पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादी लिला पछाईंले पनि धरौटी बुझाएकी छन्।
शुक्रबार ३७ लाख धरौटी बुझाएर पछाईं छुटेको कास्की कारागार कार्यालयका प्रमुख राजेन्द्र शर्माले जानकारी दिए।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
रविसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरूङ र आरती गुरूङले बिहीबार नै धरौटी रकम बुझाएका थिए।
तर पछाईंले धरौटी नतिरेपछि उनलाई कारागारमा पठाइएको थियो।
न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईंलाई ३७ लाख, मीना गुरूङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरूङलाई पाँच लाख र कृष्णबहादुर गुरूङलाई एक लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
कात्तिक २ गते पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने ८४ दिन हिरासतमा बसेका छन्। उनलाई उनकी श्रीमती निकिता पौडेल र रास्वपाका उपसभापति डिपी अर्यालको जिम्मामा छाडिएको हो।