मकवानपुरमा प्रहरीको चेकपोइन्टबाट भागेको स्कुटरले ठक्कर दिँदा एक बालक घाइते भएका छन्।
शुक्रबार साँझ ५ बजे मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातमाटेस्थित पूर्व-पश्चिम राजमार्ग सडक खण्डमा वीरगन्जबाट हेटौंडा आउँदै गरेको प्र.३-०२-०१०प ९८८५ नं.को स्कुटरलाई चेकजाँचका लागि प्रहरीले रोक्न इसारा गरेको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उक्त स्कुटरमा सवार युवकहरू उल्टै चेकजाँचमा खटिएका प्रहरीलाई जिस्काउँदै चेकपोइन्टमा नरोकी भागेका थिए।
चेकपोइन्टबाट भागेपछि शंकास्पद लागेर प्रहरीले उनीहरुको पिछा गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामू अर्यालले जानकारी दिए।
पिछा गर्दै जाने क्रममा हेटौडा उपमहागरपालिका -४ कमलडाँडामाख स्कुटरले सोही स्थानमा बस्ने गणेश बहादुर घलानको छोरा ८ वर्षीय जेसन घलानलाई ठक्कर दिएर त्यहाँबाट पनि भागेको डिएसपी अर्यालले जानकारी दिए।
उनीहरूलाई हेटौडा उपमहानगरपालिका-१० बसपार्कबाट स्कुटरसहित नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जनाएको छ।
स्कुटरमा चालक हेटौडा उपमहानगरपालिका-७ कमान बस्ने २० वर्षीय सुजल ढुङ्गाना र पछाडी सवार हेटौंडा उपमहानगरपालिका-४ कर्रा बस्ने १९ वर्षीय सहिपल तिमिल्सेना रहेको खुलेको छ। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले ७ किलोमिटरसम्म पिछा गरेको डिएसपी अर्यालले जानकारी दिए।
लाइसेन्स नभएका कारण उनीहरू चेकपोइन्टबाट भागेका थिए।
उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको र घाइते बालकलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। बालकको दाँया हात, कम्मर र टाउकोमा चोट लागेको छ।