काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मी टोलीको संलग्नतामा कलेजो प्रत्यारोपण भएको एक वर्ष पुगेको छ।
कलेजो प्रत्यारोपण सर्जन प्रा.डा.रमेशसिंह भण्डारीसहितको टोलीले गत वर्ष पुस २७ गते कलेजो प्रत्यारोपण गरेको थियो।
एक वर्षको अवधिमा अस्पतालमा ७ जनामा कलेजो प्रत्यारोपण गरिएको कलेजो प्रत्यारोपण सर्जन डा. भण्डारीले बताए।
पछिल्लो पटक ५४ वर्षीय आमालाई ३२ वर्षीय छोरीले दिएको कलेजो प्रत्यारोपण भएसँगै सातौं प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको हो।
त्रिवि शिक्षण अस्पतालमा २०७६ जेठ १७ गते भारतीय विशेषज्ञ टोलीको सहायतामा पहिलो प्रत्यारोपण गरिएको थियो। त्यसयता अस्पतालमा १० जनाको प्रत्यारोपण गरिए पनि ती सबै विदेशी विशेषज्ञको सहयोगमा भएको थियो। एक वर्षको समयमा भएका ७ प्रत्यारोपणमा भने विदेशी विशेषज्ञ ल्याइएको छैन।
त्रिवि शिक्षण अस्पतालमा सुविधासम्पन्न प्रविधि रहेकाले कलेजो प्रत्यारोपणका लागि विश्व स्तरको सेवा दिन आफुहरू तयार रहेको प्रा.डा.भण्डारीले बताए।
उनले अहिले पनि कलेजो प्रत्यारोपणका लागि विदेश जाने परम्परा नरोकिएको भन्दै त्रिवि शिक्षण अस्पतालमा आएर एकपटक बुझ्न समेत आग्रह गरेका छन्।
'त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुन्छ भन्ने थाहा नभएर पनि कति विदेश गएका हुनसक्छन्। म उहाँहरूलाई के आग्रह गर्छु भने त्रिवि शिक्षण अस्पतालमा आएर प्रत्यारोपणबारे नबुझिकन बाहिर नगइदिनुहोला,' उनले भने, 'नेपालमै सफलतापूर्वक कलेजो प्रत्यारोपण हुन्छ भन्ने जानकारी जनतामा नहुँदा एकातिर बिरामीहरू विदेश गइरहेका छन्। अर्कोतिर हामीले क्षमता अनुसारको काम गर्न पाएका छैनौं।'