आइटी कम्पनी एफ-वान सफ्ट इन्टरनेशनल प्रालिको बैंक खाताबाट साढे तीन करोड रुपैयाँ गरी ठगी भएको घटनामा संलग्न ९ जनालाई धरौटीमा छाड्न आदेश भएको छ।
बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले ९ जनालाई नै धरौटीमा छाड्न आदेश दिएको हो।
राहुल ठाकुर र पुरूषोत्तम शाहसँग ५ लाख, दिपक थापामगरसँग ५० हजार, कमल थापा मगरसँग दुई लाख, त्रिगुणरत्न बज्राचार्य, कृष्णा रमन राउत, संजिवकुमार शर्मा, सन्देश राई र सागर कुमार साहसँग जनही एक लाख धरौटी माग गरेको हो।
उनीहरूको बैंक खाता प्रयोग भई त्यस खातामार्फत रकमान्तर भएको देखिएको थियो।
साइबर ब्युरोले यस घटनामा अनुसन्धान गरेर सरकारी वकिलको कार्यालय काठमाडौंमा मुद्दा पेस गरेको थियो। प्रहरीले यस घटनामा अझै पनि अनुसन्धान गरिरहेको छ।
यस घटनामा संलग्न प्रमुख व्यक्तिहरूको पहिचान हुनसकेको छैन। गत बिहीबार सरकारी वकिलले काठमाडौं जिल्ला अदालतमा २४ जनाविरूद्ध प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। जसमध्ये ९ जनामात्रै पक्राउ परेका थिए। अन्य भने फरार नै थिए।
यो पनि: एफ-वान सफ्टको खाताबाट साढे ३ करोड ‘गायब’, २४ जनाविरूद्ध मुद्दा दर्ता