भरतपुर महानगरपालिकाको वडा नम्बर २७ ले बेलायतकी महारानी एलिजावेथ द्वितीयको स्मारक निर्माण गर्ने तयारी थालेको छ।
महानगरले ‘रानी एलिजावेथको राजकीय भ्रमणमा आउँदाको स्मरणमा स्तम्भ निर्माण’ शीर्षकमा ८ लाख रुपैयाँ विनियोजन गरेको आर्थिक वर्ष २०८१/०८२ को योजना कितावको वडास्तरीय आयोजनाअन्तर्गत उल्लेख छ।
२०१७ सालमा नेपालको राजकीय भ्रमणमा आएकी महारानी एलिजावेथ हालको भरतपुर–२७ स्थित मेघौली विमानस्थलमा अवतरण गरेर वन्यजन्तुको सिकारमा सहभागी भएकी थिइन्। राजकुमार फिलिप (महारानीका श्रीमान्) सहित आएकी महारानीको स्वागतमा नेपालका तत्कालीन राजा महेन्द्र शाह स्वयम् उपस्थित थिए।
महारानीको भ्रमणकै लागि भनेर मेघौलीमा विमानस्थल बनाइएको थियो। मेघौली क्षेत्रलाई झिलीमिली बनाएर श्रृंगारिएको थियो। पछि बेलायती नागरिककै लगानीमा मेघौलीदेखि दक्षिणतिर जंगलमा टाइगर टप्स जंगल लज सञ्चालन गरिएको थियो। लजका पाहुनालाई ल्याउन, लैजान मेघौली विमानस्थलको प्रयोग बढ्दै गयो। यसले मेघौलीलाई पर्यटकीय क्षेत्रका रुपमा चिनाउन सहयोग गरेको स्थानीय बासिन्दा बताउँछन्।
भरतपुर–२७ का वडाध्यक्ष रामबहादुर भण्डारीले मेघौली क्षेत्रलाई संसारभर चिनाउन बेलायती महारानी एलिजावेथको भूमिका महत्वपूर्ण रहेकोले स्मरणका लागि स्तम्भ निर्माण गर्न लागिएको जानकारी दिए। उनले स्तम्भ निर्माण गर्न लागिएको जानकारी नेपालस्थित बेलायती दुतावासलाई पनि गराएको बताए। निर्माण गर्ने स्थान उपलब्ध गराइदिन चितवन राष्ट्रिय निकुञ्जलाई पत्राचार गरिएको भण्डारीले बताए।
‘वडा, मध्यवर्ती वन, पर्यटन समिति र स्थानीयबासीका प्रतिनिधिले बेलायती दुतावासमा गएर महारानीको स्मारक निर्माण गर्न लागिएको जानकारी गराउनुभएको छ। छिट्टै हुने शिलान्यास कार्यक्रमका लागि निमन्त्रणा पनि गर्नुभएको छ,’ उनले भने, ‘हामीले मेघौलीमा निर्माणाधीन राइनो पार्कको परिशरमा स्मारक निर्माणको तयारी गरेका छौं। मध्यवर्ती क्षेत्रभित्र पर्ने भएकाले यसमा निकुञ्जको अनुमती चाहिन्छ। त्यसैले पर्खिरहेका छौं।’
मेघौली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मायाराम चौधरीले बेलायती महारानीको भ्रमणपछि मेघौली चिनिन थालेको बताए। ‘सबै सुविधाबाट बञ्चित अनकण्टार ठाउँमा महारानीको सवारीले धेरै परिवर्तन ल्यायो। त्यो कुरा अहिलेका पिँडीले पनि थाहा पाउनुपर्छ। भावी पुस्ताले पनि थाहा पाउनेगरि स्मारक निर्माण गर्न वडाले बजेट छुट्टायो। निर्माणको प्रकृया अघि बढिरहेको छ,’ चौधरीले भने। उनले निर्माणधीन राइनोपार्कको डिजाइनमा बेलायती महारानीको स्मारक नरहेकाले निकुञ्जको अनुमती प्राप्त गर्नमा ढिला भइरहेको बताए।
मेघौली विमानस्थल नजिकै पाँच वर्षअघि २१ करोड रुपैयाँ लागत अनुमान गरेर ४० फिट लम्बाइ, २० फिट चौडाइको ३० फिट अग्लो गैंडाको प्रतिमासहितको राइनो पार्क निर्माण गर्न सुरु गरिएको थियो। गैंडाको प्रतिमाभित्र पहिलो तल्लामा पर्यटक सूचना केन्द्र, दोस्रो तल्लामा संग्राहलय बनाउने भनिएको थियो। भ्यू टावर, असहाय वन्यजन्तु उद्धार केन्द्रलगायतका संरचनासहित ५० विघा क्षेत्रमा पार्क निर्माण गर्ने भनिएपनि महिनौंदेखि काम रोकिएको छ। चौधरीले अहिलेसम्म प्रदेश सरकारबाट प्राप्त २ करोड रुपैयाँको काम भएको र बाँकी बजेट प्राप्तीका लागि प्रयास भइरहेको बताए।
‘राइनो पार्कका लागि पनि आवश्यक बजेट माग भइरहेको छ। त्यही क्षेत्रमा महारानी एलिजावेथको मूर्ति बनाउन भनेर अनुमति मागिएको हो। वडाले विनियोजन गरेको बजेटले जग निर्माण हुन्छ। मूर्ति बनाइदिने मान्छे पनि भेटिएका छन्,’ उनले भने।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले बेलायतकी महारानी एलिजावेथको मूर्ति निर्माणका लागि अनुमती माग गरेर पत्र आएको बताए। ‘वडाले बजेट नै छुट्टाएको रहेछ। तर हामीले तत्कालै अनुमती दिइहाल्न सक्ने अवस्था छैन। यस विषयमा उपल्लो तहलाई पनि जानकारी गराउनुपर्छ,’ पन्तले भने।
निकुञ्जले वन्यजन्तु, पर्यटनका नाममा शालिक, स्मारक निर्माणभन्दा त्यस्तो बजेट संरक्षणमा खर्च गर्न सुझाव दिँदै आएको छ।
मेघौलीको पर्यटन समितिले राजा महेन्द्र र महारानी एलिजावेथको स्मारक निर्माण गर्न वडालाई प्रस्ताव गरेको थियो।
२०१७ सालमा नेपालका तत्कालीन राजा महेन्द्रले बेलायती महारानीलाई सिकारका लागि यहाँ ल्याएका थिए। तर वडाले एलिजावेथकोमात्रै स्मारक निर्माण गर्ने भनेर योजना अघि सारेको हो।