स्वर्णलक्ष्मी बहुउदेश्यीय सहकारीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश माधव अधिकारीको इजलासमा परेको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयान र त्यसपछि थुनछेक बहस सुरू हुने स्रेस्तेदार रामु शर्माले जानकारी दिए।
लामिछाने आइतबार बिहान साढे ९ बजेनै अदालतमा हाजिर भएका थिए। यसअघि कास्की जिल्ला अदालतले उनलाई सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा ६५ लाख धरौटी माग गरी छाड्न आदेश दिएको थियो।
उक्त आदेशपछि काठमाडौंमा उनी आफै हाजिर हुने गरी छुटेका थिए।
स्वर्णलक्ष्मी सहकारीमा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ अपचलन भएको छ। उक्त रकम अपलचनमा सरकारी वकिलको कार्यालय काठमाडौंले ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।
रवि लामिछाने र जिबी राईको हकमा सहकारीबाट गएको पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रुपैयाँ अपचलनको आरोप छ।
जसमध्ये प्रहरीको हिरासतमा रहेका कमल लामा र सुनिता नेवालाई अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो।