पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाएका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अरूबेला मंसिर २८ सम्म अधिवेशन आह्वान गरिएको तर यसपालि पुस सकिन लाग्दासम्म संसद नबोलाइएको भन्दै आपत्ति जनाएका हुन्।
'म सभामुख हुँदा पनि मंसिर २८ सम्म संसद सुचारु भएको छ। यत्ति ढिला बोलाउने कुरा भएको छैन। के कारणले संसद नबोलाइएको हो?,' उनले भने।
संसद बोलाउन ढिला भएकोप्रति जनताहरूले पनि बुझ्न चाहेको बताए।
उनले संसद कुनैपनि देशको महत्वपूर्ण संस्था हुने र यसले सुशासनदेखि धेरै कुराको सन्देश प्रवाह गर्ने जिकिर गरे। उनले संसदबाट राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखको जन्म हुने भएकाले संसदलाई बन्द गर्न नहुने बताए।
'जनसाधारणलाई पनि खुल्दुली छ तर लामो समय बन्द गर्नुको कारण पत्ता लागेको छैन,’ उनले भने। (न्युज एजेन्सी नेपालबाट)