सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन्।
ट्र्याक्टरको ट्रलीले च्याप्दा अचेत अवस्थामा एक जनाको उद्धार गरी अस्पताल लगिएको छ।
ट्र्याक्टरको ट्रलीमा सवार कम्पोष्ट मलका मालिक जिल्लाको छत्रेश्वरी गाउँपालिका–१ का ४९ का क्षेत्रबहादुर खत्रीको अचेत अवस्थामा उद्धार गरी अस्पतालतर्फ ल्याउँदै गरिएको सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेले सेतोपाटीलाई बताए।
‘उहाँको अवस्था चिन्ताजनक छ,’ न्यौपानले भने, ‘तर, अस्पताल ल्याउँदै गरेको हुँदा बाँकी अवस्था चिकित्सकले भन्ने छन्।’
बुधबार बिहान साढे ८ बजेतिर छत्रेश्वरी गाउँपालिका–१ मयतीस्थित भित्री सडक खण्डमा भालुमारेदेखि कम्पोष्ट मल बोकेर मैयनीतर्फ जाँदै गरेको लु.प्र. ०२०० त ००१२ नम्बरको ट्र्याक्टर मोड्न टर्निङ नपुगेर दुर्घटना परेको भन्ने सूचना प्राप्त भएको डिएसपी न्यौपानेले बताए।
ट्र्याक्टरमा कुल चार जना सवार रहे पनि अगाडि बसेकाहरू कसैलाई पनि चोटपटक नलागेको प्रहरीले जानकारी दिएको छ।
ट्र्याक्टर चालक बागचौर नगरपालिका–९ का ३५ वर्षीय सुरेश चन्द फरार छन्। उनको खोजी भइरहेको प्रहरीले डिएसपी न्यौपानले बताए। ट्र्याक्टर धनी भने सम्पर्कमा आएको प्रहरीले जानकारी दिएको छ।
सुन्तला बगैँचामा राख्ने कम्पोष्ट मल लगेर खत्री ट्र्याक्टरको ट्रली घोप्टिँदा खत्री त्यसमै च्यापिएका थिए। प्रहरीका अनुसार जेसिबीको सहयोगमा च्यापिएका खत्रीको सवा ९ बजेतिर उद्धार गरिएको थियो।
अचेत अवस्थाका खत्रीलाई जिल्ला अस्पताल खलंगातर्फ ल्याउँदै गरिएको डिएसपी न्यौपानले बताए।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।