खानेपानी मन्त्री प्रदीप यादवले ९८ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुगेको दाबी गरेका छन्।
बिहीबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा ललितपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।
उनले अबको एक वर्षभित्र शतप्रतिशत नागरिकमा आधारभूत खानेपानी पुर्याइसक्ने घोषणा समेत गरे।
उनले अहिले २७ प्रतिशत नागरिकले मात्र शुद्ध खानेपानी पिउन पाएको उल्लेख गर्दै एक वर्षभित्र ५७ प्रतिशत नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउने गरी काम गरिरहेको बताए।
उनले सरकार जनताका आधारभूत आवश्यकता पूरा गर्न संवेदनशील रहेको बताए।
उनले भने, ‘खानेपानीको क्षेत्रमा हामी काम गरिरहेका छौं। हिजो कसले के काम गर्नुभयो त्यो अलग पाटो हो। तर अब जुन हाम्रो काम हुन्छ। त्यो सबै कामहरू प्रभावकारी रूपमा अगाडि बढ्छ। नेपाल विपद्को जोखिममा रहेको देश भएको हुनाले त्यस अनुसारको डिजाइन होस् भन्ने मैले सोच राखेको छु। त्यसैअनुसार हाम्रो काम पनि अगाडि बढिरहेको छ। अहिले खानेपानीको क्षेत्रमा ठूलो चुनौतीको पनि सामना गर्नुपरेको छ। अहिले हाम्रो मुलुकमा ९८ प्रतिशतन नागरिकलाई आधारभूत खानेपानी सेवा पुर्याएका छौं।’
उनले अगाडि भने, ‘अहिले पनि दुई प्रतिशत जनतामा आधारभूत खानेपानी पुर्याउन सकेका छैनौं। त्यसको लागि हामी निरन्तर लागिपरेका छौं। मलाई विश्वास छ एक वर्षभित्रमा सयप्रतिशत जनतामा आधारभूत खानेपानी पुर्याउँछौं। यो मेरो प्रतिबद्धता पनि छ। अर्को कुरा हामी २७ प्रतिशत नागरिकलाई शुद्ध खानेपानी दिइरहेका छौं। यो पर्याप्त छैन। यसले जनता बिरामी हुने तथा प्रकोपहरू फैलिने खतरा छ। त्यसकारणले गर्दा ५७ प्रतिशत पुर्याउनका लागि हामी लागिपरेका छौं। यो अठोट लिएर म अघि बढेको छु।’
उनले काठमाडौं उपत्यकामा रहेको खानेपानीको समस्या साधानका लागि निरन्तर काम गरिरहको बताए। —न्युज एजेन्सी नेपाल