कोशीका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापामाथि शनिबार झापामा आक्रमण भएको छ।
कनकाईस्थित दोमुखा क्षेत्रमा नेपाल प्रेस युनियनको कार्यक्रममा सहभागी भएर फकिँदै गरेका थापामाथि जामुनबारी चोकमा आक्रमण भएको हो।
कोशी कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापासँगै गाडीमा सवार पार्टीका झापा सचिव कृष्ण हुमागाईंका अनुसार कार्यक्रमबाट फर्किँदै गरेका थापा चढेको गाडी छेक्न खोज्ने एक जना चालकले उनीमाथि आक्रमण गरेका हुन्। पूर्वमुख्यमन्त्री थापा बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारपछि घर फर्केको सचिव हुमागाईंले जानकारी दिए।
'पिएसओ सहितको को १ झ ६५३ नम्बरको गाडीमा हामी थियौं, हामीभन्दा अघि रहेको बा १ ञ १४७० नम्बरको बिजुली अफिसको गाडीले बाटो छेकेको छेक्यै गर्यो,' हुमागाईंले भने, 'त्यसपछि भिआइपीको गाडी हो भन्दै पिएसओले वाकीटकी देखाएपछि गाडी छेकेर रोके। अनि मनपरी बोल्दै आक्रमण गरे।'
उनले थपे, 'पूर्व मुख्यमन्त्रीको गाडी हो साइड दिनुस् भनेर पिएसओले गाडी रोकेरै भनेपछि ती चालक देश लुट्ने यिनै हुन्, नेता जति सबै चोर हुन् भन्दै उफ्रिन थालेका थिए। त्यति हुँदा पनि दाइ (थापा) ले जाऔं अघि बढौं भन्दै हुनुहुन्थ्यो। प्राधिकरणको चालक आएर एक्कासि आँखामा मुक्का प्रहार गर्यो। भल्भली रगत आउन थाल्यो।'
हुमागाईंका अनुसार थापामाथि मुक्का प्रहार गरेका ती व्यक्तिलाई स्थानीयबासीले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन्।
झापाका प्रहरी प्रमुख एसपी मिलन केसीका अनुसार नेपाल विद्युत प्राधिकरण सुरूंगाका चालक र उनका सहयोगीलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा शिवसताक्षी-११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कन्काई-३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ छन्।