ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ढुक्कले जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।
शुक्रबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले सरकारले जलविद्युत उत्पादनमा देखिएका समस्या समाधान गर्ने बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन्।
अहिलेको सरकारले त्यस्तो अवरोधलाई फुकाउँदै अगाडि बढेको पनि उनले बताए।
'जलविद्युत उत्पादनमा समस्याहरु छन् । तर समस्याको समाधान सरकारले नै गर्ने हो । सरकार र निजी क्षेत्र मिलेर नै समस्या समाधान गर्ने हो । समृद्धि,सुशासन,रोजगारी सिर्जनाका लागि नै काम गर्ने हो । सरकार र निजी क्षेत्रको लक्ष्य एउटै हो । निजी क्षेत्रले ढुक्क भएर लगानी गर्न आग्रह गर्न चाहन्छु । निजी क्षेत्रका समस्याहरु सरकारले राम्रोसँग बुझेको छ,' उनले भने।
मन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले सरकारले पीपीए नरोक्ने पनि बताए।
'पीपीए रोकिँदैन । सरकारले लिएको लक्ष्य पूरा गर्नुको लागि पीपीए रोक्नुको कारण छैन । सबै समस्याहरुको समाधान गरेर यो सरकार अगाडि जान्छ । नीतिमा सुधार गर्नुपर्छ भने सरकारले नीतिमा सुधार गर्छ । मुलुकलाई हेरेर समृद्धिका निम्ति ऐन संशोधन गरे अध्यादेश ल्यायौं । राम्रो काम गर्नको लागि विवाद र रुवाबासी गर्नु पर्ने कारण छैन,' उनले भने।
सरकार राम्रो कामको लागि आँखा चिम्लेर अगाडि बढ्ने भएकाले निजी क्षेत्रले पनि निर्धक भएर लगानी गर्न मन्त्री खड्काले आग्रह गरे। (न्युज एजेन्सी नेपाल)