कपिलवस्तुमा डाँका मुद्दामा ६१ वर्षसम्म कैद सजाय तोकिएका व्यक्ति प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले पाँच वटा मुद्दामा दोषी ठहर भएर पनि फरार रहेका कृष्णनगर नगरपालिका-१ गर्चिहवा बस्ने ५७ वर्षीय सोमई भन्ने प्रकाश कहारलाई पक्राउ गरेको हो।
उनलाई प्रहरीले पक्राउ गरी बिहीबार जिल्ला अदालत कपिलवस्तुमा पठाएर कारागार चलान गरिसकेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी निरञ्जन भट्टका अनुसार कहारविरूद्ध तीन वटा खुन डाँका, एउटा डाँका र एउटा चोरीको मुद्दा थियो।
पाँच मुद्दामा उनलाई कुल ६१ वर्षसम्मको कैद सजाय भएको थियो। ३ लाख ५२ हजार ७७८ रुपैयाँको जरिवाना पनि तोकिएको थियो।
कैद र जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहँदै आएका उनको खोजी गरी प्रहरीले पक्राउ गरेको हो।
‘२०६८ सालतिर उनको आतंक नै रहेछ यहाँ। अदालतले दोषी ठहर गरेपछि फरार रहेका थिए,’ एसपी भट्टले भने, ‘अहिले खोजी गर्नेक्रममा फेला पारी पक्राउ गरेका हौं।’
२०६८ असार १२ गते उनीविरूद्ध चोरी मुद्दामा ६ वर्ष कैद सजाय सुनाएको थियो। असार २७ गते नै अन्य चार वटा कसुरमा १२, १२, १७ र १४ वर्ष कैद सजाय तोकिएको थियो।
यसरी कुल ६१ वर्षकै कैद तोकिएको भएपनि उनी त्यति वर्षसम्म भने बस्नुपर्नेछैन। कानुन अनुसार उनी सबै भन्दा धेरै सजाय तोकिएको कैद भुक्तान गरे पुग्ने व्यवस्था छ।
यस अनुसार उनी १७ वर्षसम्म कैद बस्नेछन्।