दाङको तुलसीपुर उपमहानगरपालिका वडा-११ ले आगामी नयाँ शैक्षिक सत्रदेखि आफ्नो वडाका सामुदायिक विद्यालयमा कक्षा १ मा भर्ना हुने सबै विद्यार्थीलाई जनही एक हजारका दरले छात्रवृत्ति दिने निर्णय गरेको छ।
सोमबार बसेको वडा समिति बैठकले वडाभित्रका सामुदायिक विद्यालयमा भर्ना हुने हरेक विद्यार्थीलाई एक हजार छात्रवृत्ति बापत रकम उपलब्ध गराउने र कक्षा १ देखि १२ कक्षासम्म भर्ना हुने दलित विद्यार्थीलाई नि:शुल्क रूपमा एक जोडा पोशाक उपलब्ध गराउने निर्णय गरेको हो।
तुलसीपुर–११ मा कक्षा १२ सम्म पढाइ हुने अम्मर मावि उरहरी, शान्ति मावि नवलपुर, आधारभूत विद्यालय कटाँहा, प्रावि प्रिगाउँ र शुक्रेश्वरी प्रावि सुकौरा गरी पाँच वटा सामुदायिक विद्यालयहरू छन्।
आगानी शैक्षिक सत्रदेखि यी पाँच वटा विद्यालयमा कक्षा १ मा भर्ना हुने हरेक विद्यार्थीलाई जनही एक हजारका दरले छात्रवृत्ति प्रदान गर्ने निर्णय वडा समितिको बैठकले गरेको वडाध्यक्ष मानबहादुर रावतले सेतोपाटीलाई बताए।
तुलसीपुर उपमहानगरपालिकाका सामाजिक विकास समितिका संयोजक समेत रहेका रावतले सबैले पढ्न पाऊन् र कसैले पनि बीचमा पढाइ नछोडून् भन्ने सोचका साथ नयाँ भर्ना हुने विद्यार्थीलाई जनही एक हजारका दरले छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको बताए।
पछिल्लो समय निजी विद्यालयमा विद्यार्थी आकर्षित हुँदै जाँदा सामुदायिक विद्यालयमा विद्यार्थी अभाव हुन थालेपछि वडाले विद्यार्थी आकर्षित गर्न नयाँ रणनीति लिएको हो।