स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
गोरखाको पालुङटार गाउँपालिका–५, लामागाउँस्थित हवाईग्राउण्ड नजिकै बा ८२ प २१९९ नम्बरको स्कुटर दुर्घटना हुँदा २४ वर्षीय सुरेश गुरूङको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माका अनुसार तीव्र गतिमा रहेको स्कुटर अनियन्त्रित भएर पल्टिएको अनुसन्धानबाट खुलेको छ।
अजिरकोट गाउँपालिका–३, हङ्सपुर स्थायी घर भएका सुरेश पालुङटारमै बस्थे। दुर्घटनाग्रस्त स्कुटर र शव बुधबार फेला परेपछि घटनाको अनुसन्धान गर्दा सुरेश आफैले चलाएको स्कुटर दुर्घटनामा परेको खुलेको हो।
स्थानीयवासीले दुर्घटनाग्रस्त स्कुटर र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।