नेपाल पत्रकार महासंघले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङका गतिविधि सामाजिक रूपमा दुरी र द्वन्द्व बढाउने खालका रहेको निष्कर्ष निकालेको छ।
सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन प्रतिवेदनमा समेटिएका विषयहरू सार्वजनिक गर्दै पत्रकार महासंघले मेयरका गतिविधिले पछिल्लो समयमा धरानका सञ्चारमाध्यम र प्रशासनिक प्रणालीमा गम्भीर चुनौती उत्पन्न गरेको देखिएको उल्लेख गरेको हो।
पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय कमल रिमाल र शंकर खरेल, महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्का, जिल्ला शाखा सुनसरीका अध्यक्ष सन्तोष काफ्ले र वरिष्ठ पत्रकार हर्ष सुब्बा संलग्न मिसनले सबै पक्षसँग छलफल गरी तयार पारेको स्थलगत प्रतिवेदनका मुख्यमुख्य बुँदा महासंघले सार्वजनिक गरेको छ।
पत्रकार गोपाल दाहालले खोज पत्रकारिता केन्द्रका लागि 'हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान' समाचार लेखेका थिए। त्यसपछि मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत पत्रकारलाई धम्की दिएका थिए।
यसबारे अध्ययन गर्न पत्रकार महासंघले टोली पठाएको थियो।
उक्त समितिले दिएको प्रतिवेदनमा प्राप्त तथ्यहरू समावेश गरिएको छ। जसमा धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राईका गतिविधिहरू सामाजिक रुपमा दुरी र द्वन्द्व बढाउने खालका रहेको पाइएको उल्लेख छ।
साथै मेयर राईले आफ्नो आलोचना गर्नेहरू, नगरमा भएका बेथितिबारे समाचार लेख्नेहरूलाई गाली बेइजती गर्ने, समर्थकहरूबाट धम्की दिन लगाउने, भौतिक आक्रमणसम्म गर्ने र थप समाचारहरू लेख्न नसक्ने बनाउनेसम्मका कार्यहरू भइरहेको देखिएको उल्लेख छ।
नगर प्रमुखबाट आफ्नो राम्रो कामको पक्षको कुरा लेखाउने, भिडियो बनाउने काममा युट्युवरहरूलाई प्रयोग गरेको पाइएको छ भने व्यावसायिक पत्रकारहरूलाई निशाना बनाउने काम गरेको देखिने र जबाफ दिन अनुकूल प्रश्न नगर्नेलाई प्रमुख राईले दलको झोले पत्रकार भनेर गाली गर्ने गरेको देखिने प्रतिवेदनमा समावेश छ।
नगरका सूचनाहरू नदिने, पत्रकारहरूसँग सम्पर्कमा आउन नचाहने, सामाजिक सञ्जालमार्फत नगर प्रमुखले पत्रकार र उनका परिवारलाई पीडा हुने गरी चुनौतीको भाषामा लेख्ने, भिडियो सामग्रीहरू बनाउने कार्यले गोपाल दाहाललगायत पीडित पत्रकारका परिवारका सदस्यहरू मानसिक तनावमा रहेको पाइएको प्रतिवेदनमा समावेश छ।
मेयर राईका गतिविधिले पछिल्लो समयमा धरानका सञ्चारमाध्यम र प्रशासनिक प्रणालीमा गम्भीर चुनौती उत्पन्न गरेको देखिएको महासंघले जनाएको छ। मेयर राईका विवादास्पद भूमिकाले प्रशासनिक पारदर्शीता, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरूलाई गम्भीर रूपमा प्रभाव पारेको देखिएको महासंघ महासचिव रामप्रसाद दाहालले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मेयर राईले अधिकार दुरुपयोग गर्दै आफूलाई कानुनभन्दा माथि राख्न खोजेको देखिएको, सामाजिक सञ्जालमा उनको गलत कार्यको समाचार लेख्ने पत्रकारहरूलाई लक्षित गर्दै अपशब्द प्रयोग गर्नुका साथै धम्कीपूर्ण सामग्री सार्वजनिक गरेको र आफ्ना समर्थकहरूलाई पनि त्यस कामका लागि हौसाएको पाइएको निष्कर्ष महासंघको छ।
‘पत्रकार गोपाल दाहाललाई ज्यान मार्नेसम्मको धम्की दिइएको घटनाले पत्रकारिता तथा पत्रकारको सुरक्षा र स्वतन्त्रता जोखिममा परेको प्रष्ट पार्दछ। अझ पत्रकारहरूको परिवार पनि मानसिक तनाव र धम्कीको सामना गर्न बाध्य भएको पाइयो। यसबाट संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन भएको देखिन्छ। नगर प्रमुख राईले जिल्लाको अनलाइन मिडिया एसोसिएसनमार्फत आफ्नो पक्षमा प्रचारप्रसार गर्ने रणनीति अपनाएको र मूलधारका मिडिया तथा पत्रकारलाई बेवास्ता गरेको पाइयो,’ महासंघको निष्कर्ष छ।
महासंघले मेयरको कार्यभार सम्हालेलगत्तै मेयर राईले गरेको श्रमदानको अभियानलाई सकारात्मक मान्न सकिने पनि उल्लेख गरेको छ। तर धरानको विकासका लागि श्रमदानमार्फत संकलन गरेको रकम उपमहानगरपालिकाको खातामा जम्मा नगरी निजी खातामा राखेर आफूखुसी निकासा गरेकाले समाचारको विषय बनेको मात्र होइन स्थानीय सरकारको आर्थिक कारोबारमा पारदर्शीताको गम्भीर प्रश्न उठेको महासंघको भनाइ छ। साथै यसबारे राज्य संयन्त्रले छानबिन गर्नुपर्ने देखिने महासंघले उल्लेख गरेको छ।
यसबारे महासंघले गृहमन्त्री र सूचना तथा सञ्चार प्रविधि मन्त्रीलाई भेटेर प्रतिवेदन हस्तान्तरण गर्ने तयारी गरिरहेको महासचिव दाहालको भनाइ छ। पत्रकारलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षणसमेत महासंघले गराएको छ।
यस्तो छ विज्ञप्ति: