दाङको दंगीशरण गाउँपालिका–२ कौवाघारीका २५ वर्षीय प्रेमबहादुर कुसारीको मृत्यु २२ वर्षीय छविलाल डाँगी ढुंगामा चिप्लिएर लडेपछि बन्दुक पड्किँदा गोली लागेर भएको खुलेको छ।
माघ ३ गते दिउँसो साढे ३ बजेतिर स्थानीय तीन जना साथीहरू घाँस काट्ने र भारी पुगेपछि कालिज हान्ने भनेर भरूवा बन्दुक साथमै लगेर स्थानीय जंगलमा पसेका थिए। त्यो यात्राका क्रममा सबभन्दा पछाडि २७ वर्षीय पुष्प बस्नेत, बीचमा छविलाल र सबभन्दा अगाडि प्रेमबहादुर हिँडिरहेका थिए। त्यही बीचमा छविलाल ढुंगामा चिप्लिएर लडे र लोडेड बन्दुक पड्किएर अगाडि हिँडिरहेका प्रेमबहादुरको दुबै तिघ्रा तथा घुँडाहरूमा बन्दुकको गोली लागेको भन्ने तथ्य प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले सेतोपाटीलाई बताए।
‘बन्दुक बोकेर बीचमा हिँडिरहेका छविलाल ढुंगामा चिप्लिएर लडेपछि लोडेड बन्दुक पड्कन गई सबभन्दा अगाडि हिँडिरहेका प्रेमबहादुरलाई खुट्टामा बन्दुकको छर्राहरू लाग्न पुगेको बयानबाट खुल्छ,’ एसपी तिमिल्सिनाले भने, ‘छविलालले बोकेको गैरकानुनी बन्दुक मृतक प्रेमबहादुरकै हो भन्ने छ र यसबारे थप अनुसन्धान हुन बाँकी छ।’
प्रहरीले आइतबार दिउँसो ३ बजेपछि घोराहीस्थित जिल्ला प्रहरी कार्यालयमा घटनाबारे जानकारी दिन पत्रकार सम्मेलन पनि गरेको थियो।
यो पनि:
अन्तिम संस्कार गर्न लागेका बेला फेरि पोस्टमर्टम गर्न पठाइएको थियो प्रेमबहादुरको शव