रूपन्देही जिल्ला अदालतमा दर्ता भएको मुद्दाको सक्कल फाइल आउन ढिलाइ भएपछि शुक्रबार हुने भनिएको सुप्रिम सहकारी संस्थाको रकम अपचलनसम्बन्धी पूरक मुद्दा दर्ता हुन सकेन।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडिआइजी छविलाल जोशी सहितका १४ जनाविरूद्ध शुक्रबार जिल्ला अदालतमा पूरक मुद्दा दर्ता गर्ने जिल्ला सरकारी वकिलको कार्यालयले तयारी गरेको थियो। तर सर्वोच्च अदालतमा पठाइएको सक्कल फाइल आउन ढिलाइ भएपछि पूरक मुद्दा दर्तामा ढिलाइ भएको सरकारी वकिलको कार्यालयले जनाएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले पूरक अभियोजन फाइल तयार गरे पनि अदालतमा पुरानो सक्कल फाइल आउन ढिलाइ भएपछि आज दर्ता हुने भनिएको पूरक मुद्दा आइतबार दर्ता हुन सक्ने जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए।
जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले सुरू मुद्दामा २०८१ वैशाख ३ गते २८ जनालाई सहकारी ठगीसम्बन्धी मात्र कसुर लगाई १ अर्ब ३ करोड मात्र बिगो माग गरेको थियो। त्यसमध्ये १७ जनालाई सहकारी ठगी र संगठित अपराधको कसुर र बिगो थप सहितको मुद्दा दर्ताको लागि बिहीबार अदालतमा पेस गरेको थियो भने लामिछाने र जोशी सहितका थप १४ जनाविरूद्ध शुक्रबार पूरक मुद्दा दर्ता गर्ने तयारी थियो।
यसअघि इलाका प्रहरी कार्यालय बुटवलले गत पुस २६ गते नै लामिछाने सहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बुझाएको थियो।
कास्की प्रहरीमा अनुसन्धान भइरहेका बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि गत कात्तिक २७ गतेदेखि २९ गतेसम्म जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा पुगेर लामिछानेले बयान दिएका थिए।
यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिम सहकारीको मुद्दा गत वैशाख ३ मा अदालतमा दर्ता भएको थियो। त्यतिबेला एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो।
सुप्रिम सहकारीबाट लामिछानेले २ करोड र जिबी राई सम्बद्धहरूको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत् गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।