जिल्ला प्रहरी कार्यालय चितवनले तीन दिनमा २०७ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ।
चितवन जिल्ला अदालतको विभिन्न मितिको फैसला बमोजिम कैद तथा जरिवाना भुक्तान गर्न बाँकी २०७ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।
प्रहरीले मंगलबार २८, बुधबार १०२ र बिहीबार ७७ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको हो।
उनीहरूलाई कैद र जरिवाना भुक्तानको लागि जिल्ला अदालतमा उपस्थित गराइएको एसपी मिश्रले बताए।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी ज्ञानकुमार महतोले प्रहरीले अहिले फरार प्रतिवादीहरूलाई पक्राउ गर्न अभियान नै सञ्चालन गरिरहेको बताए।
पुसको १ गतेदेखि बिहीबारसम्ममा २४७ जनालाई पक्राउ गरेर जिल्ला अदालतमा उपस्थित गराइएको उनले बताए।
उनीहरूबाट ५० लाख १२ हजार ३७ रुपैयाँ राजश्व असुल भएको छ। उनीहरूलाई कुल २ वर्ष ७ महिना १५ दिन कैद तोकिएको थियो। बिहीबार पक्राउ परेका ७७ जनाबाट मात्रै २४ लाख १८ हजार ९४४ रुपैयाँ राजश्व असुल भएको महतोले जानकारी दिए।
प्रहरीले अहिले जिल्लाका विभिन्न स्थानहरूमा लागुऔषध दुर्व्यसनी नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, घरेलु हिंसा, घरेलु मदिरा, मानव बेचविखन, साइबर क्राइम नियन्त्रणका लागि सचेतना कार्यक्रमहरू गरिरहेको उनले बताए।