जिल्ला स्वास्थ्य कार्यालयमार्फत रूपन्देही जिल्लाका ५८ हजार ९ सय किशोरीहरूलाई एचपिभी खोप लगाइँदै छ।
पाठेघरको क्यान्सर विरूद्धको देशव्यापी अभियान अन्तर्गत रूपन्देही जिल्लामा पनि उक्त खोप लगाउन थालिएको हो।
यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म दुई चरणमा गरी खोप अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
कार्यालयका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले पहिलो चरणमा माघ २२ गतेदेखि २७ गतेसम्म सैनामैना, कञ्चन, गैंडहवा, शुद्धोधन, सियारी र मायादेवी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने छ।
किशोरीहरूको संख्या धेरै रहेका बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकामा भने माघ २२ गतेदेखि २९ गतेसम्म खोप लगाइने छ।
यस्तै, दोस्रो चरणमा फागुन १ गतेदेखि ६ गतेसम्म देवदह, तिलोत्तमा र लुम्बिनी सांस्कृतिक नगरपालिकासहित ओमसतिया, रोहिणी, सम्मरीमाई र मर्चवारी गाउँपालिकामा खोप अभियान चलाइने छ।
सरकारले किशोरीहरूलाई भविष्यमा हुन सक्ने पाठेघरको क्यान्सरको संक्रमणबाट जोगाउन विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर सम्मका सबै बालिकाहरूलाई खोप अभियान सञ्चालन गर्न लागेको हो।
ज्ञवालीका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा ५४ हजार ६ सय ४५ जना र विद्यालयभन्दा बाहिर रहेका चार हजार २५३ जनालाई खोप लगाउन लागिएको जानकारी दिए।
जिल्लाका १६ वटै पालिकामा रहेका विद्यालयहरूलाई केन्द्र मानि ६८५ वटा विद्यालयबाट खोप लगाइने ज्ञवालीले जानकारी दिए।
रूपन्देहीमा सबभन्दा धेरै बुटवल उपमहानगरपालिकामा १० हजार ४३९ जना र तिलोत्तमा नगरपालिकामा आठ हजार ६०२ जनालाई एचपिभी खोप लगाइने छ।
खोप अभियानका लागि जिल्लाका १७१ जना स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको र आवश्यकताको आधारमा स्वास्थ्यकर्मी थप गर्न सकिने ज्ञवालीले बताए।
महिलाहरूलाई हुने पाठेघरको क्यान्सर संसारका सबै देशहरूमा नै जनस्वास्थ्यको प्रमुख समस्याको रूपमा देखा परेको छ। नेपाली महिलाहरूमा हुने विभिन्न प्रकारका क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको छ भने क्यान्सरको कारणबाट महिलाको मृत्यु हुनेमा यो पहिलो मुख्य कारण रहेको छ।
महिला र पुरूष दुवैको गणना गर्दा पनि फोक्सोको क्यान्सरपछि पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा छ।
विश्वभर हरेक वर्ष पाँच लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ भने यही अवस्थाले बढ्दै गए सन् २०३० सम्म एक वर्षमा ७ लाख पुग्ने अनुमान डब्लुएचओले अनुमान गरेको छ। त्यस्तै, हरेक वर्ष ३ लाख ११ हजार महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ।
नेपालमा पनि हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको क्यान्सर हुने गरेको छ भने एक हजार ३१३ जना महिलाको सोही क्यान्सरका कारण मृत्यु हुने गरेको छ।
पाठेघरको क्यान्सर प्रायः ह्यूमन प्यापिलोमा भाइरस (एचपिभी) का कारण हुने गर्छ। महिलालाई हुने पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले किशोरीहरूलाई एचपिभी नामक भाइरसविरूद्ध उक्त खोप दिन लागिएको हो।
विश्व स्वास्थ्य संगठनले पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रूपमा नरहेको अवस्थामा पुर्याउन सन् २०३० सम्म १० देखि १४ वर्षसम्मका सबै किशोरीहरूलाई एचपिभी खोप दिने, ३० वर्षभन्दा माथिका महिलाहरूको पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने र रोगको निदान भएका महिलाहरूलाई उपचार गर्ने मुख्य गन्तव्य निर्धारण गरेको छ। नेपालमा पनि सोही अनुसार देशभर यो अभियान सञ्चालन गर्न लागिएको हो।
सरकारले नियमित र अभियान गरी देशभरका १६ लाख ८८ हजार ७६८ जना किशोरीलाई एचपिभी खोप लगाउने जनाएको छ। जसमध्ये लुम्बिनी प्रदेशमा नियमित ६२ हजार ९९४ र अभियानको दुई लाख ३६ हजार ४७७ गरी दुई लाख ९९ हजार ४७१ जना किशोरीलाई खोप लगाइँदै छ।