काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलनको मुद्दामा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने उपस्थित हुने तय थियो।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले सूर्यदर्शन सहकारीको बचत रकम अपचलन कसुरमा गत बिहीबार ६५ लाख रूपैयाँ बिगो मागदाबी गरेको थियो। बिगो बुझाएर धरौटीमा छुटेका रवि आइतबार उपस्थित हुने भन्दै शुक्रबार रास्वपा नेता दीपक बोहराले सामाजिक सञ्जालमा लेखे।
त्यसअनुसारै रवि आइतबार बिहान अन्दाजी ९ बजेतिर अदालतमा उपस्थित भए।
कुनै पनि अदालतमा इजलास ११ बजेदेखि मात्रै बस्छ। हरेक इजलास गोलाप्रथाको माध्यमबाट तोकिन्छ। स्वर्णलक्ष्मी सहकारीमा प्रतिवादी रहेका रवि आफै उपस्थित भएपछि उनको थुनछेक पनि गर्नुपर्ने अवस्था थियो। गोलाप्रथाबाट इजलास नम्बर ६ न्यायाधीश माधवप्रसाद अधिकारीको भागमा पर्यो। ११ बजेपछि जिल्ला अदालतमा इजलास पनि बस्यो। बयान भने सुरू भएन।
न्यायाधीश अधिकारीले मिसिल अध्ययन लगायत काम सुरू गरे। यता रवि इजलासमा उपस्थित भइसकेका थिए।
करिब साढे १२ बजे रविलाई कठघरामा उभ्याइयो। बयान क्रममा अरू कसैलाई प्रवेश दिइएको थिएन। रविका तर्फबाट बहस गर्न उपस्थित पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र सुशील पन्त त्यहीँ बसे।
अदालतमा रवि उपस्थित भएको थाहा पाएरै होला, इजलास बाहिर थुप्रै वकिलहरूको चहलपहल थियो। हल्लाखल्ला नै हुने देखेर सुरक्षाकर्मीले पनि त्यहाँ छेकबार लगाइदिए।
सरकारी वकिलको कार्यालय काठमाडौंले पुस २१ गते अदालतमा मुद्दा दायर गरेको थियो। ३९ जनालाई प्रतिवादी बनाएर दर्ता गरेको यो मुद्दामा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो माग गरिएको थियो।
रवि लामिछाने गोर्खा मिडिया नेटवर्कमा २०७७ चैत २० गतेदेखि २०७९ असार १ गतेसम्म प्रबन्ध निर्देशक रहेको अवस्थामा उनलाई पनि प्रतिवादी बनाइएको थियो। उनी र गोर्खा मिडियाका सञ्चालक जिबी राईको हकमा पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रूपैयाँ बिगो मागदाबी गरिएको थियो।
मुद्दा दर्ता भए पनि रविको कास्की अदालतमा थुनछेक जारी भएकाले काठमाडौंमा रहेका दुई जना प्रतिवादीको हकमा मात्रै थुनछेक गरिएको थियो।
प्रतिवादी सुनिता नेवासँग ४ लाख र कमल लामासँग ३ लाख रूपैयाँ धरौटी माग गरिएको थियो। उनीहरूले धरौटी बुझाएर पुस २३ गते छुटे।
आइतबार रविको बयान नै लम्बियो। दिउँसो १ बजेदेखि २ बजेसम्म हुने खाजा समयमा पनि उनको बयान जारी रह्यो। इजलासले निरन्तर बयान लिइरह्यो। साढे ३ बजेसम्म इजलास वकिलहरूले भरिन थालेको थियो। त्यति बेला रविले पनि इजलास अधिकृतसँग आफ्नो बयान रूजु गरिरहेका थिए।
सरकारी वकिलको कार्यालय काठमाडौंमा पनि क-कसले बहस गर्ने भन्ने विषयमा छलफल भइरहेको थियो। सरकारी वकिल प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा, जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल लगायतसहित करिब ८-१० जनाले नै बहस गर्ने तयारी गरिरहेका थिए। सरकारी वकिलहरू भने कोही पनि अदालतमा उपस्थित थिएनन्।
रवि पक्षका वकिलहरू आइतबारै बहस सकेर आदेश दिनुपर्ने पक्षमा थिए। त्यसैले सरकारी वकिलहरूलाई बोलाउनैपर्ने पक्षमा थिए।
रवि पक्षबाट बहस गर्न पुगेका अधिवक्ता राजेन्द्र सेढाईले सरकारी वकिलहरू उपस्थित नभएको भन्दै इजलासमा गुनासो समेत पोखे।
'श्रीमान, जिल्ला अदालतमा प्रतिवादी उपस्थित भए/नभएको पनि सरकारी वकिलले जानकारी लिने गरेको छ। उनीहरूको बयानबारे पनि जानकारी त लिन्छ। तर वकिल बहसका लागि उपस्थित नै नहुने चलन छ,' सेढाई भने।
यसरी गुनासो गरेपछि न्यायाधीश अधिकारीले रूजु गरिरहेका रवितर्फ देखाउँदै भने, 'त्यहाँ पनि त काम हुँदैछ।'
त्यसपछि सेढाईले अदालतमा हुँदै आएको सरकारी वकिलको प्रवृत्तिबारे जानकारी दिएको बताए। कर्मचारीले सरकारी वकिललाई बहसमा उपस्थित हुन सम्पर्क समेत गरे। त्यसपछि भने एक जना सरकारी वकिल उपस्थित भए। उनी थिए जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता चन्द्रप्रसाद सञ्जेल।
सञ्जेल अदालतमा उपस्थित भए पनि थुनछेक बहस गर्ने मनस्थितिमा थिएनन्। उनले रविले अदालतमा दिएको बयान अध्ययन गर्नुपर्ने जिकिर गरे।
'यहाँ भएको बहस अध्ययन गर्न समय पाऊँ श्रीमान,' सञ्जेलले भने।
अपराह्न ४ बजिसकेको हुँदा न्यायाधीश अधिकारी पनि थुनछेक बहस सुरू गर्न सकिएला कि नसकिएला भन्नेमा अलमल थिए।
त्यसपछि कति समय लाग्नेबारे न्यायाधीशले सोधे, 'बयान हेर्न २० मिनेट जति लाग्ला। समय पाए हुन्थ्यो।'
इजलास अबेरसम्म राखेर आदेश दिने वा सोमबार मात्रै सुरू गर्ने भन्ने विषयमा प्रवेश गरिसकेको थियो।
त्यसैबीच रविले न्यायाधीश अधिकारीसमक्ष अदालतमा आफै उपस्थित भएको भन्दै बहस सुरू गरेर आजै सकाउन अनुरोध गरे।
'श्रीमान यो मेरा लागि धेरै नै महत्त्वपूर्ण छ। बहस सुरू गरौं श्रीमान, मेरो विनम्र अनुरोध छ,' उनले अनुरोध गरे, 'समय तोकेरै भए पनि बहस सुरू गरौं। म आफै हाजिर भएको हुँ श्रीमान।'
यसबीच उनका अधिवक्ता सुशील पन्तले सरकारी वकिल सञ्जेलसँग छलफल गरेर तीन वटा कुरा राखे।
पहिलोः बहस सुरू गरौं। राति ९/१० बजेसम्म बसेर पनि बहस गरेको उदाहरण छ। हामी तयार छौं। सुरू गरौं।
दोस्रोः प्रतिवादी लामिछाने आफै उपस्थित भएका हुन्। भोलि पुनः आउनेछन्।
तेस्रोः प्रहरी आफैले छाडेको व्यक्ति हो। कास्की अदालतले धरौटीमा छाड्न आदेश दिएपछि आफै उपस्थित हुन जाऊ भनेर वादी पक्षले पठाएको हुँदा परिवार वा वकिलको जिम्मामा छाडिपाऊँ। सर्वोच्चले छाडेको उदाहरण छ, जिल्लामा पनि यही गरिपाऊँ।
न्यायाधीश अधिकारीले एक जनालाई मात्रै छुट दिन नसकिने भने। जिल्ला अदालतमा हाजिर हुन आएका प्रतिवादीको हकमा थुनछेक बहस नसकिएमा परिवारको जिम्मा लगाउने प्रचलन नरहेको पनि उनले बताए।
न्यायाधीश अधिकारी केहीबेरका लागि इजलासबाट निस्किएका थिए। फर्किएपछि उनले थुनछेक बहस गर्ने वा नगर्ने भन्ने विषयबारे सोचिरहेका जस्ता देखिए।
रविका अधिवक्ता रमण श्रेष्ठले पनि प्रहरीले नै छाडेको व्यक्ति भएकाले आफूहरू आजै बहस गर्न तयार रहेको बताए।
'प्रहरीले नै छाडेको हो नि। हामीलाई कुनै आपत्ति छैन। ९/१० बजेसम्म बसेर बहस गर्न पनि हामी तयार छौं,' उनले भने, 'परिवार र बारलाई जिम्मा दिएको उदाहरण पनि छ।'
न्यायाधीश अधिकारीले घडी हेर्दै सोधे, 'कति समयमा बहस सकाउनुहुन्छ?'
अधिवक्ताद्वय श्रेष्ठ र पन्तले भने, 'हामी १५/२० मिनेटमै सकाउँछौं। हामी केहीबेरमै फाइल हेरेर गर्छौं। सरकारी वकिलले बयान हेर्नुपर्यो भनेर माग गर्नुभएको कुरा जायज हो। तर कुनै व्यक्तिमाथि असर पर्न भएन भन्ने हो।'
यसो भनेपछि न्यायाधीश अधिकारी केहीबेरका लागि बाहिर निस्किए।
फर्किएपछि उनले भने, 'बहस सुरू गरौं।'
त्यसपछि इजलासमा केहीबेर हल्लाखल्ला भयो। बहस सुरूसार गर्नेबारे इजलास अझै अलमल थियो। केहीबेरमा फेरि न्यायाधीश अधिकारीले सोमबार मात्रै सुरू गर्नुपर्ने आदेश गरे।
उनले रविलाई हिरासतमा राख्ने वा परिवारको जिम्मामा दिने भन्नेबारे चाहिँ निर्णय दिएनन्। सरकारी वकिललाई पनि सोमबार १० बजे नै उपस्थित हुन भनेर आदेश दिए।
यसपछि सहायक न्यायाधिवक्ता सञ्जेल पनि त्यहाँबाट हिँडे।
अन्तिममा न्यायाधीश अधिकारीले 'मैले आदेश गर्ने भएँ' भनेर इजलास अधिकृतलाई टाइप गर्न लगाए।
आदेश टाइप भएपछि न्यायाधीशले भने, 'पहिले जे हुँदै आएको थियो, त्यही नै आदेश गरेँ।'
अर्थात्, पहिलेदेखि नै 'हेर्दाहेर्दै' मा रहेको मुद्दामा प्रतिवादीलाई हिरासतमै पठाउने गरिएको हुँदा त्यसैलाई निरन्तरता दिएर न्यायाधीशले आदेश गरेका हुन्।
यसपछि कठघरामा उभिएका रविले हात जोड्दै भने, 'श्रीमान आदेश स-सम्मान स्वीकार गर्छु।'
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा लगिएको छ।
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी/सेतोपाटी