चिसोको पर्वाह नगरी भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि बृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै एक महिना लामो माधव नारायण मेलाको ब्रत सुरू गरेका छन्।
नेपाल संवतको आठौं शताब्दीदेखि सुरु भएका एक महिने माधवनारायण ब्रत एवं मेला हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्छ।
सोमबार बिहान हनुमानघाटस्थित त्रिवेणी धाममा स्नान गरी, सूर्यलाई अर्घ दिएर माधव नारायणको पूजा गरेपछि ब्रत सुरू भएको छ।
माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामाग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ।
ब्रतालुले खाली खुट्टा पैदल नै तीलमाधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरि ईन्द्रेश्वर महादेवको दर्शन गरि अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरि जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्धादशीमा चाँगुनारायण शंखदहमा स्नानगरि कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पुर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर एक महिने ब्रत समापन गर्ने परम्परा रहेको छ।
माघ शुक्ल पूर्णिमाको दिन विहान त्रिवेणी खोलामा आएर स्नान गरि माधवनारायणको पुजा गरेर होम आहुती गरेपछि भक्तपुर नगरका बिभिन्न देवालयहरुको परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर ब्रत समापन गर्ने परम्परा रहेको छ।
तस्बिरहरूः