प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था 'माइती नेपाल' को गौशालास्थित केन्द्रीय कार्यालयमा सोमबार स्थलगत अवलोकन गरेका छन्। सो क्रममा उक्त संस्थाको अक्षय कोषमा एक करोड रूपैयाँ सहयोग गर्ने घोषणा पनि उनले गरे।
चेलिबेटी बेचबिखनविरूद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइराला सहित पदाधिकारी, आश्रित महिला र बालबालिकासँग प्रधानमन्त्री ओलीले छलफल गरेका थिए। त्यसपछि सरकारले नै गर्नुपर्ने काममा यस संस्थाले सघाइरहेकाले भन्दै अक्षय कोष वृद्धि गर्ने घोषणा गरेका हुन्।
प्रधानमन्त्री ओलीले अवलोकनमा क्रममा देखेका र सुनेका समस्या समाधानका लागि सरकारका तर्फबाट गम्भीरतापूर्वक पहल गर्ने विश्वास दिलाउँदै सो संस्थाका काम र प्रयासप्रति प्रशंसा व्यक्त गरे।
नागरिकको रक्षा र हेरचाहको जिम्मेवारी सरकारको भए पनि विविध सीमा र कतिपय अप्ठ्याराका कारण गर्न नसकिएका कामलाई यस्ता संस्थाले निरन्तरता दिएकामा उनले सन्तोष व्यक्त गरे।
प्रधानमन्त्री ओलीले संस्थामा उद्धार गरी ल्याइएका महिलाका लागि सञ्चालित पुनः स्थापना गृह, बाल संरक्षण गृह, एचआइभी उपचारको एआरटी केन्द्र, टेरेसा एकेडेमी स्कुल लगायत अवलोकन गरेका थिए।