रूपन्देहीमा आइतबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहर चलेको छ।
रूपन्देही, नवलपरासी, कपिलवस्तु लगायत यसक्षेत्रका तराईका जिल्लाहरूमा आईतबार बिहानैदेखि हुस्सुसहित शीतलहर चलेको हो।
पश्चिमी वायुको प्रभावले पश्चिम तराईका जिल्लाहरूमा हुस्सु, कुहिरो र शितलहर चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार दिनभर घाम लागेको रूपन्देही आसपासमा कुहिरो र शितलहर चलेपछि चिसो बढेको छ। एक्कासि चिसो बढेपछि बुटवलका सडकमा सर्वसाधारणको आवतजावत पनि पातलिएको छ।
यसअघि पुसको दोस्रो र अन्तिम साता केहि दिन रूपन्देही, नवलपरासी आसपासमा बाक्लो हुस्सुसहित शीतलहर चल्दा जनजीवन प्रभावित भएको थियो। चिसो बढेपछि रूपन्देहीका बुटवल, तिलोत्तमा लगायत केही पालिकाहरूले विद्यालयहरूमा जाडो बिदा दिएका थिए।
माघ लागेसँगै घाम लाग्न थालेपछि विद्यालयहरूमा पठनपाठन नियमित भएको थियो। फेरि आइतबारदेखि शीतलहर सुरू भएको हो।
बाक्लो हुस्सुका कारण भिजिबिलिटी पनि निकै घटेको छ।
हुस्सु र शितलहरका कारण भैरहवाबाट हुने आन्तरिक उडान पनि प्रभावित भएका छन्। हुस्सुका कारण आइतबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनैपनि उडान हुन नसकेको विमानस्थलले जनाएको छ।
तस्बिरहरू:






