रुपन्देहीको एक इट्टा उद्योगमा काम गर्ने भारतीय कामदारको कुटपिटबाट मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको सियारी गाउँपालिका वडा नं. ७ हिरापुरस्थित न्यू मनकामना इट्टा उद्योगमा काम गर्ने भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवटको कुटपिटबाट मृत्यु भएको हो।
विहीबार राति करिब ९ बजेतिर उनकै ट्याक्टर चालक कृष्ण केवटसँग भएको आपसी विवादपछि कुटपिट हुँदा उनको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले कुटपिटबाट गम्भीर घाइते भएको केवटको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राती ११ बजेतिर मृत्यु भएको जानकारी दिए।
प्रहरीले घटनामा संलग्न कृष्णलाई राति नै नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।
'सामान्य विवादपछि कुटपिट भएको भन्ने खुलेको छ। उहाँको छातीमा चोट देखिएकाले इट्टाले हानेको आकलन हो। थप अनुसन्धान भइरहेको छ,' डिएसपी कार्कीले भने।