भदौ अन्तिम सातातिरको कुरा हो।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा एक जना महिला रूँदै आइपुगिन्।
आफ्ना श्रीमानलाई भारतमा अपहरण गरेको भन्दै उद्धार गरिदिन उनी त्यहाँ पुगेकी थिइन्।
काम गर्ने भन्दै भारत पुगेका श्रीमान १०-१२ दिन सम्पर्कविहीन भएपछि उनी आत्तिइन्। भारत पुगेका श्रीमानसँग एक-दुई पटकमात्रै कुरा भएको थियो। भिडिओ कलमा कुरा हुँदा श्रीमानले पनि अनुहारमात्रै देखाउँथे।
उनका श्रीमानलाई फेसन ट्रेड मार्टमा काम गर्ने भनेर लगिएको थियो।
उनका श्रीमान कुवेतमा काम गर्थे। तर कुवेतमै एक जना चिनजानको मान्छेले भारतमा मासिक ८० हजार भारतीय रुपैयाँ कमाउन सक्ने भनेपछि उनी बिदा लिएर नेपाल आइपुगेका थिए।
नेपाल आएर उनी केहीदिनमै त्यही व्यक्तिको लहैलहैमा लागेर भारत गए। वीरगञ्जसम्म बोलाउने व्यक्तिले लिन आए।
त्यहाँबाट भारतको विहारस्थित मुजफ्फरपुर लगे। त्यहाँ पुगेपछि मोबाइल लिइदिए। १० हजार भारतीय रकम लिएर आउनु भनेपछि ती पुरूषले उक्त रकम पनि बुझाए।
काम गर्न उनलाई ट्रेनिङ लिनुपर्ने भनियो। १० दिनसम्म त उनलाई क्लासमै राखियो। तर उनले घरमा सम्पर्क गर्न पाएनन्।
त्यसपछि काठमाडौंको चाबहिलमा बस्दै आएकी श्रीमती आत्तिइन्।
उता मुजफ्फरपुरमा रहेका श्रीमानको पनि ट्रेनिङ सकियो। कम्पनीले पनि उनलाई दुई लाख भारतीय रुपैयाँ डिपोजिट गर्नू भनियो। अरू दुई जना व्यक्तिलाई ल्याउन र कपडाहरू बेच्ने जिम्मा दिइयो।
सिआइबी प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार उक्त कम्पनीले नेटवर्किङको शैली अपनाए।
‘दुई लाख जम्मा गर्न भनियो। त्यसपछि झुत्रा कपडा नेपालमा लगेर बेच्न भन्ने गरेको देखिन्छ,’ उनले भने, ‘त्यसबापत आएको रकम पनि फेरि कम्पनीमै दिने र पछि त्यहाँबाट तलब छुट्टै दिने शैली रहेछ। त्यसबाहेक यही काममा लगाउन नेपालबाट थप दुई जना मान्छे ल्याउनू भनेको रहेछ।’
सिआइबीले यसरी काम गराइरहेको थाहा पाएपछि भारतीय समकक्षीसँग अनुसन्धानका लागि सहयोग माग्यो। भारतमा श्रीमानले कुराकानी गर्दाको नम्बर सिआइबीले पाएको थियो।
त्यही नम्बरलाई ट्र्याक गरेर भारतीय प्रहरीले लग्ने व्यक्ति र ती महिलाका श्रीमान पत्ता लाग्यो।
त्यसपछि नेपालबाट प्रहरी गएर दुबै जनालाई लिएर आएको हो। तर जब लग्ने व्यक्तिमाथि सोधपुछ गर्यो उनी आफै पनि पीडित भएको खुल्यो।
‘दुबै जनालाई ल्याउन त ल्यायौं। तर लग्ने व्यक्ति आफै पीडित रहेछन्। उनलाई पनि कसैले लहैलहैमा लगाएर त्यहाँ पुर्याएको रहेछ,’ अनुसन्धानमा संलग्न प्रहरीले भने।
नेपालमा नेटवर्किङ व्यवसाय चलाउन प्रतिबन्ध छ। तर भारतमा नेपालीहरूको प्रयोग गरी ठगी समेत हुँदै आएपछि सिआइबीले यसबारे सचेत रहन अनुरोध गरेको हो।
धेरैजसो अवकास प्राप्त र विद्यार्थीहरूलाई लक्षित गरी यस काममा लगाउने गरेको देखिएको एसपी बोगटीले बताए।
हालै नेपाली सेनाबाट अवकास प्राप्त एक व्यक्ति पनि यही घटनामा फसेका छन्। उनले केही समयअघि लेबनानमा शान्ति सैनिकको रूपमा काम पनि गरिसकेका थिए।
शान्ति सेनामा जाँदा चिनेका सहकर्मीले उनलाई ह्वाट्सएपमा मेसेज गरे। ‘भारतमा मासिक भारू ८० हजार पाइने काम छ गर्ने हो?’
त्यसपछि उनले सोधिखोजी गरे। मिसनमा गएका कागजातहरू पनि ल्याउनु राम्रै आम्दानी हुने भनियो।
अवकास पाइसकेको अवस्थामा केही काम गरौं भन्ने हिसाबले १० हजार भारू लिएर उनी गत आइतबार काठमाडौंबाट वीरगञ्ज गए। त्यहाँ त्यही साथीले लिन आए।
उनलाई पनि त्यही कम्पनीमा लगियो। फोन लिए। घरमा एक पटक कुराकानी भएपछि सम्पर्कविहीन भए।
पहिलो दिन उनी कक्षा कोठामा बसे।
‘घरमा भारत छिर्नुअघि एकपटक कुरा भएको थियो। तर पछि सम्पर्क हुन सकेन। पहिलो दिन हामीलाई क्लासमा राखियो। त्यहाँ थुप्रै थिए,’ ती पुरूषले सेतोपाटीसँग भने, ‘ती सबै भर्खरै आएकाहरूमात्रै थिए।’
यता नेपालमा शंका लागेपछि भोलिपल्टै परिवारले सिआइबीमा सम्पर्क गरेका थिए। सिआइबीले यस्तो प्रकृतिको घटनाबारे थाहा पाइसकेको हुँदा यसबारे जानकारी गराए।
उता पूर्वसैनिकलाई पनि शंका लागेपछि घरमा कुराकानी गर्न फोन मागे। घरमा कुराकानी गर्दा भने श्रीमतीले बिरामी भएको भन्दै रूँदै फोन गरे।
‘परिवारसँग कुराकानी भएपछि अब यो ठाउँमा बस्न हुँदैन भन्ने लाग्यो। त्यसपछि घरमा मान्छे बिरामी छ भनेर हिँडे,’ उनले भने, ‘उनीहरूले आम्दानी राम्रै हुन्छ भन्दै थिए। तर म जसरी नि फर्किन्छु भनेर फर्किएँ।’
सिआइबीको अनुसन्धानबाट त्यहाँ उनीहरूले काममा खटाउने व्यक्तिहरूको तह-तह बनाएका थिए। जति-जति लगानी गर्यो, मानिसलाई ल्याउन सक्यो, उति-उति नै पद बढाउँदै लग्ने सिआइबीको अनुसन्धानमा देखिएको हो।
सुरूमा जानेहरूलाई अफलाइन भन्ने गरेका छन्। त्यसपछि क्रमश: प्री मार्किस, सिनियर मार्किस, प्री ड्युक, ड्युक, सिनियर ड्युक र आर्क ड्युक गरी वरिष्ठता बनाइएको थियो।
यसरी नेटवर्किङ शैलीको काममा खटाउने व्यक्तिहरू पनि नेपालीहरू नै रहेको सिआइबीले जनाएको छ। विशेषगरी पाँच जना व्यक्तिहरूलाई प्रहरीले पहिचान गरेको छ।
हरिप्रसाद शिवाकोटी, त्रिलोचन तिमिल्सेना, तुलेस आलेमगर, चित्र थापामगर र समिर परियार यसमा संलग्न देखिएका छन्। उनीहरूले नै नेपालीहरूलाई प्रयोग गरी यो धन्दा चलाउँदै आएका हुन्।
‘नेपालीले नै नेपाली प्रयोग गरी यस्तो धन्दा चलाइरहेका छन्। थुप्रै मानिसहरू प्रलोभनमा परेर भारतमा ठगिरहेका छन्। यसबारे सचेत हुन जरूरी छ,’ एसपी बोगटीले भने।