गत वर्ष संसारको तापक्रम औद्योगिक युग सुरू हुनुअघि भन्दा १.५ डिग्री सेल्सियस भन्दा बढी रह्यो।
सरकारहरूले सन् २०१५ मा पेरिस सम्झौता गर्दा औसत तापक्रम भरसक औद्योगिक युग सुरू हुनुअघि भन्दा १.५ डिग्री सेल्सियसबाट माथि जान रोक्ने लक्ष्य निर्धारण गरेका थिए। त्यो नसके पनि २ डिग्री सेल्सियसभन्दा धेरै तल राख्ने सहमति भएको थियो।
तर वैज्ञानिकहरूका अनुसार सन् २०२४ मा पृथ्वीको औसत तापक्रम सन् १८५०-१९०० को तुलनामा १.६ डिग्री सेल्सियस बढी थियो।
युरोपेली युनियनको कपर्निकस क्लाइमेट चेन्ज सर्भिसले २०२४ मा औसत तापक्रम पहिलो पटक १.५ डिग्री सेल्सियसको तल्लो लक्ष्यभन्दा बढी भएको शुक्रबार पुष्टि गरेको छ।
अरू शीर्ष अन्तर्राष्ट्रिय निकायहरूले पनि विश्वव्यापी औसत तापक्रममा भएको ‘असाधारण’ वृद्धिले जलवायु परिवर्तनले अपेक्षा गरेभन्दा छिटो गति लिने डर पैदा भएको बताएका छन्।
२०१५ मा भएको पेरिस सम्झौताको लक्ष्य कुनै एक वर्षको नभएर २-३ दशकसम्मको औसत तापक्रमलाई भरसक पूर्वऔद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा धेरै बढ्न नदिने थियो। तर पनि पछिल्ला वर्षमा लगातार रूपमा पृथ्वीको तापक्रम बढिरहेकाले १.५ डिग्री सेल्सियस त के २ डिग्री सेल्सियसको लक्ष्य पनि हासिल हुन नसक्ने डर सृजना भएको छ।
कपर्निकसका अनुसार सन् २०१५ देखि २०२४ सम्मका वर्षहरू अभिलेख राख्न सुरू भएयताका सबैभन्दा बढी ताता १० वर्ष थिए। त्योभन्दा अघि गएर कपर्निकसले गत वर्षको तापक्रम सम्भवतः पछिल्लो एक लाख २५ हजार वर्षमा सबैभन्दा धेरै रहेको हुन सक्ने बताएको छ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नुभन्दा १० दिनअघि कपर्निकस लगायत ६ वटा जलवायु-अनुगमन संस्थाहरूले एकैपटक गत वर्षको तापक्रमसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेका छन्।
ट्रम्पले २०१७ मा पहिलो कार्यकाल सुरू हुनेबित्तिकै अमेरिकालाई पेरिस सम्झौताबाट अलग्याएका थिए। उनीपछि राष्ट्रपति भएका जो बाइडेनले फेरि सो सम्झौतासँग अमेरिकालाई जोडेका थिए। साथै अमेरिकामा कार्बन डाइअक्साइड र मिथेन लगायत हरितगृह ग्यास उत्सर्जन कम गर्न दीर्घकालीन कार्यक्रमहरू ल्याएका थिए।
ट्रम्पले दोस्रो कार्यकालमा फेरि अमेरिकालाई पेरिस सम्झौताबाट अलग्याएर बाइडेनले सुरू गरेका कार्यक्रमलाई रोकेर हरितगृह ग्यास उत्सर्जन बढाउने खतरा छ। त्यसैले ट्रम्पमाथि दबाब परोस् भनेर कपर्निकस लगायत ६ वटा जलवायु-अनुगमन संस्थाहरूले एकै पटक सन् २०२४ को औसत तापक्रमको विवरण सार्वजनिक गरेका हुन सक्छन्।
प्रशान्त महासगर 'ला निना' चरणमा जाने भएकाले सन् २०२५ गत वर्षभन्दा अलिक शीतल हुने अपेक्षा गरिएको छ। तर पनि यो वर्ष २०२४ र २०२३ पछि तेस्रो सबैभन्दा गर्मी हुने वैज्ञानिकहरूले आकलन गरेका छन्। तर हरितगृह ग्यास उत्सर्जन धेरै नघटाए २०२४ को रेकर्ड २०२६ मै तोडिन सक्छ।
अहिले नै उच्च तापक्रमका कारण भएको जलवायु परिवर्तनका असर देखिन थालेका छन्।
गर्मी याममा तापक्रम बढ्दै जानु, पहिलेभन्दा धेरै पानी मिश्रित आँधी आउनु, समुद्रको सतह बढ्नु र झन् झन् भयंकर डढेलो लाग्नु यसकै परिणाम हुन्।
यी परिवर्तनबाट हाम्रो घर, समाज र पर्यावरणलाई हुने खतरा बढिरहेको छ। यीबाहेक, हामी झनै ठूलो रूपमा पनि जलवायु परिवर्तन गरिरहेका हुन सक्छौं।
विगत दुई दशकदेखि वैज्ञानिकहरूले कार्बन उत्सर्जनका कारण भइरहेको तापक्रम वृद्धिले प्रकृतिका विशाल प्रणालीहरूलाई विनाशतर्फ धकेलिरहेको हुन सक्छ भनेर चेतावनी दिइरहेका छन्। यी प्रणाली धेरै विशाल भएकाले तापक्रम बढे पनि केही हदसम्म सन्तुलनमा रहन सक्छन्। तर यो सन्तुलन एउटा निश्चित विन्दुसम्म मात्रै सम्भव छ।
वैज्ञानिकहरूका अनुसार हामीले पृथ्वीको तापक्रमलाई एउटा निश्चित विन्दुभन्दा माथि पुर्याएपछि यो सन्तुलन गुम्न सक्छ र यसको प्रभाव व्यापक हुनेछ। यसलाई उल्टाउन असम्भव नै त छैन, तर धेरै नै कठिन हुनेछ।
तापक्रम बढ्दै जाँदा, पुरानो अवस्थामा फर्काउनै मुस्किल हुने गरी ठूला क्षति भइरहेका छन्।
कोरल रिफहरूको सामूहिक विनाश
कोरल नामक समुद्री जीवहरूले चट्टानजस्ता ढिस्काको समूह बनाउँछन् जसलाई 'कोरल रिफ' भनिन्छ। रंगीबिरंगी यी कोरल रिफ विश्वका करिब २५ प्रतिशत समुद्री प्राणीको घर हो।
जब समुद्रको पानी तात्न थाल्छ, तब यी रंगीन कोरल रिफहरू सेतो रङमा परिणत हुन्छन्। यो प्रक्रियालाई कोरल ब्लिचिङ भनिन्छ।
पहिले यस्तो ब्लिचिङ कहिलेकाहीँ मात्र हुन्थ्यो। विश्वको तापक्रम बढ्दै गएपछि पछिल्लो समय नियमित रूपमा भइरहेको छ। ब्लिचिङ भए पनि ती कोरल पूर्ण रूपमा मरिसकेका भने हुँदैनन्। तापक्रम सुधार भएमा केही समयपछि पुरानै रूपमा फर्किन सक्छन्।
वैज्ञानिकहरूको आकलन अनुसार पृथ्वीको तापक्रम वृद्धि रोक्न मान्छेले अहिल्यै सक्दो चाँडो कदम चालिहाले पनि, ७० देखि ९० प्रतिशत कोरल आउँदा केही दशकसम्म मरिसक्छन्। कुनै कदम नचाली यसै बसिरहे त ९९ प्रतिशत वा त्योभन्दा बढी कोरल मासिने छन्।
यसको अर्थ कोरल रिफ बनाउने जीव कोरल पूर्ण रूपमा लोप हुन्छ भन्ने पनि होइन। कुनै कुनै क्षेत्रमा केही कोरल बाँकी रहन सक्छन्। तर यिनमा निर्भर रहने समुद्री जीव र वनस्पति सहितको प्रणाली भने नरहन वा नचिनिने हुन सक्छ।
त्यस्तै स्वस्थ र सामान्य देखिए पनि कोरल रिफको विनाश अहिल्यै सुरू भइसकेको हुन सक्छ। हामीले अहिल्यै यसमा ध्यान दिएनौं भने सबै विनाश हुनेछ र तिनलाई पुरानो अवस्थामा फर्काउन सम्भव हुने छैन।
पर्माफ्रस्ट अचानक पग्लिने
संसारका सबभन्दा चिसा ठाउँमा पर्माफ्रस्ट अर्थात् जमिनमुनि कम्तीमा दुई वर्ष लगातार शून्य डिग्री सेल्सियस वा कम तापक्रममा जमिरहने भूभाग पाइन्छ।
यी भूभागमा सञ्चित लामो समयअघि मरेका बोटबिरूवा र जनावरका अवशेषहरूमा हाल वायुमण्डलमा रहेको भन्दा झन्डै दोब्बर मात्रामा कार्बन पाइन्छ। गर्मी, डढेलो र वर्षाले जमेको जमिन पगालेपछि सूक्ष्मजीवहरू सक्रिय हुन्छन्। र, यो कार्बनलाई कार्बन-डाइअक्साइड र मिथेनमा परिणत गर्छन् जुन हरितगृह ग्यास हुन्। यी ग्यासका कारण झन् बढी गर्मी, डढेलो र वर्षा हुन्छ। अनि यसले पग्लिने प्रक्रियालाई थप तीव्र बनाउँछ।
पश्चिमी क्यानडा, अलास्का र साइबेरियाका ठूला क्षेत्रहरू पहिल्यै पग्लिसकेका छन्। बाँकी रहेको पर्माफ्रस्ट कति चाँडो पग्लिन्छ, यसले विश्वको तापक्रम कति बढाउँछ र पग्लेको भूभागमा नयाँ वनस्पति उम्रिने हुनाले कति कार्बन जमिनमुनि नै रहन सक्छ भन्ने आकलन गर्न गाह्रो छ।
पर्माफ्रस्ट पग्लिने समय ठाउँअनुसार फरक फरक हुन्छ। विश्वको तापक्रम वृद्धिमा यसको असर एक शताब्दी वा त्योभन्दा लामो समयसम्म थपिँदै जान सक्छ।
ग्रीनल्यान्डको बरफ पग्लिने
पृथ्वीका दुई ध्रुव ढाकेका बरफका विशाल ढिक्काहरू सामान्य बरफका टुक्रा जसरी पग्लिरहेका छैनन्। ती विशाल र जटिल आकारका ढिक्का कति छिटो पग्लिएर समुद्रको सतह बढाउँदै जान्छन् भन्ने कुरा विभिन्न कारक तत्वहरूले निर्धारण गर्छन्। वैज्ञानिकहरूको चिन्ताको विषय तिनै कारक तत्वहरू हुन् जसले पग्लिने प्रक्रिया रोक्नै नमिल्ने गरी चाँडो बनाउन सक्छन्।
ग्रीनल्यान्डमा बरफको सतहको उचाइ घट्दै जाँदा यसको धेरै भाग क्रमश: तातो हावाको सम्पर्कमा आउँछ र यो अझै छिटो पग्लिन थाल्छ।
ग्रीनल्यान्डको धेरै भूभाग पहिले बरफरहित थियो भन्ने कुरा वैज्ञानिकहरूले भौगर्भिक प्रमाणहरूबाट पत्ता लगाएका छन्। अब फेरि पनि व्यापक स्तरमा बरफ पग्लियो भने त्यसको प्रभाव विश्वभरि फैलिनेछ। र, समुद्री धारहरूका साथै उष्णकटिबन्धीय तथा अन्य क्षेत्रको वर्षामा असर गर्नेछ।
यहाँको बरफ अपरिवर्तनीय रूपमा पग्लिने प्रक्रिया यसै शताब्दीमा सुरू भएर सयौं वा हजारौं वर्षसम्म चलिरहन सक्नेछ।
पश्चिम अन्टार्कटिकाको बरफ टुक्रिने
पश्चिम अन्टार्कटिकामा रहेको बरफलाई भने तातो हावाले भन्दा बढी तातो पानीले खतरामा पारेको छ।
यहाँका धेरै हिमनदीहरू समुद्रमा गएर मिसिने हुनाले तिनीहरूको तल्लो भाग निरन्तर समुद्री धारको सम्पर्कमा हुन्छ। पानीको तापक्रम बढेपछि यी तैरिरहेका बरफका ढिक्काहरू पग्लिन्छन् र मुनिबाट कमजोर हुन्छन्। यसलाई रोक्न आवश्यक तैरिने बरफ कम भएपछि महाद्वीपको भित्री भागबाट धेरै बरफ समुद्रतिर बग्नेछ। अन्ततः पानीको छेउमा रहेको बरफ आफ्नै वजन थाम्न नसकेर टुक्रा टुक्रा हुन सक्नेछ।
पश्चिम अन्टार्कटिकाको बरफ धेरै पहिले नै टुक्रिएर समुद्रमा खसिसकेको हुन सक्छ। त्यस्तो घटना फेरि कहिले दोहोरिन सक्छ भनेर पत्ता लगाउन वैज्ञानिकहरू अझै प्रयासरत छन्।
ग्रीनल्यान्डमा जस्तै पश्चिम अन्टार्कटिकामा पनि अपरिवर्तनीय रूपमा बरफ पग्लिने प्रक्रिया यसै शताब्दीमा सुरू हुन सक्छ।
पश्चिम अफ्रिकी मनसुनमा अचानक परिवर्तन
लगभग १५ हजार वर्षपहिले सहारा मरूभूमि हराभरा हुन थालेको थियो। पृथ्वीको कक्षमा भएका साना परिवर्तनहरूले उत्तर अफ्रिका हरेक गर्मी याममा क्रमश: बढी घमाइलो हुन थालेपछि यो प्रक्रिया सुरू भएको थियो।
घमाइलो हुन थालेपछि जमिन तात्यो र आन्ध्र महासागरबाट ओसिलो हावा उक्त क्षेत्रतिर बहन थाल्यो। त्यो हावाका कारण मनसुन वर्षा हुन थालेर घाँसहरू पलाए र तालहरू भरिए। हात्ती, जिराफ, गाईवस्तुका साथै मानव जाति पनि फस्टाए। लगभग पाँच हजार वर्षपहिले मात्रै यो क्षेत्र फेरि आजको कठोर मरूभूमिमा परिणत भएको हो।
सहाराले विगतमा धेरैपटक सुख्खा र हराभराको चक्र पूरा गरिसकेको छ भन्ने वैज्ञानिकहरूलाई थाहा भइसकेको छ। तर आजको तापक्रम वृद्धिका कारण पश्चिम अफ्रिकी मनसुन कसरी परिवर्तन हुनेछ वा होला भनेर उनीहरू निश्चित रूपमा भन्न सक्दैनन्। यो परिवर्तन कहिले हुन्छ, यो पनि भन्न गाह्रो छ।
अवस्था जे भए पनि, आफ्नो जीवनका लागि आकाशमै निर्भर यस क्षेत्रका धेरै मानिसका लागि भने त्यसले ठूलो अर्थ राख्नेछ।
अमेजन जंगलको विनाश
अमेजन जंगलमा सयौं आदिवासी समुदाय, लाखौं जनावर र वनस्पतिका प्रजाति र ४ खर्ब रूख छन्। यहाँ खोजी हुन बाँकी र नामै थाहा नभएका अरू असंख्य प्रजातिका प्राणी पनि छन्। पृथ्वीको तापक्रम बढाउन सक्ने कार्बनको प्रचुर मात्रामा भण्डारण गर्ने यो जंगलले मौसममा पनि ठूलो भूमिका खेल्छ।
अमेजनका सबै रूखले फाल्ने ग्यास माथि पुगेर बादलमा परिणत हुन्छन्। यी बादल फाटेर हुने वर्षाले यो क्षेत्रलाई हराभरा बनाउन र रूखबिरूवाले ढाकिराख्न मद्दत गर्छ।
तर अचेल एकातिर पशुपालक र किसानहरूले जंगल फडानी गरिरहेका छन्, अर्कातिर विश्वको तापक्रम वृद्धिका कारण डढेलो र खडेरी बढिरहेको छ। वैज्ञानिकहरूलाई यो जंगलको ठूलो क्षेत्र विनाश भयो भने पानी पर्ने यो संयन्त्र नै बन्द भएर बाँकी रहेको जंगल घाँसे मैदानमा परिणत हुने हो किन भन्ने चिन्ता छ।
शोधकर्ताहरूको हालैको आकलन अनुसार सन् २०५० सम्ममा आजको अमेजन जंगलको लगभग आधा क्षेत्र यस्तो घाँसे मैदानमा परिणत हुन सक्ने खतरा छ।
मानिसहरूले कति तीव्र गतिमा बाँकी रहेको जंगल फडानी गर्छन् वा बचाउँछन् भन्ने कुरामा यो भर पर्छ।
आन्ध्र महासागरको धार बन्द हुने
आन्ध्र महासागरमा अफ्रिकाको पश्चिमी तटबाट क्यारिबियन क्षेत्र हुँदै समुद्री धार माथि युरोपसम्म जान्छ र फेरि अफ्रिकातिर फर्किन्छ। समुद्री पानीको यो विशाल चक्रले विश्वको एउटा विशाल क्षेत्रको तापक्रम र वर्षा निर्धारण गर्छ। नुनिलो र धेरै घनत्व भएको पानी समुद्रको गहिराइतिर जान्छ भने ताजा र कम घनत्वको माथि सतहतिर आउँछ। यसप्रकार यो चक्र चलिरहन्छ।
तर अहिले ग्रीनल्यान्डमा पग्लिरहेको बरफले उत्तरी आन्ध्र महासागरमा ताजा पानीको नयाँ प्रवाह मिसाएर यो सन्तुलन बिगारिरहेको छ। यो पानीको चक्र धेरै सुस्त भयो भने बन्दै हुन सक्छ। र, यसले युरोप र उष्णकटिबन्धीय क्षेत्रको मौसमको ढाँचा नै उलटफेर गरिदिन सक्ने डर पनि वैज्ञानिकहरूलाई छ। मौसममा आएको यस्तो परिवर्तनले यो क्षेत्रका करोडौं मानिसहरूको जीवनमा प्रभाव पार्नेछ।
यो समुद्री धार सुस्त हुँदै गएको संकेत वैज्ञानिकहरूले देखिसकेका छन्। यो कहिले ठप्पै बन्द हुन सक्छ भनेर भन्न चाहिँ कठिन छ।
(न्यु योर्क टाइम्स सहित विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)