मकवानपुरको मनहरीमा दुइटा गाडी ठोक्किएपछि सम्पर्कविहीन रहेका एक गाडीका चालक उपचाररत अवस्थामा भेटिएका छन्।
शनिबार दिउँसो साढे १ बजे मकवानपुरको मनहरी गाउँपालिका-६ स्थित पूर्वपश्चिम राजमार्ग सडकमा वीरगन्जबाट चितवन जाँदै गरेको बागमती प्रदेश ०१-०२६ च ५२५० नम्बरको स्कारपियो गाडी र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार ठोक्किएर दुर्घटना भएको थियो।
स्कारपियो गाडीमा सवार १० जना यात्रु घाइते भएका थिए भने चालक रौतहटको देबही गोनाही नगरपालिका-३ का २७ वर्षीय कृष्ण प्रसाद साह सम्पर्कविहीन थिए।
उनको खोजी गर्दै जाँदा शनिबार राति ९ बजे वीरगन्जको स्पर्श अस्पतालमा उपचाररत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए। उनको घाँटी र छातीमा भित्री चोट रहेको र आइसियुमा उपचार भइरहेको डिएसपी अर्यालले बताए।
'कसैले अस्पताल पुर्याएको हुनसक्छ। अहिले स्वास्थ्य सुधार छ,' उनले भने।
दुर्घटनामा घाइते भएका दुई जनाको शनिबार नै उपचारका क्रममा मृत्यु भएको थियो। मृत्यु हुनेमा कार चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्र श्रेष्ठको र कारमै सवार चितवन राप्ति नगरपालिका-२ गड्यौलीकी ५० वर्षीया सुनिता श्रेष्ठ छिन्। दुवैको उपचारका क्रममा मृत्यु भएको थियो।
कारमा चालकसहित ४ जना र स्कारपियो गाडीमा १० जना सवार थिए।
कारमा सवार कारमा सवार गड्यौलीका ५५ वर्षीय ओम कुमार श्रेष्ठ र २१ वर्षीया सुमिना श्रेष्ठको उपचार भइरहेको छ।
त्यस्तै स्कारपिओमा सवार पर्साको वीरगन्ज महानगरपालिका-२ छपकैयाकी २६ वर्षीय पुजादेवी शाह उनकी छोरी ८ वर्षीया प्रियान्सी शाह, २३ वर्षीया सुरदी देवी, २१ वर्षीया निशा कुमारी शाह, १५ वर्षीय ओम संकर साह, १९ वर्षीय राजिवकुमार साह, १९ वर्षीया आरति कुमारी साह घाइते भएका छन्।
त्यस्तै चार वर्षीया दिव्याकुमारी साह, १६ वर्षीय सरोज शर्मा र १९ वर्षीया रोशनी शर्मा छन्।
उनीहरू सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। उपचाररत सबै खतरामुक्त रहेको डिएसपी अर्यालले जानकारी दिए।