काठमाडौं महानगरपालिकाले हराएकै सय वर्ष नाघेको ब्रह्मा मन्दिर उत्खनन गरी पुनः निर्माण कार्य सुरू गरेको छ।
सोमबार वडा नम्बर ८ का वडाध्यक्ष आशामान संगतले जय वागेश्वरी गायत्री मार्गमा मन्दिर उत्खनन भएको स्थानमा शिलान्यास गरी पुनः निर्माण कार्य सुरू गरेका हुन्।
वडाध्यक्ष संगतका अनुसार मन्दिरको लिखित दस्तावेज नपाइएता पनि यसको निर्माण छैटौं शताब्दीमा भएको मानिन्छ।
'यो मन्दिर हराएकै १ सय वर्षभन्दा धेरै भएको थियो,' उनले भने, 'मन्दिरको बनावट र प्रकृति सम्बन्धि दस्तावेज नपाइए पछि हामीले जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरातत्वविदहरूबाट मन्दिरको रेखाङ्कन गराएका हौं।'
पुरातत्व विभागको सहयोगमा उत्खननपश्चात् यसको प्राचीनताको अध्ययन गरिएको थियो। जसबाट मन्दिर छैटौं देखि सातौं शताब्दीबीचमा निर्माण भएको अनुमान गरिएको हो।
ब्रह्मा मन्दिरको मूर्ति वर्षौंदेखि गौशाला प्रहरी कार्यालयमा रहेको समेत उनले बताए।
उक्त मन्दिरको करिब १ करोड १५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ।