डाक्टर किशोर खत्री हालैको एक शनिबार बिहान दाङ, तुलसीपुरको वीरेन्द्र चोकमा केही साथीहरूसँग भेटिए।
उनले शुक्रबार बेलुकी नै आफ्नो फेसबुकमा लेखेका थिए — मर्निङ वाकमा सँगै जान चाहनेहरू वीरेन्द्र चोकमा भेला हुनू है!
हामी उनको त्यही सन्देश पढेर गएका थियौं।
डा. किशोर सहितको समूह वीरेन्द्र चोकबाट दक्षिणतिरको बिपी चोक हुँदै पश्चिम बसपार्कतर्फ हिँड्यो। हामी किशोरसँग कुरा गर्दै अघि बढ्यौं।
बाटोमा धेरै मान्छे भेटिए — साना केटाकेटीदेखि पाका उमेरसम्मका। डा. किशोर सबैलाई 'गुड मर्निङ' भन्दै थिए। केहीसँग छोटो कुराकानी पनि गरे। बालबच्चा होस् वा आमाबुबा वा हजुरबुबा-हजुरआमा, सबै उनीसँग कुरा गर्न उत्सुक देखिन्थे।
किशोर यहाँका 'भाइरल' डाक्टर हुन्। रोगको होइन, सामाजिक सञ्जालको भाइरल!
बालरोग विशेषज्ञ किशोर सामाजिक सञ्जालहरूमा एकदमै सक्रिय छन्। फेसबुकमा उनलाई १ लाख ६२ हजारले र टिकटकमा २ लाख १४ हजार हाराहारीले पछ्याएका छन्। यिनै माध्यमबाट उनी बालबालिकालाई लाग्ने रोगव्याध, त्यसको उपचार, ध्यान दिनुपर्ने कुरा लगायतबारे जानकारी दिन्छन्। लाइभ बसेर मानिसहरूका जिज्ञासा पनि समाधान गरिदिन्छन्।
सामाजिक सञ्जालकै माध्यमबाट उनीसँग निःशुल्क परामर्श लिनेहरू हजारौं छन्। तिनैमध्ये एक हुन् स्थानीय कोपिला चौधरी।
'फेसबुक र टिकटकमा उहाँका कुरा सुन्छौं। गाउँमै आएर बच्चाहरूको स्वास्थ्य जाँच गरिदिनुभएको छ। हेरचाह र पालनपोषणबारे आमाहरूलाई सिकाउनुहुन्छ। हामीजस्ता अनपढले सजिलो गरी सिक्न पाएका छौं,' कोपिलाले भनिन्, 'डाक्टर किशोरको यो शैली हामीलाई धेरै मनपरेको छ।'
डा. किशोर मर्निङ वाकमा निस्कन थालेको ६-७ वर्ष भइसकेको छ। उनी बाटामा हिँडिरहेका केटाकेटी देख्नेबित्तिकै व्यायामको महत्त्वसमेत सम्झाउँछन्।
'बिहानको हिँडाइले जोस-जाँगर बढाउँछ। हाम्रो मुटु स्वस्थ राख्न दिनको कम्तिमा आधा घन्टा हिँड्नुपर्छ,' हातको इसाराले मुटुको ढुकढुकी देखाउँदै उनले भने।
उनी केही बेरमा टिकरीस्थित थारू गाउँ पुगे। उनलाई देख्नासाथ स्थानीय बासिन्दा बालबच्चा लिएर आइपुगे।
किशोरले झोलाबाट स्टेथेस्कोप निकालेर बच्चाहरूको छाती जाँच्न थाले। भिटामिन 'डी' चक्की निःशुल्क बाँडे। त्यसपछि उनले आमाहरूलाई बच्चाको हेरचाह कसरी गर्ने भनेर विस्तृत सम्झाए।
त्यस दिन उनी दंगीशरण गाउँपालिका-१ मा पर्ने रामपुर गाउँ पनि पुगे। एक स्थानीयले गाउँका आमाहरू आफ्ना बालबच्चासहित जम्मा भएकाले जसरी पनि आउन आग्रह गरेका थिए। तिनैमध्ये २८ वर्षीया शारदा थारू पनि आफ्नो दुई महिनाको छोरालाई देखाउन आएकी थिइन्। उनमा दूध खानासाथ बान्ता गर्ने समस्या थियो।
'उहाँ हाम्रो गाउँ कहिले आउनुहोला भन्ने लाग्थ्यो। आज आएपछि छोरालाई देखाउने इच्छा पूरा भयो,' शारदाले भनिन्।
त्यहाँ दुई वर्षीया छोरी जचाउन आएकी प्रीति चौधरी पनि थिइन्।
उनले भनिन्, 'मैले डाक्टर किशोरलाई फेसबुकमा फलो गरेकी छु। उहाँका सल्लाहले गाउँघरका आमाहरूलाई साना नानीको हेरचाह गर्न धेरै सहज बनाएको छ।'
डा. किशोरको एउटा विशेषता के भने, उनी जहाँ जान्छन्, त्यहीँको परिवेश अनुसार आफूलाई ढाल्छन्। बालबालिकादेखि वृद्धवृद्धा सबैसँग सजिलै घुलमिल हुन्छन्। भुइँमै बसेर स्वास्थ्य जाँच गर्छन्। उनी गाउँलेहरूलाई स्वास्थ्य सम्बन्धी जानकारी मात्र दिँदैनन्, सकारात्मक ऊर्जा पनि भर्छन्।
कतिपय आलोचकहरू भने डा. किशोरलाई उपचार छाडेर सस्तो लोकप्रियतामा लागेको आरोप लगाउँछन्।
एक जनाले भने, 'डाक्टरको काम उपचार गर्नु हो, टिकटक र फेसबुकमा लाइभ बसेर सस्तो लोकप्रियता कमाउनु होइन।'
यसबारे जिज्ञासा राख्दा डा. किशोरले आफू आवश्यकता पर्दा रातदिन बच्चाहरूको उपचार र हेरचाहमा खटिने बताए।
'मेरो अस्पतालमा ६० जनाको टिम छ,' उनले भने, 'म मर्निङ वाकमा हुँदा पनि अस्पतालमा अन्य डाक्टर र नर्सहरू बिरामीको हेरचाह गरिरहेका हुन्छन्।'
उनले बिरामीको चाप कम हुँदा मात्र आफू लाइभ बस्ने गरेको र यसले दुर्गम क्षेत्रका साथै विदेशमा बस्नेहरूले समेत निःशुल्क स्वास्थ्य परामर्श पाइरहेको दाबी गरे।
'सबैसँग अस्पताल जान र खर्च गर्न सक्ने क्षमता हुँदैन, त्यस्ताले नि:शुल्क परामर्श पाउनु नराम्रो हो र?' उनले प्रश्न गर्दै भने, 'मलाई मेरो पेसा असाध्यै मन पर्छ। सबैको आशीर्वाद पाउँदै यही जीवन जिउन पाए पुग्छ।'
डा. किशोरले सामाजिक सञ्जालमा सक्रियता देखाउन थालेको भने करिब अढाई वर्ष भएको छ। यसको श्रेय उनले आफ्नी छोरीलाई दिए।
त्यतिखेर कक्षा ३ मा पढ्दै गरेकी छोरीले बुबालाई भनिछन्, 'बाबा, हजुरले स्वास्थ्य परामर्श सम्बन्धी भिडिओ बनाउँदै टिकटकमा राख्नुस्, हजुर भाइरल हुनुहुन्छ। हजुर भाइरल भएपछि मेरो पनि टिकटक खोल्नुहोला अनि म पनि भाइरल हुन्छु।'
छोरीको कुरा सुनेपछि डा. किशोरलाई प्रेरणा मिल्यो। उनले तत्कालै एक नर्सलाई बोलाएर आफ्नो टिकटक अकाउन्ट खोल्न लगाए र स्वास्थ्य परामर्श सम्बन्धी पहिलो भिडिओ पोस्ट गरे।
'पहिलो भिडिओ नै १० हजारभन्दा बढीले हेरे,' उनले भने, 'त्यसपछि जहाँ पुगे पनि भिडिओ बनाउन थालेँ। मलाई धेरैभन्दा धेरै मानछेलाई एकैचोटि सेवा दिन पाएको महसुस भयो।'
यिनै कुरा गर्दै डा. किशोर र उनको समूह तुलसीपुर बसपार्क पार गरेर दोघरे पुगे। यो उनको जन्मस्थान हो।
उनले आफ्नो पुरानो घर देखाए। घर छेउको गोठ पनि देखाए।
यही गोठमा २०३३ असोज २९ गते आमा साबित्राले उनलाई जन्म दिएकी थिइन्। किशोरभन्दा पहिले उनकी दिदी शोभा र दाजु किरणको जन्म भइसकेको थियो। तर दाजु किरणको युवावस्थामै मृत्यु भयो।
साबित्राले किशोरपछि थप दुई छोरालाई पनि त्यही गोठमा जन्म दिएकी थिइन्, तर ती दुवै संक्रमणका कारण केही समयमै बिते।
आफ्नो परिवारलाई परेको यो शोकले किशोरको बालमस्तिष्कमा गहिरो प्रभाव पारेको थियो। उनी सानैदेखि डाक्टर बन्ने सपना देख्थे।
किशोरले तुलसीपुरको 'तुलसी आवासीय बोर्डिङ स्कुल' बाट २०४९ सालमा एसएलसी दिए। त्यो वर्ष ६ जना विद्यार्थी परीक्षामा सामेल भएकामा किशोर टपर थिए। त्यसपछि उनले काठमाडौंको त्रिचन्द्र कलेजबाट आइएससी गरे र मेडिकल शिक्षामा पाइला टेके। उनले नेपालगन्ज मेडिकल कलेजबाट एमबिबिएस उत्तीर्ण गरे। दुई वर्ष नेपाल मेडिकल कलेज र इशान बाल अस्पतालमा मेडिकल अफिसरका रूपमा काम गरे।
त्यसपछि पाकिस्तानको इस्लामाबादस्थित 'पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस' बाट एमडी पूरा गरे। पाकिस्तान सरकारले उनलाई त्यहीँ काम गर्न प्रस्ताव गरेको थियो। तर किशोरको मन त्यहाँ बसेन।
उनकी आमाले गाउँमा अस्पताल र दक्ष चिकित्सक नहुँदा आफ्ना दुई सन्तान गुमाएको पीडा सुनाइरहन्थिन्, जसले उनलाई स्वदेश फर्कने प्रेरणा दियो।
त्यस बेला तुलसीपुरमा कुनै पनि बालरोग विशेषज्ञ थिएनन्।
'मैले आफू जन्मिएको ठाउँमै सेवा गर्नुपर्छ भन्ने लागेर राप्ती अञ्चल अस्पतालमा काम सुरू गरेँ,' उनले भने, 'यहाँ आएपछि मैले बालबालिकाको स्वास्थ्यप्रति अभिभावकहरूमा पर्याप्त सचेतना नभएको पाएँ। धेरैले आफ्ना केटाकेटी बिरामी हुँदा अस्पताल लैजानुपर्छ भन्ने सोच राख्दैनथे। बरू औषधि पसलमा गएर अनुमानकै भरमा किनेर खुवाउने चलन थियो।'
त्यसबाहेक, तुलसीपुरमा बच्चाहरूका लागि सघन उपचार कक्ष लगायतका सेवा उपलब्ध थिएनन्। गम्भीर बिरामी परे नेपालगन्ज, बुटवल वा काठमाडौं लैजानुपर्ने बाध्यता थियो। कतिपय बालबालिकाले यात्राकै क्रममा ज्यान गुमाउनुपरेका दर्दनाक घटना उनले सुने। आफ्ना आमाबुबा लगायत अन्य अभिभावकको पीडा सम्झेर उनले गाउँको स्वास्थ्य स्थिति परिवर्तन गर्ने दृढ संकल्प गरे।
यही संकल्पसहित उनले राप्ती अञ्चल अस्पतालको जागिर छाडेर 'तुलसी बाल अस्पताल' खोले। यो अस्पताल नै जिल्लामा बालबालिकाको निम्ति सघन उपचार कक्ष सहितको सेवा दिने पहिलो संस्था बन्यो।
अस्पताल खुलेपछि धेरै बालबालिकाले नजिकै उपचार पाउन थालेको र धेरैको ज्यान जोगिएको उनी बताउँछन्।
'बरू डाक्टरलाई भेट्न अलिकति पर्खिनु परे पनि विशेषज्ञको परामर्शमा मात्र औषधि खुवाउँदा जोखिम कम हुन्छ,' उनले भने, 'एउटा रोगको उपचारका लागि एउटा मात्र सही औषधि हुन्छ, जुन विशेषज्ञले सही पहिचान गरी निर्धारण गर्न सक्छ।'
डा. किशोरका अनुसार ९० प्रतिशत बालरोग आमाबुबाको स्याहार र मायाले नै निको हुन सक्छन्। खासगरी मौसमी ज्वरो वा रूघाखोकी जस्ता समस्या राम्रो हेरचाह र मायाले आफै ठिक हुने उनको भनाइ छ।
डा. किशोरका लागि अस्पताल व्यवसाय होइन, सेवाको थलो हो। आर्थिक अभावका कारण कुनै पनि बच्चाले उपचार नपाउने स्थिति कहिल्यै सिर्जना हुन नदिन उनले प्रतिबद्धता जनाएका छन्।
'यो कुरा मैले अहिले मात्र भनेको होइन, तपाईंहरूले देख्दै आउनुभएको होला। प्रारम्भिक चरणदेखि नै आर्थिक रूपमा कमजोर बालबालिकालाई निःशुल्क उपचार गर्दै आएको छु,' उनले भने, 'कति अभिभावकलाई मैले आफ्नै एम्बुलेन्स र खर्च दिएर अन्य अस्पतालमा पठाएको छु।'
उपचार क्रममा जटिलता आए ठूला र सुविधासम्पन्न अस्पतालमा रेफर गरेर पठाउनुपर्छ। यस्तो बेला आर्थिक समस्याका कारण उपचार गर्न नसक्ने अवस्था सिर्जना हुन नदिने उनको कोसिस रहँदै आएको छ।
'आफू मात्रै खुसी हुनु वा आफ्नो मात्र पेट भर्नु ठूलो कुरा होइन,' उनले भने, 'मैले अरू कसैलाई खुसी बनाउन सकेँ, अरू कसैको पेट भरिदिन सकेँ भने, त्यो नै मानवता र महानता हो भन्ने मलाई लाग्छ।'
***