुरूङ युगमा प्रवेश गरेको बताए।
सुरूङमार्गले सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई सहज हुने मात्र नभई पहाडी जिल्लाको उत्पादनलाई बुटवल सम्म ल्याउन सहज पुग्ने बताए।
सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको क्षेत्र वर्षा होस् या हिउँद सधै पहिरोको उच्च जोखिममा पर्छ। वर्षामा मात्र होइन हिउँदमा समेत झर्ने सुख्खा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा सुरूङमार्ग निर्माण कार्य अगाडि बढाएको थियो।
आयोजना प्रमुख कृष्णराज अधिकारीले कुल एक हजार १२६ मिटर लामो सुरूङमार्गको खन्नुपर्ने भित्री भाग एक हजार ८९ मिटर रहेको र सबै खनेर ब्रेक थ्रु गरिएको जानकारी दिए।
सुरूङमार्गमा कुनै समस्या आइपरे आपतकालीन निकासका लागि तीन वटा बाइपास सुरूङ राखिएको छ। १५१ मिटर, १६१ मिटर र १३० मिटर गरी तीन वटै बाइपास सुरूङ पनि यसअघि नै ब्रेक थ्रु भइसकेका थिए।
२०७८ साल फागुनमा ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण कार्य अगाडि बढाइएको सुरूङमार्गको निर्माण कार्य ४० दशमवल १८ प्रतिशत पूरा भएको छ। सुरूङमार्गको निर्माणको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ।
सुरूङमार्ग निर्माणका लागि २०७७ साल मंसिर १ गतेको मन्त्रिपरिषद् बैठकले बजेट सहमति प्रदान गरेपछि २०७८ साल जेठ ९ गते सडक विभागले ग्लोबल टेन्डरमार्फत ठेक्का आह्वान गरेको थियो।
भारत सरकारको सहयोगमा २०२२ सालमा निर्माण सुरू भएको सिद्धार्थ राजमार्ग २०२८ सालमा निर्माण पूरा भए पनि नेपाल सरकारलाई २०३५ सालमा मात्र हस्तान्तरण गरिएको थियो।
भारतीय सिमानाका बेलहियादेखि पोखरासम्म १८१ किलोमिटर लम्बाईको यो सडक चिडियाखोलादेखि दोभानसम्मको ४ किलोमिटर क्षेत्र पहिरोको जोखिम मानिन्छ। त्यसमध्ये पनि चट्टान सहितको पहरो रहेको सिद्धबाबा क्षेत्र अत्यन्त जोखिमपूर्ण मानिन्छ।
ट्राफिक प्रहरीको तथ्यांक अनुसार सिद्धार्थ राजमार्ग निर्माण भएपछी हालसम्म बुटवल तानसेन खण्डमा मात्रै दुर्घटनामा परी झण्डै पाँचसय यात्रुको ज्यान गएको छ। २०५४ सालमा सिद्धबाबा क्षेत्रमै भएको एउटै बस दुर्घटनामा ३२ जना यात्रुको मृत्यु भएको थियो। पछिल्लो १८ वर्षमा दुई सय बढीको ज्यान गएको छ भने सातसय बढी घाइते भएका छन्।
पछिल्लो १४ वर्षमा पहिरोको अत्यन्त जोखिम मानिएको झण्डै चार किलोमिटर क्षेत्रमा मात्र ६७ वटा दुर्घटना भएका छन्। जसमा ९८ जनाले ज्यान गुमाएका छन्।
पछिल्लो समय मृत्युमार्गको रूपमा परिभाषित हुँदै गएको यो खण्डलाई सुरक्षित बनाउन सुरूङमार्ग, रकनेट, रकसेट, बेन्चकट लगायतका विभिन्न विकल्पबारे छलफल गरेपछि उपयुक्त विकल्पको रूपमा सुरूङमार्गलाई अगाडि बढाइएको थियो।
सडक सुरक्षाको क्षेत्रमा काम गर्दै आएको सुरक्षित यात्रा अभियान नेपालले २०७० सालमा तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसमक्ष सडकको सुरक्षाका लागि विभिन्न ३ वटा विकल्प प्रस्तुत गरेको थियो।
नेकपा एमालेका तत्कालीन उपमहासचिव विष्णु पौडेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण र तत्कालीन मुख्यसचिव लिलामणि पौडेल लगायतको उपस्थितिमा वातावरण इन्जिनियर विवेकराज बस्यालले प्रस्तुत गरेको विकल्पपछि सरकारले सोही वर्ष अध्ययनका लागि केही रकम विनियोजन गरेको थियो।
त्यसवर्ष न्यून बजेटका कारण अध्ययन हुन सकेन। आर्थिक वर्ष २०७३/०७४ मा सिद्धबाबा खण्डमा सुरूङमार्ग निर्माणको विस्तृत अध्ययन तथा परियोजना प्रस्ताव तयार गर्न सरकारले बजेट विनियोजन गरेको थियो। त्यसपछि विस्तृत अध्ययन अगाडि बढेको थियो। त्यो बेला प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेल थिए।
आर्थिक वर्ष २०७५/७६, २०७६/०७७ र २०७७/०७८ मा सरकारले सुरूङमार्ग निर्माणको सर्भेक्षण र सुरूङमार्ग निर्माणको ठेक्का प्रक्रियाका लागि बजेट विनियोजन गरेको थियो। यी तीनैपटक प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडा थिए।
त्यसपछि आर्थिक वर्ष २०७८/०७९ मा तत्कालीन प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले बजेट सुनिश्चित गरी सुरूङमार्ग निर्माणको काम अगाडि बढेको थियो। त्यसपछिका पनि हरेक वर्ष सिद्धबाबा सुरूङमार्गलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा बजेट विनियोजन गर्दै आएको छ।
आर्थिक वर्ष २०७९/०८० मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मा, २०८०/८१ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महत तथा चालु आर्थिक वर्षका लागि पनि तत्कालीन प्रधानमन्त्री दाहाल र अर्थमन्त्री वर्षमान पुनले सुरूङमार्गलाई विशेष प्राथमिकतामा राखी बजेट विनियोजन गरेका थिए।
निर्माण कम्पनीले २०७८ साल फागुनमा ठेक्का सम्झौता गरे पनि विभिन्न कारणले एक वर्ष ढिलाइ गरी २०७९ अन्त्यतिर मात्र निर्माणको काम अगाडि बढेको थियो। ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले २०८३ सालभित्र सुरूङमार्ग निर्माणको सम्पूर्ण काम पूरा गर्नुपर्ने छ।
आयोजना प्रमुख अधिकारीले पछिल्लो वर्ष गरेको कामको प्रगति हेर्दा तोकिएको अवधिमै सुरूङमार्ग निर्माणको काम सम्पन्न हुने अपेक्षा गरिएको बताए।
निर्माणपछि पनि ५ वर्षसम्म सञ्चालन र मर्मतसम्भार गर्ने जिम्मेवारी सोही कम्पनीको रहेको ठेक्का सम्झौताको सर्त छ। अहिले मुख्य टनेल र तीनवटै वाइपास सुरूङको ब्रेक थ्रुसँगै सुरूङभित्र पानी तर्काएर बेन्चिङ, लाइनिङ र भित्रको ढलानको काम भइरहेको छ।
योजना प्रमुख अधिकारीका अनुसार रकसेड, पहुँच सडकको निर्माण, सुरूङभित्र भेन्टिलेसन, लाइनिङ, लाइटिङ, अक्सिजन, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडान लगायतका काम बाँकी छन्। बाहिरपट्टिको खण्डमा रक सेड, रक फल व्यारियर, स्लोप प्रोटेक्सनको कतिपय काम भइरहेको छ भने कतिपय बाँकी छ।
त्यस्तै, उत्तरतर्फ पोर्टलबाट एक हजार १०० वर्गमिटर र दक्षिणतर्फ दुई हजार ३०० वर्गमिटर स्क्वायर क्षेत्रमा स्लोप निर्माण गर्नुपर्ने छ। त्यसमध्ये उत्तरमा हालसम्म ४९५ र दक्षिणमा १४९५ वर्गमिटरमा निर्माण गरिएको छ।
सुरूङमार्ग निर्माण गरिएको चट्टान सहितको पहरोमा पनि सत्र हजार ६० वर्गमिटरमा स्लोप निर्माण गर्नुपर्ने छ।
हालसम्म करिब दुई हजार वर्गमिटरमा स्लोप निर्माण भएको छ। सडकभन्दा तल तिनाउ नदीतर्फको भागमा पनि एक हजार ८६० वर्गमिटमा स्लोप निर्माण गर्नुपर्ने छ। तर यहाँ अरूतिरको सकिएपछि मात्र काम सुरू हुनेछ।
सुरूङमार्गपछि दक्षिणतर्फको पोर्टलदेखि बुटवल चिडियाखोलासम्म ९१० मिटर र उत्तरतर्फको पोर्टलदेखि पाल्पाको दोभानतर्फ ५६० मिटर सडक दुई लेनमा निर्माण हुने छ। यही आयोजना अन्तर्गत साढे ३ किलोमिटर सडक सुरक्षित बनाउन विभिन्न प्रविधिहरु प्रयोग गरी संरचना बनाउनुपर्ने सम्झौतामा उल्लेख छ।
आयोजनाअन्तर्गत नै उत्तरी र दक्षिणी प्रवेशद्वारमा दुइटा आकस्मिक हेलिप्याड र दुइटा प्राविधिक भवन निर्माण हुने छन्।
यो सुरूङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूको आवतजावत सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।