गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले संविधानको भावना अनुसारको अधिकारलाई संकुचन गर्न नहुने बताएका छन्।
एनआरएनएद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले आफुहरूले संविधानको प्रावधान अनुसारकै नागरकिता पाउनुपर्ने बताए।
संविधानको व्यवस्था अनुसारको नागरिकताको लागि धेरै कानुन संशोधन गर्नुपर्ने भन्दै उनले अहिले दुईवटा मात्र कानुन संशोधन भएकाले धैर्य गर्न समेत आग्रह गरेका छन्।
'चल अचल सम्पति, जग्गा किनबेचदेखि हाम्रा साथीहरूले विदेशमा प्राप्त गरेका डाक्टर, इन्जिनयिर, अधिवक्ता लगायतको लाइसेन्सको कार्यन्वनका कुरा बाँकी छन्,' उनले भने, 'सरकारले १० वर्षको लागि निःशुल्क भिसा दिने भनेर मात्र पुग्दैन। आफ्नै देशमा आउँदा भिसा लाग्नुपर्ने नियमकै अन्त्य हुनपर्छ।'
आफुहरू सरकारसँग संवादमै रहेको भन्दै अहिलेको निर्णयलाई आंशिक रूपमा समर्थन गरेर अघि बढ्न पर्ने उनको भनाई छ।
अब गैरआवासीय नेपालीले बैंक खाता, डिम्याट खाता खोल्नका लागि नेपाली नागरिकले सरहनै पाउने अध्यक्ष केसीको भनाई छ।
कुनै नाता नजोडिएकालाई त लगानीको लागि सरकारले रेड कार्पेट बछ्याएर स्वागत गरिरहेको भन्दै उनले आफ्ना नागरिकलाई अधिकार नदिन मिल्छ भनेर प्रश्न गरे।
एक फरक प्रसँगमा केसीले वर्तमान कार्यसमितिको वैधानिकतालाई लिएर गरिएका प्रश्नको कुनै औचित्य नहुने बताए।
'११ औं अधिवेशन आफैमा स्वायत्त छ भनेर सर्वोच्च अदालतले फैसला गरिसकेको छ। अब १२ औं अधिवेशन अक्टोवर ११, २०२५ मा हुन्छ,' उनले भने, 'अब सबै मिलेर १२ औं अधिवेशन सफल पार्ने हो। त्यो बाहकेका अरू भ्रममा नपरौं भनेर भन्न चाहान्छु।'