नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाले शुक्रबार चार सय २५ जना आफ्ना जेष्ठ क्रियाशिल सदस्यलाई न्यानो कपडासहित सम्मान गरेको छ।
कांग्रेस उपमहानगर सभापति सुरेश हमाल नेतृत्वको टिमले प्रत्येक जेष्ठ नागरिकलाई २० हजार बढीको सामग्रीसहित सम्मान गरेको हो।
उपमहानगरभरका हरेक जेष्ठ क्रियाशिल सदस्यलाई प्रदान गरिएका सामग्रीमा रुइको शिरक एक थान, एउटा ऊनीको टोपी, किचेनमा लगाउने न्यानो चप्पल, चेवनप्रासलगायत बाँडिएको हो।
कांग्रेस नगर कार्यसमितिले उक्त सामग्री वितरणमा १० लाख बढी खर्च गरेको बताएको छ।
त्यो सबै रकम कार्यसमितिका पदाधिकारीका साथै विदेशमा रहेका कांग्रेसमा आस्था राख्ने व्यक्तिहरूको सहयोगबाट संकलन गरिएको नगर उपसभापति विनिल केसीले जानकारी दिए।
जेष्ठ नागरिक सम्मान तथा सामग्री वितरण कार्यक्रमलाई कांग्रेस केन्द्रीय सदस्य दीपक गिरी, अर्का केन्द्रीय सदस्य गेहेन्द्र गिरी, जिल्ला पार्टी सभापति शंकर डाँगी लगायतका वक्ताहरूले कांग्रेस तुलसीपुर नगरले गरेका सिर्जनशील कार्यहरूले कांग्रेसमाउत्साह थपेको हुँदा त्यसको सिको अन्यत्र पनि हुनुपर्ने बताएका थिए।