नसासँग सम्बन्धित समस्याबारे कुरा गर्दा हामीले पहिलाको र अहिलेको कुरा गर्नुपर्ने हुन्छ। सन् २००० सम्म संक्रमणसँग सम्बन्धित रोग धेरै देखिन्थ्यो। मस्तिष्कमा पिप जम्ने, मेनिन्जाइटिस हुने लगायत बढी हुन्थ्यो भने अहिले हाम्रो खानपिन, व्यायामको कमी हुने र सहरीकरणले गर्दा नसर्ने रोगहरूको संख्या बढ्दै गएको छ। ब्रेन ह्यामरेज, पार्किन्सन्स, अल्जाइमर लगायतका समस्या समेत बढिरहेको छ। सरदर आयु बढेसँगै नसर्ने दिर्घ रोगका बिरामीहरू बढ्दै गएका छन्।
नसासम्बन्धी समस्याको कुरा गर्दा चोटपटक पहिलो नम्बरमा छ। मापसेको परीक्षणपछि यो संख्या घटेको छ। तर अहिले पनि रोडको अवस्था, गाडीको अवस्था अनि चालकको लापरबाहीले दुर्घटना भइरहेको छ।
नसासम्बन्धी समस्याको उपचारको उपलब्धता
नसासँग सम्बन्धित समस्याको उपचारका लागि हामीसँग अत्याधुनिक खालको प्रविधि छ। दिमागको भित्री भागमा ट्युमर छ भने पनि त्यो ठाउँ पत्ता लगाउने प्रविधि समेत छ। बेहोस भएको बेलामा समेत नसाको गतिविधि थाहा पाउन सकिन्छ भने छारे रोगको उपचारका लागि चाहिने प्रविधि हामी यो वर्ष भित्र्याउँदैछौं।
नसासम्बन्धी समस्याबाट कसरी जोगिने
कुनै पनि रोगको पहिचान, रोकथाम र उपचारको लागि तीन निकाय जिम्मेवार हुन्छ।
-व्यक्ति स्वयं
-उपचार गर्ने संस्था
-सरकार
व्यक्ति स्वयंले गर्न सक्ने भनेको रोकथाम नै हो। जस्तो: रक्सी, चुरोट जस्ता हानिकारक पदार्थ खानै भएन भने रक्सी खाएर गाडी, बाइक चलाउनै भएन। त्यस्तै अँध्यारोमा भिरको बाटो हिँड्न भएन। खानपिनमा ख्याल गर्नुपर्छ भने पर्याप्त व्यायाम समेत चाहिन्छ। रक्सी, चुरोट खानुहुन्छ भने पनि त्यसले ब्रेन ह्यामरेज निम्त्याउँछ।
अर्को जिम्मेवार निकाय अस्पताल हो। अस्पतालमा बिरामी जानसाथ रोगको पहिचान र उपचार हुन्छ कि हुँदैन भन्ने महत्वपूर्ण हुन्छ। अहिले हाम्रो समस्या भनेको बिरामीहरू आउने तर आइसियु नभेट्ने अनि आइसियु भेटे पनि सिटीस्क्यान समयमा नहुने लगायतका छन्। त्रिवि शिक्षण अस्पतालमा यस्ता समस्या धेरै कम हुँदै गएको छ। अहिले सिटी स्क्यान, एमआरआई लगायत अन्य उपचारका लागि धेरै कुर्नुपर्ने अवस्थाको अन्त्य जस्तै भएको छ।
त्यस्तै सरकारी तहमा नीति नियमलाई व्यवस्थित बनाउनुपर्छ। जस्तो: मापसे परीक्षणमा कडाइ गरेपछि दुर्घटना कम भएको छ। पछाडि बस्नेले समेत हेल्मेट लगाउने हो भने यो अझै कम हुनसक्छ।
सन् २००६ मा यो प्रावधान हुँदा दुर्घटनामा कमी आएको थियो। अर्को कुरा हाम्रा सडकहरू व्यवस्थित बनाउन जरूरी छ। एउटा ठाउँमा जान तीन वटा सडक बनाउनको सट्टा एउटै व्यवस्थित सडक बनाउनतर्फ ध्यान जानुपर्छ। जसले गर्दा गाडी पल्टिने लगायतका अन्य दुर्घटना कम हुनसक्छ। त्यस्तै गाडीको पनि नियमित सर्भिसिङ भए/नभएको परीक्षण गर्ने निकाय सक्रिय हुनुपर्छ भने लामो रूटमा गाडी चलाउने ड्राइभरको नियमित स्वास्थ्य परीक्षण जरूरी छ। सबै चालक स्वस्थ हुन जरूरी छ तर लामो रूटका चालकको अझै निगरानी गर्नुपर्छ। यस्तो भयो भने दुर्घटनाबाट जोगिन सकिन्छ।
चुरोट, रक्सी खानै भएन
मस्तिष्कसम्बन्धी समस्याबाट बच्नलाई अनुशासित जीवनशैली अपनाउन जरूरी छ। यसको लागि चुरोट, रक्सीको सेवन नगर्नु पहिलो सर्त हो। पहिला/पहिला रक्सी थोरै खान हुन्छ भन्ने गरिन्थ्यो तर अहिले त्यस्तो रहेन। अमेरिकामा पनि चुरोटमा जस्तै रक्सीमा पनि लेवल राख्नुपर्ने विषय उठेको छ। जसरी चुरोट हानिकारक रहेको सन्देश बट्टामा लेखिन्छ त्यस्तै रक्सी हानिकारक रहेको सन्देश रक्सीको बोतलमा लेख्नुपर्ने आवाज आइरहेको छ।
रक्सी धेरै खाए मात्र समस्या हुन्छ भन्ने गरिए पनि अब रक्सीका प्रत्येक थोपाले हानि गर्ने कुरा अनुसन्धानले देखाउन थालेको छ। त्यसैले अब रक्सीको होर्डिङ बोर्ड समेत राख्न भएन। रक्सी नखाए पनि जिन्दगी चल्न सक्छ भन्ने सन्देश दिन जरूरी छ।
त्यस्तै, तपाईंलाई टाउको दुख्ने भइरहेको छ, छारे रोग जस्तो छ भने आफै निको होला भनेर घरमै नबस्नुहोला। वैकल्पिक उपचारको पछाडि समेत नलाग्नुहोला। यस्ता समस्या भएमा सबभन्दा पहिला न्युरो सर्जन या सम्भव भएन भने जनरल फिजिसियनलाई भेट्नुपर्छ। यस्ता सचेतता अपनाउन सकियो भने नसासम्बन्धी समस्या आधा कम हुन्छ।
टिचिङ अस्पतालको लाइन धेरै कम गराउन सकिन्छ
चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को कार्यक्षेत्र ठूलो छ। हामीले यस अन्तर्गत रहेका कलेज र अस्पतालको नियमन गर्नुपर्छ। मेडिकल शिक्षामा किन विद्यार्थी फेल भइरहेका छन् भन्ने प्रश्न उठेको छ। हामीले यसलाई सुधार्न जरूरी छ। विद्यार्थीको कमजोरी हो कि, शिक्षकको हो कि या हाम्रो शिक्षा प्रणालीकै दोष हो हामीले यसको खोजी गर्नुपर्छ। अर्को आइओएम परिसरमै रहेको टिचिङ अस्पतालको सुधार गर्नु हाम्रो जिम्मेवारी हो। यसका लागि मैले अस्पतालका कार्यकारी निर्देशकसँग समन्वय गर्नुपर्छ। उहाँहरूलाई सहज हुने गरी मैले सहयोग गर्छु। अस्पतालमा लाइन नहुने गरी काम भइरहेको छ। लाइनलाई जिरो पार्न त सकिँदैन तर यहाँ आएर चिकित्सकलाई भेट्न पाइँदैन भन्ने निरासालाई भने अन्त्य गर्न सकिन्छ। अस्पतालको अनुसन्धान र उपचार सेवालाई छिटो र छरितो बनाउने प्रयास हुन्छ। किनकि पर्खन धेरै समय लगाउने भनेको उपचार नगरेजस्तै हो।
भित्र पस्ने र बाहिर निस्किने अलग्गै बाटो बनाउने, अनलाइन टिकटलाई अझै व्यवस्थित गर्ने, टिकट काउन्टरहरू धेरै राख्ने लगायतका सुधारका काम गर्न सकिन्छ।
अनलाइन बुकिङमा धेरैभन्दा धेरैलाई समेट्ने गरी काम भइरहेको छ। हामी यसलाई अझै व्यापक बनाउँछौं। त्यस्तै जेष्ठ नागरिकका लागि छुट्टै विभाग बनाउन जरूरी छ।
यो अस्पताल गैर नाफामूलक हो। तर हामीले आफूलाई चल्नेगरी आम्दानी गर्नैपर्छ।
अस्पतालमा जनशक्तिको अभाव ठूलो छ। जस्तो ३ सय बेडलाई भनेर लिएको जनशक्तिले अहिले ८ सय ५० बेडका लागि काम गर्नुपरेको छ। पहिला एमबिबिएस पढाउने भनेर सुरू गरेको अहिले पिएचडी सम्मको पढाइ हुन्छ। यसका लागि हामीसँग डाक्टर, नर्सदेखि कर्मचारी सबैको अभाव छ। हामीले यसका लागि कसरी काम गर्नुपर्छ भनेर तयारी गर्न जरूरी छ।
(वरिष्ठ न्युरो सर्जन एवम् त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्रा.डा मोहनराज शर्मासँग सेतोपाटीका सन्जिब बगालेले भिडिओ कुराकानी गरेका छन्।)