केही समयअघि नवराज रावतले सामाजिक सञ्जालमा एउटा एपबारे विज्ञापन देखे।
‘फिफिए एप’ को विज्ञापन जताततै थियो। टेलिग्राम, युट्युब, फेसबुक र ह्वाट्सएपमा यसको विज्ञापन आइरहेको थियो।
विज्ञापनमा फिफिए कम्पनी नेपाल सरकारबाट स्वीकृतिप्राप्त कम्पनी रहेको भनिएको थियो।
कम्पनीको एपमार्फत विभिन्न देशबीच फुटबलको अनलाइन गेम लगायतको खेल खेलेर लगानी गर्ने र त्यसबापत आम्दानी गर्न सकिने कुराले उनी लोभिए।
लगानी गर्दा डिपोजिट गरेको ९० मिनेटमा लगानी रकमको ०.४८ प्रतिशतको दरले फाइदा हुन्छ। दिनको तीन पटकसम्म लगानी गरेर फाइदा कमाउन सकिने भनेर कम्पनी दर्ताको फोटो समेत पठाइएको थियो।
कम्पनी दर्ता नै भएको फोटो देखेर उनी ढुक्क भए। रावतले पाएको निर्देशन अनुसार नै विभिन्न बैंक खाताहरू र वालेटहरूमा रकम जम्मा गर्दै गए।
उनले तीन लाख रुपैयाँ जम्मा गरे। आफ्नै चिनजानमा रहेका अर्का पवन रावतले पनि २५ हजार रुपैयाँ जम्मा गरे। आफूहरूले पैसा जम्मा गरेपछि फाइदा कमाउनेमा उनीहरू ढुक्क थिए। तर फाइदा त परै जाओस् लगानी गरेको पैसा समेत उनीहरूले पाएनन्। त्यसपछि आफूहरू ठगीमा परेको उनीहरूले चाल पाए।
‘यसमा सुरूमा थोरैथोरै रकम दिँदा उनीहरूले पैसा दिइरहे। तर पछि धेरै रकम जम्मा हुन थालेपछि कम्पनी नै बन्द गरेर हिँडेको अनुसन्धानमा देखियो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘अहिले यो एप सञ्चालनमा चाहिँ छैन।’
रावतहरू जस्तै ११० जनाले पनि फिफिए एपमा लगानी गरेको भेटिएको छ। जो अहिले ठगीमा परेको भन्दै प्रहरी र अदालती प्रक्रियामा अल्झिरहेका छन्। मनग्य कमाउने सोचमा लगानी गरेका उनीहरूले लाखौं रकम गुमाएका छन्।
आफूहरू ठगीमा परेको भन्दै ११२ जना पीडितहरूले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए।
त्यसको अनुसन्धान सकेपछि सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
मुद्दा दायर गर्दा प्रतिवादीमात्रै ७८ जना बनाइएका छन्। ती व्यक्तिहरूले विभिन्न माध्यमबाट पीडितलाई सम्पर्क गर्न लगाएको र ठूलो रकम लगानी गर्न लगाएर ठगी गरेको देखिएको हो।
७८ जनामध्ये एक जना प्रतिवादीमात्रै प्रहरीको नियन्त्रणमा छन्। अन्य सबै जना फरार छन्।
पीडितहरूबाट अहिलेसम्म दुई करोड ५९ लाख ४३ हजार ३९३ रुपैयाँ बराबरको ठगी भएको खुलेको हो।
यसमा प्रहरीले ठगी गर्न नहुने, संगठित अपराध र आपराधिक समूह स्थापना गर्न नहुने कसुरमा अनुसन्धान गरेको थियो।
यसमा प्रमुख प्रतिवादी भोजपुर घर भई काठमाडौंको टोखा बस्ने २८ वर्षीया टासी शेर्पा भन्ने दादिकी शेर्पा छिन्। उनी हाल कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा छिन्। शेर्पा फिफिए ग्रुपको ‘एक्सिलेन्ट मेम्बर’ समेत हुन्।
उनलाई ‘टिना’ नाम गरेकी एक जना महिलाले फिफिए एक्सिलेन्ट ग्रुपमा जोडिदिएकी थिइन्। टिनाले पछि शेर्पालाई नै एड्मिन बनाएर काम सञ्चालन गर्न दिएकी थिइन्।
‘एड्मिन भएर मैले रकम डिपोजिट गर्ने अन्य मेम्बरहरूलाई बोनस मागेर दिने, उनीहरूले नजानेका कुराहरू सिकाउने काम गरेकी हुँ,’ उनले बयानमा भनेकी छन्, ‘अन्य मेम्बरहरूलाई चिनेको छैन।’
उनका अनुसार उक्त कम्पनीको कार्यालय काठमाडौंको टोखा नगरपालिका-४ धापासी हाइटमा खोलिएको थियो।
कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा फिफिए अनलाइन मिडिया प्रालि भनेर दर्ता भएको उनले बताइन्।
‘समाचार सम्प्रेषण, लेख रचना, जीवनी प्रकाशन गर्ने, विभिन्न किसिमका सेमिनार गर्ने उद्देश्यले खोलिएको हो। मैले कोही कसैसँग फुटबल लगायत गेमहरूमा रकम हारजित हुने बाजीस्वरूप रकम लगानी गर्न लगाएको छैन,’ उनले भनेकी छन्, ‘अन्य स्क्यामरहरूले गरेको भए थाहा भएन। टिनाले नेपालमा अनलाइन नेटवर्किङ व्यवसाय कानुन विपरीत, गैरकानुनी हो भनेकाले मेरो नाममा उक्त कम्पनी दर्ता गरिएको हो।’
कम्पनीको कार्यालय एउटा फ्ल्याट भाडामा लिएर राखेको पनि उनले बताएका छन्। त्यसको भाडा तिर्ने पैसा पनि टिनाले नै पठाउने गरेको उनको भनाइ छ।
मेम्बरहरूलाई विश्वासमा लिनलाई उक्त भाडामा विभिन्न व्यक्तिहरूको फोटो टाँसेर राखेको, सिनियर म्यानेजर, कार्यक्रमका फोटोहरू र कम्पनी दर्ताका प्रमाणपत्रहरू समेत टाँसिएको उनले बताइन्।
यसो त उनले सेमिनार, गोष्ठी, प्रशिक्षण, चियापान कार्यक्रम समेत गराएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
उनका अनुसार शेर्पालाई प्रहरीले २०८० असोज २ गते नै पक्राउ गरेको थियो। त्यतिबेला केही जाहेरी परेपछि उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
अहिले थप जाहेरीहरू परेपछि कारागारमा रहेकी उनलाई प्रहरीले परिसर झिकाएर पुन:अनुसन्धान अघि बढाएको हो।