गत पुस १९ गते हस्तबहादुर रखालको एउटा गोरू बाघले मार्यो। बर्दिया राष्ट्रिय निकुञ्जको छेवैमा पानी खुवाउन लगिएको गोरू बाघले मारिदिएपछि हस्त बहादुरलाई जोडी बनाउन अर्को गोरू किन्नुपर्ने बाध्यता आइलाग्यो।
उनको घर बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रदेखि केही मिटर मात्र छेउको गाउँ तेलपानी हो। सुर्खेतको बराहताल गाउँपालिका–१ मा पर्ने तेलपानी गाउँ नै निकुञ्जको मध्यवर्ती क्षेत्र पर्छ।
'पानी खुवाउन लिएर चरन चर्दै आउलान् भनेर गोरू निकुञ्जमा छोडेको हो। पछि एउटा मात्र गोरू फर्किएपछि बाघले मारेको थाहा भयो,' हस्तबहादुरले भने, 'निकुञ्जको आडमा बसेका हामीले गाईवस्तु चराउन अन्यत्र लैजान सक्दैनौं। हामीलाई पशु र बाली जोगाउनै मुस्किल छ।'
रखाललाई मात्र होइन, मध्यवर्ती क्षेत्रमा पर्ने तेलपानी गाउँलाई नियमित वन्यजन्तुको आतंक सहनुपरेको छ। आफ्नो बाली र पशुवस्तु जोगाउन गाउँले र वन्यजन्तुबीच आपसी द्वन्द्व चल्छ। बर्खाको समयमा बाली जोगाउन किसान रातभर जाग्राम बस्नुपर्छ।
'गोठमै पसेर बाघले पशु पल्टाउँछ। बर्खाको अधिकांश बाली बँदेलले खाएर सक्छ,' तेलपानी गाउँकी गंगादेवी रखाल भन्छिन्, 'जनावर आउँछ भनेर खेती नगरी बस्न पनि भएन। निकुञ्जको नजिक बस्दा बाघले हामीलाई मारे पनि फरक नपर्ने रहेछ। हामीले त जनावर मार्यो भने सजाय हुन्छ।'
स्थानीय देवीराम वलीका अनुसार निकुञ्जबाट गाउँ पसेको बाघले गत कात्तिकभित्र मात्र किसानका तीस वटाभन्दा बढी बाख्रा मारिदिएको थियो। त्यसको क्षतिपूर्तिका लागि गाउँका अगुवाहरू अहिले पनि प्रक्रियामा रहेको वलीले बताए।
गाउँमा सडक पूर्वाधारपछिको सबभन्दा ठूलो समस्याका रूपमा निकुञ्जबाट आउने वन्यजन्तुको आतंक भएको उनी बताउँछन्।
'हामीलाई वन्यजन्तुले निकै सताएको छ। बाघले पशुवस्तु खाइदिन्छ, बँदेल आएर बालीमा नोक्सान गर्छ,' वलीले भने, 'बर्खामा रातभर नसुतेर बाली जोगाउनुपर्छ। बारीमा छाप्रो हालेर हामी जागा बस्छौं। तैपनि धेरथोर बाली नष्ट गरेकै हुन्छ।'
वलीका अनुसार सडक पूर्वाधार, वन्यजन्तुको आतंक जस्ता समस्याका कारण गाउँमा भएको बस्ती सर्ने क्रम निरन्तर चलेको छ। २०७४ सालपछि ३० घरपरिवार बसाइ सरेका छन्। यहाँको बस्ती बढीजसो बर्दिया सर्ने गरेको उनले बताए।
'अहिलेसम्म नियमित यातायात चल्ने सडक छैन। वन्यजन्तुले लगाएको बाली सबै भित्र्याउन दिँदैन,' उनले भने, 'यही भएर यहाँका परिवार बर्दिया सर्ने गरेका छन्। भेरी नदीमा पुल, नियमित चल्ने सडक र जनावरबाट बाली जोगाउन जग्गामा तारबार गरिदियो भने अधिकांश फेरि गाउँ फर्किन्छन्।'
वन्यजन्तुले पुर्याएको क्षतिपछि सरोकारवाला निकायले दिने राहत पनि पर्याप्त नभएको स्थानीय बताउँछन्। निकायले क्षतिको मूल्यांकनका आधारमा राहत दिनुपर्ने उनीहरूको भनाइ छ।
गएको बर्खामा टीकाराम कामीले आफूसँग भएको दुई कट्ठा जमिनमा मकै लगाएका थिए। उनको त्यो बाली बँदेलले नष्ट गर्यो। उनले चार हजार पाँच सय रूपैयाँ क्षतिपूर्ति पाए।
नजिकैका लक्ष्मण बडुवालको साढे तीन कट्ठा जमिनमा भएको मकै बाली बँदेलले नष्ट गरेको थियो। उनले पनि चार हजार पाँच सय रूपैयाँ मात्र क्षतिपूर्ति पाए।
थोरै जग्गा भएका टीकारामलाई क्षति बराबरको राहत पाएको महसुस भयो। लक्ष्मणले भने जसोतसो चित्त बुझाए।
'टीकारामलाई मिलेको राहत र उत्पादन हुने अन्नको हिसाब गर्दा बराबर जस्तै भएको थियो। मैले भने उत्पादन हुने अन्न भन्दा कम क्षतिपूर्ति पाएँ,' लक्ष्मणले भने, 'निकुञ्जले जनावरले बाली र पशु जे खान्छ खान देऊ, राहत पाउँछौ भन्दा हामीले मानेकै छौं। तर क्षतिको मूल्यांकनका आधारमा राहत दिनुपर्छ भन्ने हाम्रो माग हो।'
निकायले दिने क्षतिपूर्ति सबैलाई एकनासको हुँदा धेरै क्षति भएका किसान मर्कामा परेको हस्तबहादुर रखालले बताए।
थोरै जग्गा हुनेलाई राहतले सहज भएको छ। तर धेरै जग्गामा खेती गरेका किसानलाई निकुञ्जको नियमकै कारण समस्या भइरहेको उनको भनाइ छ।
बाली र पशुमा वन्यजन्तुले पुर्याएको क्षतिपछिको राहतमा 'हुँदै नहुनुभन्दा त्यही भए पनि ठीक छ' भनेर आफूले चित्त बुझाउने गरेको वलीले बताए।
राष्ट्रिय निकुञ्ज छेउमा रहेको तेलपानी गाउँमा हालसम्म वन्यजन्तुबाट मानवीय क्षति भने नभएको स्थानीय बताउँछन्।
'हामी आफू जोगिएर बरू जनावरलाई सम्पत्ति मास्न दिन्छौं, तर उचित राहत हुनुपर्यो,' बडुवालले भने, 'होइन भने हामी र हाम्रो सम्पत्तिको सुरक्षाका लागि राज्यबाट व्यवस्था गरिदिनुपर्यो।'