अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले 'बे अफ मेक्सिको' को नाम फेरेर 'बे अफ अमेरिका' बनाउने भनेपछि मेक्सिकोकी राष्ट्रपतिले अमेरिकाकै नाम फेर्नुपर्ने भन्दै व्यंग्य गरेकी छन्।
कार्यभार सम्हाल्न दुई हप्ताअघि फ्लोरिडास्थित उनको मर-आ-लागो रिसोर्टमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले बे अफ मेक्सिको (मेक्सिकोको खाडी) को नाम परिवर्तन गरेर बे अफ अमेरिका बनाउनु पर्ने बताएका थिए। बे अफ मेक्सिको अमेरिका, मेक्सिको र क्युवाको बीचमा पर्छ।
त्यसको भोलिपल्ट मेक्सिकोमा पत्रकार सम्मेलन आयोजना गर्दै मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शानबामले बरू अमेरिकाको नाम परिवर्तन गरेर मेक्सिकन अमेरिका राख्नुपर्ने बताएकी छन्।
हाल अमेरिकाको दक्षिणी भाग र मेक्सिकोको उत्तरी भागलाई त्यतिबेला मेक्सिकन अमेरिका जनाइएको सन् १६०७ को नक्सा पृष्ठभूमिमा राखेर उनले ‘बरू हामीले यसलाई किन मेक्सिन अमेरिका नभन्ने?’ भनेर प्रश्न गरिन्।
‘यो राम्रो सुनिन्छ, होइन? सन् १६०७ देखि अपात्जिंगनको संविधान मेक्सिन अमेरिकाको थियो। त्यसैले, त्यसो भनौं!’ उनले मजाक गर्ने शैलीमा सुझाइन्।
अपात्जिंगन हाल मेक्सिकोको पश्चिमी भागमा रहेको सहर हो। स्पेनी साम्राज्यबाट मेक्सिको स्वतन्त्र हुन सन् १८१० मा सुरू भएको स्वतन्त्रता संग्रामको इतिहासमा सो सहरको महत्वपूर्ण भूमिका थियो।
सो सहरमा विद्रोहीहरूले मेक्सिकोका लागि सन् १८१४ मा अपात्जिंगनको संविधान बनाएका थिए। बेलायतबाट सन् १७७६ जुलाई ४ मा अमेरिकाले स्वतन्त्र भएको घोषणा गरेको साढे चार दशकपछि मेक्सिकोले सन् १८२१ मा स्वतन्त्रता हासिल गरेको थियो।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शानबामले सो पत्रकार सम्मेलनमा सँगै रहेका उनका सल्लाहकार तथा इतिहासविद् होजे अल्फोन्जो सुआरेज डेल रियललाई बे अफ मेक्सिकोको इतिहासबारे विस्तृत रूपमा बताउन आग्रह पनि गरिन्।
डेल रियलले सन् १७ औं शताब्दीदेखि नै सो क्षेत्रलाई बे अफ मेक्सिको भनेर चिनिएको बताए। साथै मेक्सिन अमेरिका भन्ने नाम पनि हालको अमेरिकाको भर्जिनियामा बेलायती उपनिवेशवादीको पहिलो समूह नआइपुग्दै देखि प्रचलनमा रहेको खुलाए।
अमेरिका र मेक्सिकोको कटुतापूर्ण इतिहास छ। आफ्नो देश विस्तार गर्न अमेरिकाले १९ औं शताब्दीमा मेक्सिकोमाथि हमला गरेको थियो। सन् १८४६ अप्रिल २५ मा मेक्सिकोमाथि आक्रमण गरेको अमेरिकी सेनाले सन् १८४७ सेप्टेम्बरसम्ममा मेक्सिकोको राजधानी मेक्सिको सिटी कब्जा गरेको थियो।
त्यसपछि दुई देशले सन् १८४८ फेब्रुअरीमा गरेको सन्धी अनुसार युद्ध हारेको मेक्सिकोले आफ्नो लगभग ५५ प्रतिशत भूमि अमेरिकालाई दिन राजी भयो। त्यसपछि मेक्सिकोमा रहेको हालको क्यालिफोर्निया, नेभाडा, युटाह, कोलोर्याडोको धेरैजसो भूभाग, न्यु मेक्सिको, टेक्सास र वायोमिङको केही भाग अमेरिकाले पायो। साथै रियो ग्राण्डे नदी टेक्सास राज्यको दक्षिणी सीमा हुने पनि सहमति भयो।
टेक्सास भने अमेरिकाले आक्रमण गर्नुअघि नै मेक्सिकोबाट स्वतन्त्र भएको घोषणा गरेको थियो। तर मेक्सिकोले त्यो स्वीकार गरेको थिएन। अमेरिकाले मेक्सिकोमा आक्रमण गर्नुभन्दा पहिले नै करिब एक दशकसम्म छुट्टै देशको हैसियतमा रहेको टेक्सासमा अमेरिकाले सन् १८४५ मा कब्जा गरेको थियो। सन् १८४८ को सन्धीपछि मेक्सिकोले टेक्सासमाथिको दाबी पनि छोडेको थियो।
आप्रवासी विरोधी ट्रम्पले दक्षिणी छिमेकी मेक्सिकोबाट बलात्कारी र अपराधीहरू अमेरिका छिरेको भनेर मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने नारा पनि सन् २०१६ मा लगाएका थिए। मेक्सिकोसँगको त्यो वैमनस्यता फेरि उजागर गर्दै मंगलबारको पत्रकार सम्मेलनमा उनले बे अफ मेक्सिको (मेक्सिकोको खाडी) को नाम परिवर्तन गरेर बे अफ अमेरिका बनाउनु पर्ने बताएका थिए।
ट्रम्पले त्यसो भनेको केहीबेरमै उनकी उग्र समर्थक तथा तल्लो सदनमा रिपब्लिकन दलकी सांसद मार्जोरी टेलर ग्रीनले बे अफ मेक्सिकोको नाम परिवर्तन गर्न विधेयक दर्ता गर्ने बताइन्।
अमेरिकी संसदले संघीय सरकारले बे अफ मेक्सिकोलाई अबदेखि बे अफ अमेरिका भन्ने भनेर कानून पास गरे पनि अरू देशले पनि त्यसै गर्नुपर्छ भन्ने छैन।
इरानसँग राम्रो सम्बन्ध नभएका साउदी अरेबिया लगायत अरब राष्ट्रहरूले अमेरिकालाई पर्सियन गल्फको नाम पनि परिवर्तन गरेर अरबियन गल्फ राख्नुपर्ने बताउँदै आएका छन्। अमेरिकासँग पनि दुश्मनी भएको इरानको प्राचीन नाम पर्सिया हो।
त्यस विषयमा निर्णय गर्दै भौगोलिक नामसम्बन्धी अमेरिकी बोर्डले विगतमा अरबी देशहरूसँग अनौपचारिक सञ्चार गर्दा अमेरिकाको संघीय सरकारले अरबियन गल्फ भन्न सक्ने भए पनि संसारभरि प्रचलित पर्सियन गल्फ नै उपयुक्त हुने बताएको भनेर द वासिङ्टन पोस्टले लेखेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)