सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २, हरियाली टोलका अर्जुन नेपाली २७ वर्षका भए। उनी सुन्न सक्दैनन्, बोल्न सक्दैनन्।
उनी सांकेतिक भाषामा कुरा गर्छन्। यस्तो भाषा नजान्नेलाई उनको कुरा बुझ्न कठिन हुन्छ। केही केही कुरा उनको हाउभाउ र इशाराबाट थाहा हुन्छ। उनी कागजमा लेखेर पनि आफ्नो कुरा बुझाउँछन्।
अर्जुन सिलाइ-कटाइको काममा पोख्त छन्। हाल वीरेन्द्रनगरको एउटा टेलर पसलमा काम गर्छन्। धेरैजसो उनी कोट सिउँछन्। एउटा कोट सिउँदा १८ सय रूपैयाँ पारिश्रमिक आउँछ। उनी एक दिनमा तीनवटा कोट सिउन सक्छन्। तर यति काम सधैं हुँदैन।
'एक दिनमा तीन वटा कोट सिउन सकिन्छ तर सिजनमा मात्रै काम धेरै हुन्छ। अरू सिलाइ-कटाइबाट पनि राम्रै आम्दानी हुन्छ,' अर्जुनले भने, 'हाम्रो परिवार ठूलो छ। बचत नभए पनि खर्च चलेको छ।'
अर्जुनको परिवारमा आठ जना छन्। उनकी एक जना दिदी निजी स्कुलमा पढाउँछिन्। परिवारका सदस्यमध्ये अर्जुनसहित सुन्न र बोल्न नसक्ने तीन जना छन्।
अर्जुनले कक्षा १० को पढाइ पूरा गरेका छन्। उनले श्रवण शक्ति नभएका विद्यार्थी पढ्ने स्कुलमा पढेका हुन्।
पारिवारिक पेसा नै सिलाइ-कटाइ भएकाले उनी १४ वर्षको उमेरमै यो काममा लागे। बुबाको आफ्नै पसल थियो। त्यहीँ सिक्दै काम सघाए। यत्तिकैमा पसल बेचेर बुबा उही कामका लागि काठमाडौं गए। अर्जुन अर्काको पसलमा काम गर्न थाले। बुबा कोरोना संक्रमण फैलिएपछि गाउँ नै फर्किए।
अर्जुनलाई अब आफ्नै पसल खोल्ने मन छ। तर व्यवसाय राम्रो बनाउन ग्राहकसँगको संवादमा समस्या हुन्छ कि भन्ने लाग्छ।
'योजना भए पनि अहिल्यै पसल खोलिहाल्ने अवस्था छैन। मेरो भाषा सबैले बुझ्ने र मैले पनि अरूको कुरा बुझ्ने हुँदा मात्रै सजिलो हुन्छ,' उनले भने।
अर्जुनजस्तै बोल्न र सुन्न नसक्ने अर्का व्यक्ति हुन् ४९ वर्षीय हरिप्रसाद सिग्देल। जन्मेदेखि नै बोल्न नसकेका उनी पाँच वर्षको उमेरमा बिरामी परे। अलिअलि सुन्ने शक्ति पनि गुम्यो।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८, खजुराका बासिन्दा हुन् हरिप्रसाद। उनले सात कक्षासम्म पढे। त्यसपछि नेपाली सांकेतिक भाषा सिके। १२ वर्ष त्यसकै प्रशिक्षक भए। सुर्खेतमा उनकै पहलमा बहिरा संघको सुर्खेत शाखा स्थापना भयो।
यसपछि उनले ५० हजार रूपैयाँ लगानीमा मिठाइ पसल सुरू गरे। त्यही पसलबाट सात जनाको परिवारको खर्च चलाए। पाँच वर्ष मिठाइ पसल चलाएपछि 'अर्डर सप्लायर्स' सुरू गरे।
यसरी २७ वर्षदेखि व्यवसायमा सक्रिय उनलाई कुल लगानी कति पुग्यो भन्ने यकिन छैन।
'ऋण छ, तिरिसकेपछि मात्र कुल लगानी थाहा होला। अहिले सटरको भाडा र ऋणको किस्ता तिरेर परिवारको सबै खर्च चलेको छ। छोराछोरी पढ्दै छन्।'
पसलमा आउने ग्राहकसँग संवाद गर्न भने निकै कठिन हुने गरेको उनले बताए। ग्राहकले संकेतबाट बुझ्न नसकेको कुरा उनी कागजमा लेखेर देखाउँछन्। बिदाको समयमा छोराछोरीले सघाउँछन्।
'सरकारी तवरबाट रोजगारी नहुने भएपछि व्यवसायमा लागेको हुँ। अहिलेसम्म ठिकै छ,' उनले भने, 'मेरोजस्तो अपांगता भएका व्यक्तिलाई ग्राहकसँग कुरा गर्न चाहिँ समस्या हुन्छ। स्कुल तहमा सांकेतिक भाषा पढाउने हो भने सबैलाई सजिलो हुन्छ।'
वडा नम्बर ९, नेवारेकी विमला अधिकारी पनि बोल्न र सुन्न सक्दिनन्। आफ्नो गुजारा चलाउन उनले हालै टेलरिङ व्यवसाय सुरू गरेकी छन्।
विमलाले काठमाडौंमा सिलाइ–कटाइ तालिम लिएकी हुन्। काठमाडौंमै रोजगारीको अवसर पनि खोजिन्, तर आफ्नो सीप अनुसार पाइनन्। फर्केर उनले आफ्नै ठाउँमा अर्काको पसलमा काम गरिन्। अनुकूल भएन। अन्ततः आफ्नो घरनजिकै टेलरिङ व्यवसाय सुरू गरेकी हुन्। उनी खेलौना पनि बनाउँछिन्।
'आफ्नो काम भर्खरै सुरू गरेकी हुँ। थोरै काम आएको छ, विस्तारै बढ्ने आशा छ,' उनले भनिन्।
विमला हाउभाउ र हातको संकेतकै भरमा धेरै कुरा बुझ्छिन्, बुझाउँछिन्। आफूले नबुझेको र बुझाउन नसकेको कुरा कागजमा लेखेर काम चलाउँछिन्।
उनी पढ्ने समयमा वीरेन्द्रनगरमा बोल्न र सुन्न नसक्ने विद्यार्थी पढाउने स्कुलमा पाँच कक्षासम्म मात्र पढाइ हुन्थ्यो। उनको पढाइ पनि त्यति नै भयो।
भन्छिन्, 'भाषाको समस्याले गर्दा परिवारमा पनि लामो कुरा गर्न सकिँदैन। सरकारले स्कुलदेखि नै सबैलाई सांकेतिक भाषा पढाउनुपर्छ। यसो गर्दा सबैलाई सजिलो हुन्छ।'
विमलाले पसल सुरू गर्न ५० हजार रूपैयाँ लगानी गरेकी छन्। सिलाइ मेसिन र अन्य केही सामग्री अपांगता भएका व्यक्तिका हितमा काम गर्ने एउटा परियोजनाबाट अनुदानमा पाएकी हुन्।
राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माका अनुसार बोल्न, सुन्न नसक्ने थोरै व्यक्ति मात्र अवसर पाएर आत्मनिर्भर बनेका छन्न्।
'सुविधासम्पन्न ठाउँमा बसेर पढ्न र केही सीप सिक्न पाएका थोरै व्यक्ति रोजगारी र आफ्नो उद्यम गरेर आत्मनिर्भर बनेका छन्,' उनले भने, 'सीप सिक्ने अवसर पाउने हो भने सबैले उद्यम गर्न सक्छन्। अपांगता भएका व्यक्तिलाई राज्यले नै परनिर्भर बन्न बनाएको छ।'
राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशमा ८ हजार ८३३ जना सुनाइ सम्बन्धी अपांगता भएका व्यक्ति छन्। तीमध्ये चार हजार २४ जना सुन्न र बोल्न नसक्ने छन्। सुर्खेतमा मात्र सुनाइ सम्बन्धी अपांगता भएका व्यक्ति २०३७ जना छन् जसमध्ये ८९७ जना सुन्न सक्दैनन्।
कर्णालीमा यस्ता व्यक्तिको संख्या राष्ट्रिय जनगणनाको तथ्यांकले देखाएभन्दा बढी हुन सक्ने विष्णुको अनुमान छ।
(यो स्टोरीका निम्ति हामीले सांकेतिक भाषाका दोभाषे गोरख शाहीको सहयोग लिएका छौं।)