बाराको साविक आदर्श गाविसका तत्कालीन सचिवविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
हाल जितपुर सिमरा उपमहानगरपालिकाको साविक आदर्श गाविसका तत्कालीन सचिव आस महमद अन्सारीविरूद्ध अख्तियारले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उनले आर्थिक वर्ष २०६४/६५ मा गुदरी बजार र मिना बजारका सटरहरू उपभोक्तालाई भाडामा लगाउँदा लिएको धरौटी बापतको ३८ लाख ३० हजार ५०० रूपैयाँ साविक गाविसको धरौटी खातामा जम्मा गर्नुपर्नेमा सो नगरेको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन्।
त्यतिबेला सटर भाडामा लगाउँदा १२१ जना व्यक्तिहरूबाट अन्सारीले सो रकम लिएको र बदनीयतपूर्ण वडाको खातामा जम्मा नगरी हिनामिना गरेको पुष्टी भएकाले विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।
अख्तियारले उनीसँग हिनामिना बराबरको ३८ लाख ३० हजार ५०० रूपैयाँ बिगो र कानुनअनुसार हुने कैद सजाय माग गरेको छ।