पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ६ जनाले धरौटी रकम बुझाएका छन्।
रविसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए। स्रेस्तेदार खनालका अनुसार धरौटी रकम बुझाएसँगै उनीहरू रिहा भएका छन्।
प्रतिवादी लीला पछाईंले भने आज धरौटी रकम बुझाउन नसकेपछि कारागारमै रहने अदालतले जनाएको छ।
न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईंलाई ३७ लाख, मीना गुरूङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरूङलाई पाँच लाख र कृष्णबहादुर गुरूङलाई एक लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
कात्तिक २ गते पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने ८४ दिन हिरासतमा बसेका छन्। उनलाई उनकी श्रीमती निकिता पौडेल र रास्वपाका उपसभापति डिपी अर्यालको जिम्मामा छाडिएको हो।
कास्की प्रहरी स्रोतले धरौटी बुझाएलगत्तै लामिछानेलाई काठमाडौं लगिने बताएका छन्। काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछानेमाथि मुद्दा छ। उनी काठमाडौं जिल्ला अदालतमा आफै उपस्थित हुने भएका छन्।