पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेल्खुमा ट्रक र माइक्रो ठोक्किँदा १६ जना घाइते भएका छन्।
बिहीबार दिउँसो साढे १ बजे पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख ६६६ नम्बरको माइक्रो र काठमाडौंबाट जाँदै गरेको ट्रक धादिङको गल्छी गाउँपालिका-४ बेल्खुस्थित पृथ्वी राजमार्ग सडकखण्डमा ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि काठमाडौंको ट्रम सेन्टर पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिए।
घाइतेहरू सबै माइक्रोका यात्रु रहेको पनि डिएसपी हमालले जानकारी दिए।
घाइतेहरूमा स्याङ्जाका २५ वर्षीय रविना शाह, नुवाकोट बिदुरका २१ वर्षीय विवेक मिजार, धादिङको नीलकण्ठ नगरपालिका-२ बस्ने २६ वर्षीय राज गुरूङ, कास्कीको पोखरा महानगरपालिका-१४ की सुस्मिता आले, २२ महिनाकी रिहान पुन, ३३ वर्षीय खिमराज पुन छन्।
त्यस्तै एक विदेशी नागरिक, धादिङको सिद्धलेक गाउँपालिका-६ का २४ वर्षीय यमबहादुर घले, तनहुँको शुक्ला गण्डकी गाउँपालिका- ७ का ३८ वर्षीय सुनिता आले, गोरखाको लखन गाउँपालिका-१ बस्ने २१ वर्षीय समय अर्याल, ६१ वर्षीय मधुमाया अर्याल, धादिङको बेनीघाट रोराङ गाउँपालिका-६ का ३९ वर्षीय रमेश थापा, नाम नखुलेकी २२ र १८ वर्षीया युवती, म्याग्दीको बेनी नगरपालिका-४ का ३४ वर्षीय पुरन पुन र कास्कीको पोखरा महानगरपालिका-१४ का ३४ वर्षीय पुष्प पुन रहेका छन्।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।