पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा कास्की अदालतमा दायर भएको मुद्दामा प्रतिवादीहरूको थुनछेक बहस एक सातादेखि जारी छ।
गत मंगलबारदेखि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा सात प्रतिवादीहरूलाई थुनामा पठाउने कि बाहिर बसेर मुद्दा लड्न दिने भन्नेबारेमा पक्ष विपक्षमा बहस भइरहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, लिला पछाई, रामप्रसाद खनाल, मिना गुरूङ, आरती गुरूङ र कृष्णबहादुर गुरूङ मुद्दाका प्रतिवादी छन्।
सुरूमा सरकारी वकिल त्यसपछि जाहेरवाला सहकारी पीडिततर्फका वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलहरूले बहस गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट मंगलबार बहस सकिएको छ। त्यसअघि पूर्वडिआइजी छविलाल जोशी र लिला पछाईंतर्फका वकिलहरूले पनि बहस गरिसकेका छन्।
रविका तर्फबाट सोमबार वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, रमण श्रेष्ठ र सुरेन्द्र थापा (क्षेत्री) ले बहस गरेका थिए।
त्यसअघि पूर्वडिआइजी छविलाल जोशी र लिला पछाईंतर्फबाट वकिलहरूले बहस गरेका थिए। जोशीको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका थिए।
अब चार जना प्रतिवादीहरू कृष्णबहादुर गुरूङ, आरती गुरूङ, मिना गुरूङ र रामप्रसाद खनालका वकिलहरूले आजदेखि बहस गर्नेछन्।
सूर्यदर्शन सहकारी ठगीमा मुछिएका सहकारी संचालक लगायत व्यक्तिविरूद्ध सुरूमा दर्ता गरिएको मूल अभियोग, थप अभियोग र रवि लामिछाने जोडिएको पूरक अभियोग गरी ८ वटा कम्पनीसहित ६३ जनालाई प्रतिवादी बनाइएको छ।
उनीहरूसँग १ अर्ब ५१ करोड बढी रकम बिगो माग गरिएको छ। जसमा रवि लामिछानेसँग सहकारी ठगी अभियोगमा ३ करोड ३७ लाख ६५ हजार र सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैया बिगो असुल गर्न माग गरिएको छ।