४४ वर्षीया तारा अर्थ मन्त्रालयको क्यान्टिनमा काम गर्छिन्। उनी काठमाडौं महानगरपालिका वडा नम्बर-१० शान्तिविनायक चोकस्थित डेरामा बस्छिन्।
कार्यालय आउजाउ गर्न उनले आठ वर्षदेखि एउटै बाटो प्रयोग गर्दै आएकी छन्। उनी प्रत्येक दिन बिहान साढे ५ बजे कोठाबाट निस्किन्छिन्।
एक-दुई मिनेट हिँड्नासाथ धोबी खोला तर्न इन्द्रकुमार चामलिङद्वारा निर्मित निमीपुल पार गर्छिन्। पुल तर्नासाथ काठमाडौं महानगरपालिका वडा नम्बर २९ एकता मार्ग छिर्छिन्।
त्यहाँबाट एक-दुई मिनेट हिँडेपछि गोर्खा एफएम चोकबाट दायाँतर्फ हुँदै युनियन हाउस अगाडिको चोक निस्किन्छिन्। त्यहाँबाट मिलन गल्ली हुँदै हनुमानथान मन्दिर अगाडि निस्किन्छिन्।
हनुमानथानबाट हिँड्दै दक्षिण गेटबाट सिंहदरबार पस्छिन्।
उनको विगत ८ वर्षदेखिको नियमित बाटो यही हो।
पुस १७ गते बुधबार पनि उनी सदाझैं बिहानै साढे ५ बजे काममा जान घरबाट निस्किइन्। ५ बजेर ३५/३७ मिनेट जाँदा मिलन गल्लीबाट आफ्ना पाइला अगाडि बढाउँदै थिइन्।
स्कुटीमा अन्दाजी ३० वर्ष कटेका एक जना पुरूष नजिक आइरहेको जस्तो लाग्यो। अन्य दिनजस्तो कलेज वा कुनै काममा हिँडेका मान्छे ठानेर आफ्नो गन्तव्यतर्फ लागिरहिन्।
उनलाई ६ बजे क्यान्टिन पुगिसक्नुपर्ने भएकाले छिटो-छिटो पाइला अगाडि बढाउँदै थिइन्। स्कुटीले उनलाई पछ्याइरहेको जस्तो लाग्यो। त्यसपछि झन् छिटो पाइला चाल्न थालिन्। अचम्म! स्कुटी चालकले उनको अगाडि आएर बाटो पो छेक्यो!
'मलाई तपाईं मनपर्छ यौन सम्बन्ध राख्न दिनु न भन्दै हात समाउन आउनुभयो,' ताराले भनिन्, 'म तपाईंलाई चिन्दिनँ भन्दा पनि पछ्याइरह्यो।'
आफूले प्रतिकार गर्दा पनि पछ्याउन नछाडेको, जबरजस्ती कपडा तानेको, छाडा शब्द बोलेको र आफ्नो संवेदनशील अंगमा छोएको उनको आरोप छ।
ती युवाले अनेक हर्कत गरिरहे पनि प्रतिकार गर्न नछाडेको उनले बताइन्।
'तर ती पुरूष सुन्नेवाला नै थिएनन्। म आफ्नो बाटो हिँडिरहेँ,' उनले भनिन्।
ती पुरूष पनि तारासँगै अगाडि बढ्दै गए। बीचमा एकपटक ती पुरूष तारालाई छोडेर अगाडि बढिसकेका थिए। फेरि फर्किएर आएर आफूमाथि हातपात गरेको र अपशब्द बोलेको उनको भनाइ छ।
'ती पुरूषले सुरूवाल तान्न थालेपछि एउटा घरको गेट ढक्ढक्याउँदै बेस्सरी चिच्याएँ,' उनले सेतोपाटीसँग भनिन्, 'त्यसपछि ती पुरूष भागे।'
ती पुरूष पुन: मिलन गल्लीतिरै फर्किएर गएपछि आफू दौडिएर अनामनगरको मुख्य सडकतिर निस्किएको उनले बताइन्। त्यसपछि ती पुरूषले उनलाई पछ्याउने छोडेको उनले बताइन्।
उनको यति भनाइ सुनेपछि हामीले उनले भनेको ठाउँको सिसिटिभी फुटेज पनि खोजेका थियौं।
सेतोपाटीलाई प्राप्त भिडिओमा उनले भनेझैं दृश्य देखिन्छ। ती पुरूष मिलन गल्लीबाट अनामनगरको मुख्य बाटोतर्फ ओहोरदोहोर गरेको प्रष्ट देखिन्छ।
उनले बाटो छेकेर महिलाको ज्याकेट तानेको, यौन सम्बन्ध राख्न दिनु, नम्बर दिनु आदि भनेको प्रष्टै सुनिन्छ। साथै ती पुरूषले हेल्मेट खोल्दै 'म राम्रो छैन र?' भनेको पनि सिसिटिभीमा कैद छ।
अनामनगरको मुख्य सडकतिर दौडिएर गएपछि भने उनी फर्किएर आएको दृश्यमा देखिँदैन। आफू सडकमा निस्किएपछि मात्र ती पुरूषले पछ्याउन छोडेको ताराले पनि बताएकी छन्।
उनी आत्तिँदै कार्यालय पुगिन्।
ती पुरूषले आफूमाथि भएको दुर्व्यवहार कार्यालयका साथीहरूलाई सुनाइन्। उनका साथीहरूले नै प्रहरीमा खबर गर्नुपर्छ भनेपछि उनी प्रहरी वृत्त सिंहदरबारमा पुगिन्।
उनले सोही दिन निवेदन दिएकी छन्।
उनले 'बाटो छेकी हातपात गरी जबरजस्ती गर्न खोजेको' भन्दै प्रहरीकोमा निवेदन दिएकी छन्। भिडिओमा प्रष्ट अनुहार देखिएका ती पुरूषलाई प्रहरीले ८ दिनसम्म पक्राउ भने गर्न सकेको छैन।
उनी भने ८ दिनदेखि त्यो बाटो हिँडेकी छैनन्। अहिले कार्यालयबाट आवतजावत गर्दा साथीहरूलाई पर्खिने गरेको उनले सुनाइन्।
'त्यो बाटो एक्लै हिँड्ने आँट नै छैन, घटना सम्झिँदा शरीर थररर्र काम्छ,' उनी भन्छिन्, 'हामी बुढी मान्छेलाई त यस्तो गर्यो। केटी तथा युवती भए कस्तो गर्थ्यो होला। त्यसैले त्यो मान्छेलाई छोड्नु हुँदैन।'
उनले प्रहरीमा निवेदन दिएसँगै साथीहरूको सहयोगमा सिसिटिभी फोटो र भिडिओ संकलन गरिन्।
पहिला मन्त्रालयमै काम गरेका गोकर्णराज भारतीले प्रहरीको सहयोगमा तारामाथि दुर्व्यवहार भएको ठाउँको सिसिटिभी भिडिओ संकलन गरेका हुन्।
ताराले सिसिटिभीमा देखिएको फोटो देखाउँदै घटना भएको आसपासका मानिसहरूलाई 'यो मान्छेलाई देख्नुभएको छ, चिन्नुभएको छ' भनेर सोध्दै हिँडिन्।
दुई/चार जनाले त्यस्तो सोध्दै हिँड्दा उक्त व्यक्ति भाग्ने सम्भावना हुन्छ भनेर बताएपछि सोध्न छोडेको उनी बताउँछिन्।
काम सकेर उनी निस्किँदा साँझको साढे ६ बज्छ। सिंहदरबार वरपर पनि साँझबिहान हिँड्दा डराउनुपर्ने अवस्था आएपछि काम कसरी गर्ने? भन्ने उनलाई चिन्ता छ।
उनी ती पुरूषलाई कानुनी कारबाहीमा ल्याउनका लागि पहल गरिरहेकी छन्।
पुस २५ गते बिहीबार पनि प्रहरी कार्यालय सिंहदरबार पुगेकी थिइन्। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको भन्दै फर्काइदिएको उनले बताइन्।
यस घटनाबारे हामीले पनि प्रहरी वृत्त सिंहदबारलाई सोध्यौं।
सिंहदरबारका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुनिल कार्कीका अनुसार बाटोमा हिँड्दै गर्दा अपशब्द बोलेर दुर्व्यवहार र जबरजस्ती गर्न खोजेको भनेर ठाडो उजुरी आएको छ। त्यसमा प्रहरीले सिसिटिभी फोटो/भिडिओ हेर्ने काम गरिरहेको उनले बताए।
'अन्जान व्यक्तिले दुर्व्यवहार गर्नुभएको रहेछ, स्कुटी नम्बर पनि याद नभएकाले हामी हेर्दैछौं,' इन्स्पेक्टर कार्कीले भने, 'यस घटनामा स्कुटी र मान्छे पहिचान गर्ने काम भइरहेको छ।'
(हामीले उनको परिचय गोप्य राखेका छौं।)